Edukhabar
शुक्रबार, ३० कार्तिक २०८१
खबर/फिचर

छोरीलाई पढाउदा छिमेकीको लाञ्छना !  

शनिबार, ११ बैशाख २०७३

– सञ्जु पौडेल / एउटा सन्तानका लागी आमाले कतिसम्म गर्न सक्छिन् भन्ने धेरै उदाहरण तपाई हाम्रा वरिपरी हुन सक्छन् । तर ती मध्ये छोराछोरीको पढाई पनि एक हो । त्यसमा झन् छोरालाई सहजै पढ्न र पढाउन पाइएपनि अहिले पनि धेरै आमालाई छोरीलाई छोराजत्तिकै पठनपाठन अधिकार दिलाउन यही समाजसंगै ठूलै युद्ध लड्नुपर्छ ।

गुल्मीको खानीगाउँमा अहिले पनि सजिलै छोरीहरुले पढ्न पाउदैनन् । आधुनिक संसारमा प्रतिष्पर्धाको समयमा के छोरा के छोरी ! अवसर पाए दुबैले उत्तिकै काम गरेर देखाउन सक्छन् । तर खानीगाउँमा आफ्नी छोरीहरुलाई यही अवसर दिन घरपरिवारसंगै समाजमा ठूलै लाञ्छना समेत पाउनुपरेको उदाहरण  छ। 

गुल्मीको तम्घाँस नगरपालिकावार्ड नं. ९ खानीगाउँकी झुपा बगाले  आफ्नो २० बर्षे व्यावसायिक जीवनमा धेरै गर्न सकिएपनि पहिलो उपलब्धी भने छोरीलाई पढाउन सकेकोमा गर्व गर्छिन् । कारण उनले आफ्नी दुईओटी छोरीलाई पढाउन समाजका विभिन्न आरोप र लाञ्छनाको सामना गर्नुपरेको थियो । 

घरायसी कामसंगै बचेखुचेको समयमा ढाकाको कपडा बुनेर विक्री वितरण गर्दै आइरहेकी उनी आफ्ना दुई जना छोरीलाई त्यसैको कमाईले पढाउँदै आएकी छन् । छोरीलाई पढाउन पैसाको समस्या भएपछि उनले आम्दानीका रुपमा ढाका समेत बुनिन् ।

छोरीलाई पढाउनकै लागी गाउँबाट गुल्मी सदरमुकाम तम्घास पुगेकी झुपाको आम्दानीको श्रोतका रुपमा ढाका बुन्न थालेसंगै खर्चबर्च त टर्यो तर समाजको हेपाई भने टरेन । झन् त्यसमाथी श्रीमान वैदेशिक रोजगारीमा गएका कारण उनलाई आफु र छोरीको घर खर्च चलाउन मुश्किल थियो । 

यससंगै गाउँमा श्रीमान विदेश गएपछि गाउँ छोड्न नहुने समाजको रुढिवादी मान्यताले पनि उनलाई थप मुश्किल बनायो । घर छाडेर सहर जादा आईमाईहरु विग्रेको आरोप लगाउँथे घरसमाजका मान्छेहरु । तर झुपा छोरीलाई पढाउनकै लागी गाउँबाट शहर पस्दा यी सबै आरोपको तारो बनिरहिन् । 

‘बैदेशिक रोजगारीकामा गएका पुरुषहरुको श्रीमतीहरु सदरमुकाम बसेर बिग्रीन्छन्, इज्जत भएको महिला त्यसरी सदरमुकाम बस्दैनन्’ घरपरिवार र समाजले आफूलाई घृणा गरेको विगतका तिता क्षण सम्झिदै झुपाले भनिन् ‘श्रीमान्को सहमतिमा नै छोरीलाई पढाउन बडागाउँ वार्ड नं–३, डाँडाथोकबाट सदरमुकाम बस्न थालेकी हँु । तर समाजले पचाएन । र पनि मैले छोरीलाई पढाउन अरुका कुरा सुनिन् ।’

उनलाई शुरुमा सिलाईकटाई सिक्न मन थियो । तर सिलाई कटाईभन्दा ढाका बुनाईको तालिम उनका लागी वरदान सावित भयो । परिवार पहिलेदेखि नै छुट्टिएकाले पनि श्रीमानको सहमति लिएर सदरमुकाम जान सजिलो थिएन् । झन् आफैले काम गरेर छोरीलाई कसरी पढाउने एक किसिमको चिन्ता त छदै थियो । त्यसमा झन् छिमेकीको लगातारको हेलाहा व्यवहारले केही न केही गरर देखाउनै पर्छ भन्ने पनि लाग्यो र शूरु गरिन् ढाका बुनाईको काम अनि छोरीहरुको अध्यापन । 

नजिकैको नीजि स्कुलमा छोरीहरुलाई भर्ना गरेपछि उनले चट्टानी अडानलाई लिएर जीवनमा आफुले पनि आफ्नै पाखुरामा केही गरेर देखाउने साहसलाई मर्न दिइनन् । बरु मुटुलाई साह्रो बनाइन् र रातदिन नभनी संघर्षमा होमिइन् ।

‘त्यसबेला बिग्रेका मान्छे मात्र गाउँ छाडेर सदरमुकाममा बस्छन् भन्दै मलाई परिवार र समाजले लाञ्छना लगाउथ्यो । तर म आफ्नो स्थानमा सहि भएकीले कसैको कुरा सुनिन् । एकातिर छोरीलाई पढाउँदै गए भने आफ्नो काम पनि गर्दै गए । कुरा काट्नेका अगाडी आज धेरै गर्न सकेकी छु भन्ने लागेको छ ।’ उनले भनिन् ।

घरेलु तथा साना उद्योग गुल्मीले सञ्चालन गर्ने गरेको ढाका बुनाई तालिमको प्रशिक्षण जिम्मेवारी सम्हालिरहेकी झुपा जिल्लाका विभिन्न गाविसमा सञ्चालन हुने तालिम दिन गाउँ पुग्दा पनि अध्ययन, अध्यापन र आफ्नै पाखुराको सीपले जीवनलाई समृद्ध बनाउने बताँउछिन् ।

ढाकाको व्यापारबाट मात्रै मासिक ३५ हजार भन्दा बढी आम्दानी गर्दै आएकी उनी तालिमबाट पनि राम्रै पारिश्रमिक बुझ्छिन् । यसमा उनलाई गर्व मात्रै छैन् समाजमा केही गर्नेका कुरा काट्दै हिड्नेलाई कामबाटै गतिलो जवाफ दिन सकिनेमा जोड दिन्छिन् । त्यसैले उनी छोराछोरीको अध्ययनसंगै सकेसम्म आफु पनि पढ्नैपर्ने बताउँछिन् । 

‘मैले छोरीको पढाईका लागी गाउँ छाडे । गाउँमा पर्याप्त काम गर्न नसकिने भएपछि छोरीलाई पढाउन काम खोज्दा ढाका बुनाई तालिमले सबै इच्छा र आवश्यकता पुरा गरिदिएको छ । तर आफुले पनि केही पढेको भए यो भन्दा माथिल्लो स्तरको जागिर पाउँथे होला । तर छोरीलाई राम्रै जागिर खान सक्ने बनाउदैँ छु।’ ओठमा मुस्कान ल्याउँदै उनले भनिन् ।

कमाईका लागी खाडी पुगेका उनका श्रीमान्ले घर खर्च नपठाएपनि उनलाई फिक्री छैन् । बरु फर्केर नेपाल आए केही न केही सीप सिकाएर गाउँमै रोजगारीमा लगाउने उनको सोच छ । 

आर्थिक समृद्धिका लागी कृषि तथा उद्यमशीलतामा विकास गर्न ‘दायित्व इन्टरप्राइज च्यालेञ्ज, गुल्मी –२०१५’ मा छनोट भएकी झुपा अहिले जिल्लामै उदाहरणीय महिला समेत बनेकी छन् ।

उनले गरेको ढाका व्यापारबाट पाएको सफलता देखेर घरेलु तथा साना उद्योग गुुल्मीका वरिष्ठ उद्योग अधिकृत कृष्ण प्रसाद पोखरेल कोही महिला फाल्तु हिड्यो की झुपाकै नाम लिदै अरुलाई पनि सीपमुलक काम गर्न सम्झाउँछन् । ‘झुपाजीले मेहेनत गरेर कति राम्रोसंग आम्दानी गर्न सक्नुभएको छ ? गाउँमा लाञ्छना सहेर पनि उहाँले छोरीलाई पढाउन कसैको ऋण गर्नुपरेन । उहाँको काम देखेर हामी सबै खुशी भएका छौँ । यस्तै उद्यमी उत्पादन गर्न पाठ पनि उहाँबाटै सिकेका हौँ ।’

घरेलु साना उद्योग मार्फत विभिन्न ठाउमा ढाकाको कपडा बुन्ने तालिम सञ्चालन गर्दा झुपालाई नै प्रशिक्षक बनाएर पठाउने गरेका उद्योग अधिकृत पोखरेल उनको कामसंगै संघर्षका बारेमा पनि आफ्ना कर्मचारी र सेवाग्राहीसंग कुरा गर्छन् ।

समाजले भन्दैमा आफ्नो काम छाड्न नहुने भन्दै केही गरेमा अवश्व सफल भइने उनको सुझाव छ । ‘काम गर्दै जानुपर्छ । खाली मैले पढेको छैन् । केही सिकेको छैन् भनेर हात बानेर बस्नुहुन्न । केही कामको शुरुवात गरेपछि त्यसलाई अरुले पनि साथ दिन्छन् । तर आफुले हिम्मत हार्नुहुदैन् ।’ उनले भने । 

झुपाजस्तै गुल्मीमा आफ्नै पाखुरामा सीप सिकेका महिलाहरु बढेका छन् । जसले गाँउघर र रोजागारीका लागी विदेश पुगेका श्रीमानको भर परेर बस्दैनन् । घरेलु तथा साना उद्योगबाट तालिम लिएर आफै आम्दानीको श्रोत जुटाउने काममा तल्लीन छन् उनीहरु । तर कामका लागी इमान्दारिता, लगनशिलता, र मेहनत चाहिने झुपा बताउँछिन्  ।

‘आजको भोली केही हुदैन् । गर्दै जादाँ विस्तारै सबथोक राम्रै बन्छ । तर हिम्मत हार्नुहुदैन् । त्यसका लागी इमान्दार र लगनशिल भएर काम गर्नुपर्छ । ठुलै क्लास पढेकै हुनुपर्छ भन्ने पनि छैन् ।’ झुपाले भनिन् । 

यस कामबाट उनी ढाका बुनाईको कार्य क्षेत्र बढाएर गाँउ समाजमा ढाका बुनाईको प्रचार प्रसार गरेर स्वदेशी उत्पादनको बजार प्रवद्र्धनमा आफ्नो तर्फबाट सहयोग गर्ने पनि सोच राखेकी छन् ।

‘छोरीहरु पढ्दैछिन् । भोली ठूलो भएपछि उनीहरुले कामको प्रचार गरेपछि पनि मलाई थप साथ मिल्छ ।’ एउटा कलेज र अर्की कक्षा ९ मा पढ्दै गरेकी छोरीहरुतर्फ इंगित गर्दै उनले भनिन् । तर यसका लागी छोरीको उद्धेश्यलाई नभाच्ने उनको ठम्याई छ । छोरीको पढाईसंगै व्यवसायिक अध्ययनको आवश्यकता औल्याउँदै आफ्नै स्वदेशमै उत्पादन गरेको सामान प्रचार प्रसार गरेमा पनि खान लाउन विदेशकै भर पर्नुपर्ने बाध्यता हट्ने झुपाको अनुभव छ । 

(पौडेल दायित्व संस्थासंग आबद्ध छिन् ।)

प्रकाशित मिति २०७३ बैशाख ११ गते ।

 

प्रतिक्रिया