Edukhabar
शुक्रबार, ११ असोज २०८१
खबर/फिचर

भूकम्पले ५ हजार विद्यालय भत्किएको एक बर्ष बित्यो, पुनर्निर्माण कहिले ?

आइतबार, १२ बैशाख २०७३

काठमाडौँ – गत बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दू भएर ७.९ रेक्टर स्केलको भूकम्प गएको आइतबार एक बर्ष पुरा भएको छ । साढे आठ हजार बढी मानिसको मृत्यु र २५ हजार बढी घाइते भएको सम्झनामा सरकारले आज र भोली विशेष शोक सभाहरु आयोजना गरेको छ । 

गत बर्ष आजकै दिन बिहान ११ बजेर ५६ मिनेट जादा गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प गएको थियो । वि.स. १९९० सालपछिको ठूलो भूकम्प गएपनि संयोगले शनिबार भएकाले विद्यालय भवन भत्केपनि विद्यार्थीको ठूलो संख्या हताहती हुनबाट जोगिएको थियो । 

भूकम्पले देशभरका ५ हजार ३ विद्यालयमा क्षती पुगेको सरकारी तथ्याङ्क छ ।  यी मध्ये १८ हजार १ सय ४७ कक्षा कोठामा पूर्ण क्षती पुगेको छ भने ८ हजार २० कक्षा कोठामा धेरै क्षती भएको छ । बैशाख १२, १३ र २९ गते गएका तीन ठूला भूकम्पले १० हजार ३ सय ८० कक्षामा सामान्य क्षती पुगेको थियो भने ती विद्यालयहरुका ३ हजार २ सय ८८ शौचालय, १ हजार ६ सय २० खानेपानी र १ हजार ५ सय १५ घेरावार अर्थात् पर्खालमा क्षती पुगेको थियो । 

भूकम्प गएपछि सबैभन्दा बढी सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, रसुवा, धादिङ, काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका विद्यालय भवन भत्किएका थिए । भूकम्प अतिप्रभावित १४ जिल्लामा पठनपाठनमा समेत दुई एक महिनासम्म ठप्पै भएको थियो । भूकम्पकै कारण कक्षा ११ र १२ को परीक्षा करिब १५ दिन ढिला शुरु गरिएको थियो भने ६ महिनापछि नतिजा प्रकाशित गरिएको थियो ।

भूकम्प स्मृति दिवसका रुपमा वैशाख १२ र १३ गते (आज र भोली) भूकम्पमा परी दिवंगत भएकाहरु प्रति आज काठमाडौं सहित विभिन्न जिल्लामा श्रद्धाञ्जली सहित पुष्पगुच्छा अर्पण गर्ने र दोश्रो दिन भोली विद्यालय पुननिर्माण गर्ने सरकारले जनाएको छ । 

जस अन्र्तगत भुकम्प प्रभावित प्रत्येक जिल्लामा कम्तिमा एक–एक वटा विद्यालय भवनको पुनर्निर्माण कार्यको शुभारम्भ गरिने सरकारको दाबी  छ।

एकसाताअघि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको पुननिर्माण प्राधिकरण निर्देशक समितिको बैठकले शिक्षा मन्त्रालयले नै विद्यालय पुननिर्माणको काम गर्ने निर्णय गरेको थियो । तर काम भने अगाडी बढ्न सकेको छैन् ।  

भूकम्पले विद्यालय भवन भत्केपछि विभिन्न संघ संस्थाहरुको सहयोगमा १६ हजार कोठाको अस्थायी सिकाइ केन्द्रहरु (टीएलसी) बनेपनि विद्यालय पूनर्निर्माणको काम भने अझै प्रभावकारी रुपमा अगाडी बढ्न सकेको छैन् । 

बर्षा, हिउँदमा विद्यार्थीले निकै ठूलो सास्ती व्यहोर्दै अस्थायी सिकाई केन्द्रमै अझै तीन बर्ष विद्यार्थीले विताउनुपर्ने निश्चित भएको शिक्षा विभाग बताउँछ । 

‘एक बर्षसम्म पनि विद्यालय भवन बन्न सकेका छैनन्’ शिक्षा विभागका महानिर्देशक खगराज बराल भन्छन् ‘अझै दुई तिन बर्ष विद्यार्थीले टिएलसीमै विताउनुपर्नेछ ।’

भूकम्पले विद्यालय भत्केको करिब ६ महिनासम्म पनि विभागले विद्यालय बनाउन नक्सा नदिदा र विभिन्न संघ संस्थाले दिएको नक्सा पनि पास नगर्दा पुनर्निर्माणको काम अन्योलमा परेको थियो ।

विद्यार्थीको सिङ्गो शैक्षिक सत्र भुकम्पले भत्काएको विद्यालयमै  बितिसक्दा पनि सरकार भने विद्यालय पुननिर्माणको योजना मात्रै बनाएर बसेको छ भने विद्यालय पुनर्निर्माणको काम पनि जस लिने होडबाजीमै अलपत्र परेको छ ।

भूकम्पले भत्केका विद्यालयको पुननिर्माणका लागि गठित परियोजना कार्यान्वयन एकाइ पीआईयू प्रमुखको जिम्मेवारी सहसचिव ईमनारायण श्रेष्ठलाई दिईएको थियो । शिक्षा मन्त्रालयको निर्णय अनुसार श्रेष्ठले जिम्मेवारी सम्हालेपनि काम अगाडी बढाउन सकेका छैनन् । 

एसियाली विकास बैंक एडीबी र जापानीज सहयोग नियोग जाइकाको २ अर्व ४० करोड रुपैंया सहयोगमा भूकम्प प्रभावित १४ जिल्लामा भत्किएका विद्यालय निर्माणको काम हुँदै छ । उक्त रकमबाट तीन वर्षमा एक हजार पाँच सय विद्यालय निर्माण गर्ने योजना छ । यसवर्ष एडीबीले दुई सय १० र जाइकाले ९२ विद्यालय बनाउने भएका छन् ।

पढ्नुहोस : भूकम्पले भत्केका विद्यालयको पुननिर्माण ३ बर्षमा !

एसियाली विकास बैंकको सहयोगमा ८ जिल्ला ओखलढुङ्गा, रामेछाप, सिन्धुली, दोलखा, काभ्रे, सिन्धुपाल्चोक, काठमाडौं र भक्तपुरमा विद्यालय निर्माण र रेट्रोफिट गर्ने यसअघि सम्झौता भएको थियो । तर अहिलेसम्म काभ्रेका ३ वटा विद्यालयको टेण्डर प्रकृया अघि बढाउने बाहेक अरुको उपलब्धी शुन्यप्राय छ । 

यस्तै जाईकासंग बाँकी ६ जिल्ला ललितपुर, धाँदिङ्, रसुवा, नुवाकोट, गोरखा र मकवानपुरका विद्यालय निर्माण र रेट्रोफिट गर्ने सम्झौता भएको र उक्त कार्यका लागि सर्भे्डिजाईन मात्रै शुरु भएको छ । जस अन्र्तगत ललितपुरका ५ विद्यालयको टेण्डर मात्रै भएको छ ।

८८ वटा सहयोगी ब्यक्ति र संस्थाहरुसंग करिब ६ सय विद्यालय निर्माणको लागि समझदारी गरिएको र अन्य ४५ वटा संग समझदारीको प्रकृया चलिरहेको उल्लेख छ ।

भूकम्प अति प्रभावित ११ जिल्लामा आवास अनुदान प्राप्त गर्न योग्य लाभग्राहीहरुको सूची तयार गरी प्रकाशन गर्ने, अनुदान सम्झौता प्रकृया अघि बढाउने, प्रत्येक जिल्लामा कम्तिमा एक–एक वटा सामुदायिक आवास भवनहरुको निर्माण कार्य शुभारम्भ गर्ने पनि समितिको निर्णय छ ।

विभिन्न संस्थाहरुको सहयोगमा अस्थायी सिकाइ केन्द्रहरु बनेपनि केही सिकाइ केन्द्र यो एक बर्षको हिउँद र बर्खाले कामै नलाग्ने भईसकेका छन् । ती पुनर्निर्माण गर्न बजेट नभएको विद्यालयको भनाई छ भने विभिन्न संघ संस्थाले सहयोग गर्छन् की भन्ने आसमा विद्यालय बसेका छन् । 

पढ्नुहोस :  सिङ्गो शैक्षिक सत्र भत्किएकै भवनमा बित्यो, सरकार भने योजना बनाउन थाकेन

              विद्यालय पुननिर्माणका लागि गठित परियोजनामा श्रेष्ठ

 

प्रकाशित मिति २०७३ बैशाख १२ गते । 

 

प्रतिक्रिया