Edukhabar
मंगलबार, ०१ असोज २०८१
खबर/फिचर

प्राध्यापक हुन अर्कैको कृति !

आइतबार, ०३ फागुन २०७१

काठमाडौं ३ फागुन / त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकाय, परीक्षा नियन्त्रण महाशाखा प्रमुख तथा सहायक डीन नेत्र प्रसाद धितालले बढुवा प्रयोजनका लागि अर्कैको कृति पेश गरेको खुलासा भएको छ । भूगोल विषयका रिडर धितालले देवराज अर्यालको पुस्तक ‘भौतिक भूगोल’लाई आफ्नो भनेर पेश गरेको फेला परेको हो ।

शनिवार भएको शिक्षा शास्त्र संकायको समेष्टर प्रबेश परीक्षाका बेला उक्त प्रमाण सहितको फोटोकपी क्याम्पसका भित्ता भित्तामा टाँसिएको थियो । त्रिवि पुस्तकालयको रेकर्डमा उक्त पुस्तकका लेखक अर्याल भएको र उनकै नाममा आईएसवीएन नम्बर दिईएको उल्लेख छ । भित्तामा टाँसिएको उक्त रेकर्ड उप प्राध्यापक केशवराज पौडेलका नाममा पुस्तकालयले दिएको हो । पौडेल सहित विभिन्न विद्यार्थी सँगठनका नेता र कर्मचारी गरी १० जनाले केन्द्रिय पुस्तकालयबाट उक्त प्रमाण निकालेका पुस्तकालय श्रोतले जनाएको छ ।

‘प्राध्यापक जस्तो गरिमामय पदका लागि लिईने परीक्षामा भएको यस्तो कृयाकलापले त्रिविकै साख गिर्ने ठानेर हामीले यो कुरा सार्वजनिक गरेका हौ,’ टेलिफोनमा पौडेलले भने, ‘जिम्मेवार पदमा बस्नेहरुबाटै यस्ता कृयाकलाप हुनु लाजमर्दो हो, यसको उचित छानविन र कारवाहि हुनु पर्दछ ।’
धितालले आईएसवीएन नम्बर अर्यालकै नाममा भएपनि उनले किताव लेख्न नसकेपछि आफू सहभागि भएर उक्त किताव लेखेको दावी गरे । एडुखबर सित कुरा गर्दै उनले भने, ‘नम्बर जो सकुैले लिन सक्छ तर त्यसमा काम कसले गर्यो भन्ने नबुझिकन हल्ला गरेका हुन् ।’

उपभोक्ता हित संरक्षण मञ्चका सचिव समेत रहेका धितालले जनसंख्याको कितावलाई भूगोलको भनेर पेश गरेको पनि त्रिवि श्रोतले बतायो । ताहचल क्याम्पस पढाउने तान्त्रिका खनाल र धिताल मिलेर लेखेको ३ वटा पुस्तक जनसंख्या शिक्षाको सिद्धान्त र दर्शन, जनसंख्या र वातावरण तथा जनसंख्या र विकास पुस्तक उनले बढुवा प्रयोजनका लागि पेश गरेका छन् । जनसंख्या शिक्षाको सिद्धान्त र दर्शनलाई एम ए प्रथम बर्षको पाठ्यक्रम भनेर बुझाएका श्रोतले बतायो ।

‘जनसंख्याको किताव भूगोलका प्राध्यापक बढुवाका लागि कसरी योग्य भयो हामीले बुझ्न सकेका छैनौँ’ सेवा आयोग श्रोतले भन्यो, ‘हामीले केही भन्न मिल्दैन ।’

धिताल भने शिक्षा शास्त्रमा भूगोल विषय नै जनसंख्याका शिक्षकहरुबाट शुरु भएको तर्क गर्छन् । ‘जनसंख्याका शिक्षकले पढाउन हुने उनीहरुले लेखेको कृति पेश गर्न नहुने ?’ उनले भने, ‘बढुवा भन्ने कुरा प्रतिस्पर्धाको कुरा हो, त्यसमा एक दुई अँकले भएपनि कसरी पछि पार्ने भन्ने दाउ खेल्नेहरुले गरेको प्रचार मात्रै हो ।’

शिक्षा शास्त्र संकाय तर्फ भूगोल विषयमा आवश्यक ४ जना प्राध्यापकका लागि १६ जनाको प्रतिस्पर्धा छ । उक्त प्रतिस्पर्धाको २ सय पूर्णाङ्क मध्ये, ८० नम्बर अनुभवको हुन्छ । ६० नम्बर एसएलसी देखि डिग्री पढ्दा सम्मको शैक्षिक योग्यताको हुन्छ । यस्तै २० नम्बरको अन्र्तवार्ता र ४० नम्बर कृति, पाठ्यपुस्तक, लेख रचना आदीको हुन्छ ।

प्रतिक्रिया