काठमाडौं ८ बैशाख / निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि प्रकाशन गरेको पुस्तकमा दुई सय प्रतिशतभन्दा बढी मूल्य राखेर बिक्री गरेपछि सरकारले २४ घण्टाभित्र पुरानै मूल्य कार्यान्वयन गर्न निर्देशन दिएको छ ।
पाठ्यक्रम विकास केन्द्रले मंगलबार पुस्तक प्रकाशकलाई बोलाएर तीन वर्षअघि निर्धारित मूल्य कार्यान्वयन गर्न २४ घण्टाको समय दिएको कार्यकारी निर्देशक बाबुराम पौडेलले बताए । ‘तोकिएको भन्दा बढी मूल्य लिएपछि तत्काल सच्याउन समय दिएको हो,’ उनले भने, ‘निर्णयअनुसार म्ूल्य लिने अपिल र प्रतिबद्धता जारी गर्न भनेका छौं ।’ प्रकाशकहरूले आफ्नो कमजोरी स्वीकार गरेर तत्काल निर्णय कार्यान्वयन गर्ने अपिल जारी गर्नुपर्ने हुन्छ ।
नेपाल पुस्तक बिक्रेता तथा प्रकाशक संघका पूर्वअध्यक्ष रामचन्द्र तिमोथीले समयअनुसार मूल्य बढाएको बताए । ‘प्रकाशकहरू सबैले मूल्य बढाएको हाम्रो छलफलमा पनि निचोड निस्क्यो,’ उनले भने, ‘सबैले फरक म्ूल्य बढाएको देखियो ।’ सरकारले तोकेको भन्दा बढी मूल्य लिएमा कानुनमा कालोबजारी र ठगीअनुसार कारबाही गर्न सकिन्छ । एक शैक्षिक सत्रमा एक अर्बभन्दा बढी मूल्य लिँदा पनि प्रहरी र प्रशासनले वास्ता गरेको छैन । मूल्य निर्धारण गरेपछि हरेक वर्ष समायोजन गर्ने सहमति भए पनि सरकारले कार्यान्वयन नगरेपछि व्यवसायीले आफैं मूल्य बढाएको तिमोथीले बताए ।
कान्तिपुर दैनिकमा छापिएको खबर
प्रतिक्रिया