काठमाडौँ, ९ वैशाख । म्याग्दीको हिस्तान गाविसको टिकोटका बासिन्दाले एक करोड रुपैयाँभन्दा बढीको लगानीमा विद्यालय भवन र खेलमैदान निर्माण गरेका छन् । हिस्तान–४ खोरेफाँटमा स्थानीय टिकोट माविको १६ कोठे पक्की भवन निर्माण गर्न सरकारी निकायको तुलनामा समुदायले चारगुणा बढी लगानी गरेका छन् ।
शान्ति तथा पुनःनिर्माण मन्त्रालयले रु १४ लाख र जिल्ला शिक्षा कार्यालयले आठ लाख २५ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको भवन निर्माण गर्न स्थानीय बासिन्दाले ८४ लाख रुपैयाँ चन्दा सहयोग गरेका प्रधानाध्यापक प्रदीप पुनले बताए ।
पुख्र्यौली थलोमा सुविधायुक्त विद्यालय भवन निर्माण गर्न बेलायती गोर्खा सैनिकका सेवानिवृत्त चन्द्रबहादुर पहरे पुनले रु २० लाख र उनका दाजु हर्कबहादुरले दश लाख रुपैयाँ, माया गर्बुजाले तीन लाखसहित ५७ जना चन्दादाताले ८४ लाख रुपैयाँ सहयोग गरेका थिए ।
प्रअ पुनका अनुसार हिस्तान–४ र ५ मा पर्ने टिकोटका बासिन्दाले चार लाख रुपैयाँ बराबरको श्रमदान गरेका छन् । विद्यालयको ७० रोपनी जग्गामध्ये २० जनाले ६३ रोपनी क्षेत्रफल विद्यालय भवन र खेलमैदान निर्माणका लागि दान गरेका थिए ।
अमर पुर्जाले चार रोपनी जग्गादान गरेर सुरु गरेको अभियानका क्रममा दिलजित तिलिजाले सबैभन्दा बढी आठ रोपनी उपलब्ध गराएका थिए । विद्यालयले १५ रोपनीमा भवन, खेलमैदान, शौचालय र छात्रावास निर्माण गरेको छ ।
उक्त विद्यालयमा सय जना विद्यार्थी अध्ययनरत छन् । विद्यालय भवनको हालै म्याग्दीका जिशिअ रामप्रसाद अधिकारी, चन्दादाता चन्द्रबहादुर र हर्कबहादुर पुनले विद्यालयको हिरक जयन्तीको अवसरमा उद्घाटन गरेका थिए ।
रास
प्रतिक्रिया