Edukhabar
मंगलबार, ०१ असोज २०८१
खबर/फिचर

शिक्षक नियुक्ति प्रकृया ऐन आएपछि मात्रै शुरु गर्न माग

आइतबार, ०३ फागुन २०७१

हेटौंडा ३ फागुन / अस्थायी शिक्षक संघर्ष समितिले शिक्षा ऐन आएपछि मात्रै नयाँ शिक्षक नियुक्तिको प्रकृया शुरु गर्न माग गरेको छ । अस्थाई शिक्षकको समस्या जस्ताको त्यस्तै राखेर नयाँ शिक्षक नियुक्ति गर्दा थप समस्या हुने भन्दै समितिले यस्तो माग गरेको जनाएको छ ।

नयाँ आउने तयारीमा रहेको ऐनमा अस्थाई शिक्षकका बारेमा स्पष्ट ब्यवस्था गर्नु पर्ने र सोहि अनुसार कार्यान्वयन गर्नु पर्ने भएकोले विचमा शिक्षक छनौटको प्रकृया नगर्न माग गरेको अध्यक्ष रामचन्द्र अधिकारीले बताए ।

अस्थाई शिक्षक आन्दोलनको समीक्षा गर्न हेटौंडामा भएको दुई दिने छलफलले तीन बुँदे माग तयार गरेको छ ।

पेशाबाट बाहिरिन चाहने अस्थायी शिक्षकलाई स्थायी सरह उपदान र औषधि उपचारको खर्च ब्यवस्था गर्ने र बाँकी रहेकालाई विना भेदभाव समान आन्तरिक प्रतिस्पर्धाद्धारा स्थायीमा लैजाने कुराको ग्यारेण्टि गर्न माग गरिएको छ । उक्त तीन बुँदे माग शिक्षा मन्त्री र प्रधानमन्त्रीलाई बुझाउने अधिकारीले बताए ।

यति गर्दा पनि माग सुनुवाई नभए चैतको पहिलो हप्ताबाट शुरु हुने एसएलसी परीक्षालाई अस्थाई शिक्षकहरुले असहयोग गर्ने निर्णय समेत भएको उनले बताए ।

अहिले देशभर लगभग २५ हजार अस्थाई शिक्षक भएको समितिको दावी छ ।

२०५५ सालमा निरेन्द्र कुवँर अध्यक्ष भएर स्थापना भएको अस्थाई शिक्षक आन्दोलन समिति र २०६९ सालमा अधिकारी अध्यक्ष भएर स्थापना भएको संघर्ष समिति गरी अस्थायी शिक्षक आवद्ध दुई वटा समूह कृयाशिल छन् ।

प्रतिक्रिया