- शिवशरण ज्ञवाली / एलएलसी त सकियो, प्लस टु को परीक्षा नजिकै आइसकेको छ । शिक्षक विद्यार्थीलाई बाहेक स्वयं अभिभावक, शिक्षाप्रेमी, मिडिया कसैलाई पनि एसएलसीको तुलनामा प्लस टु को परीक्षाको रन्को छैन ।
तर वि. सं. १९९० बाट सुरु भएको एसएलसीको परीक्षाको रन्को भने विद्यार्थीलाई भन्दा बढी अन्य पक्षलाई नै हुन्छ । यसपटक एसएलसी परीक्षाको यात्रामा एउटा नयाँ मोड बनेको छ, अक्षराङ्क पद्धति । यही नयाँ प्रणालीले पनि यसपटकको एसएलसीको चर्चा धेरै भयो । अब, एसएलसीमा कोही ३२ नम्बर ल्याएर उतीर्ण र कोही ३१ नम्बर ल्याएर अनुतीर्ण हुने छैनन् । कठिन मानिएका गणित, अंग्रेजी र विज्ञान नजाने पनि अन्य विषयमा राम्रो गर्ने विद्यार्थीले आफ्नो शैक्षिक भविष्यलाई सुरक्षित गर्न सक्छ । अब मार्कसिटका ठाउँमा ग्रेडसिट आउने छ । ‘इ’ ग्रेड ल्याउने विद्यार्थीले पनि पढ्न चाह्यो भने भविष्यमा राम्रो गर्न सक्छ ।
तल्ला कक्षाहरुमा राम्रो शैक्षिक प्रदर्शन गर्न नसकेका विद्यार्थीहरुले उपल्ला कक्षाहरुमा आफूलाई निकै खार्दै अब्बल साबित गरेका उदाहरणहरु पाइन्छन् भने तल्ला कक्षाहरुमा ‘ए वान’ भनिनेहरु पनि प्लस टु मै विश्राम लिन पुगेका तमाम उदाहरणहरु छन् । तसर्थ ‘इ’ गे्रड ल्याउनेहरु काम नलाग्ने भन्ने होइन । उनीहरुले पनि आफ्नो प्रतिभा देखाउन सक्छन् । अक्षराङ्क पद्धति निरन्तर मूल्याङ्कनको एउटा पक्ष हो । त्यसकारण भोलि यसले विद्यार्थीले राम्रो गर्न सक्छ भन्ने मान्यता राख्छ ।
तर हाम्रो राज्य प्रणाली अझै पनि विभेदकारी देखिएको छ । जुनसुकै ग्रेड किन नल्याओस्, उसलाई उपल्ला कक्षा पढ्नबाट बञ्चित गर्नु हुँदैन । भर्ना लिने नलिने जिम्मा उच्च शिक्षा दिने स्कुललाई छाड्न मिल्दैन । बरु विद्यार्थीको रुचि र क्षमतालाई ध्यान दिदै उसले पढ्न सक्ने विषयहरुका लागि उचित परामर्शका साथ पठन पाठनका उपयुक्त विषय र विद्यालयको व्यवस्था गर्नुपर्दछ । उत्तीर्ण अनुत्तीर्ण नहुँदा पनि एसएलसीको प्रचार र यसलाई समाजले दिएको महत्व हेर्दा हामी शिक्षाका मसिहाहरु ग्रेडसिटमा पनि विद्यार्थीलाई आत्महत्या गर्न बाध्य तुल्याउन सक्रिय छौं जस्तो लाग्छ । कामना गरौं, यसपालि त्यस्तो अप्रीय खबर सुन्नु पर्ने छैन ।
एसएलसी परीक्षासँग जोडिएर ‘चिटिङ’ को कुरा आयो । यो आउनुको एउटा कारण विद्यार्थीमा राम्रो ग्रेड ल्याउन थोपरिएको दबाब पनि हो । यही कारण कतै चिट चोर्न नपाएर परीक्षा बहिष्कार गरेका त कतै चिट चोराउने कार्यमा सक्रिय निरीक्षक कारबाहीमा परेका कुराहरु सार्वजनिक भए । दक्षिणी छिमेकी भारतको जत्तिकै नभए पनि हाम्रो परीक्षाको शुद्धता र विश्वसनीयतामा गम्भीर आंशका कायमै छ । चिटिङ् मुख्य चुनौती बनेर हाम्रो परीक्षा प्रणालीका अगाडि खडा भएको छ ।
चिटिङ्को दर पल्स टु को परीक्षामा अझै बढी हुन्छ, भलै त्यो कम प्रचारमा आउँछ । प्लस टु को परीक्षा सञ्चालन गर्नका लागि उच्च माध्यमिक शिक्षा परिषद् क्रियाशील छ, एसएलसीको परीक्षा नियन्त्रण कार्यालय जस्तै । उच्च माध्यमिक शिक्षा परिषद्को शैक्षिक तथा प्रशासनिक अभ्यास त्यति लामो छैन । त्यसकारण उसको परीक्षा प्रणाली संस्थागत भइसकेको छैन । प्रश्नपत्र नै आउट भएका समाचार आउँछन् । मोबाइलमा रात रातमा प्रश्नहरु आतेजाते हुन्छन्, भलै ती कति सत्य छन्, त्यो भन्न सकिन्न तर विद्यार्थी माझ त्यो चर्चित छ ।
तसर्थ उच्च माध्यमिक शिक्षा परिषद्ले अझै धेरै गर्न बाँकी छ, परीक्षा नियन्त्रण कार्यालयको तुलनामा । कम्तीमा एसएलसीमा माथिबाट प्रश्न चुहावट हुँदैन भन्ने विश्वास छ तर उच्च माध्यमिक शिक्षा परिषद्ले त्यस्तो विश्वसनीयता आर्जन गरिसकेको छैन ।
प्लस टु का परीक्षाहरुमा व्यापक ‘चिटिङ’ हुन्छ, एसएलसीमा भन्दा धेरै बढी । तर त्यसको चर्चा कम हुन्छ । प्लस टु को परीक्षामा केवल विद्यार्थी मात्रै चोर्दैनन्, हामी शिक्षक पनि चोर्छौ । माथि तल दुवैतिर चुहावट छ । माथिको चुहावट नियतवश बढी छ । त्यसकारण त्यसलाई रोक्न कडा दण्डको व्यवस्था गर्नुपर्छ र परिषद्मा देखिएका प्वाल तत्कालै जब्बर तरिकाले टाल्नुपर्छ । स्कुल तहको चुहावट त संस्थागत नै छ । संस्थागत हुनुमा निजी क्षेत्रको प्रवेशले अझै सहयोग ग¥यो । ‘चिटिङ’ संस्थागतको उदाहरण हो, ‘सेटिङ्मै चिटिङ्’ । अस्वस्थ प्रतिष्पर्धाको यसको कारण हो ।
तर पूर्णतः धाँदलीरहित चुनाव संभव नभएजस्तै पूरै चिटिङ्को निर्मूलीकरण संभव छैन तर मात्रात्मक रुपमा त्यसलाई न्युनीकरण गर्ने कार्य असंभव भने छैन । त्यसो भयो भने परीक्षाको शुद्धता बढ्छ र शैक्षिक योग्यताको गुणात्मक तथा वास्तविक मापन हुनसक्छ ।
चिटिङ न्युनीकरणका लागि स्थानीय तहमा स्कुल प्रशासनका साथ साथै पुलिस प्रशासन समेत क्रियाशील हुन्छ । तर यसमा विद्यार्थीको मनोवैज्ञानिक पक्ष भने उपेक्षित छ । मावि तथा उच्च मावि पढ्ने विद्यार्थीको उमेर समूह भनेको १४ देखि १८ वर्ष हो । यो उमेरलाई किशोरवस्थाको उमेर भनी मनोवैज्ञानिकहरु परिभाषित गर्छन् । उनीहरु किशोरवस्थालाई महत्वपूर्ण, दोधारे, समस्या ग्रस्त तथा आँधीबेहरीको अवस्थाका रुपमा चित्रण गर्दछन् । शारीरिक, मानसिक तथा संवेदनाका हिसाबले पनि किशोरवस्थाका व्यक्तिहरु संक्रमणमै हुन्छन् ।
नेपाली समाज संक्रमणमा छ, औद्योगिकरण र परम्पराबीचको । त्यसकारण शारीरिक शक्तिलाई श्रममा रुपान्तरण गर्न सकिएको छैन । जतिबेला पनि रटन्ते विद्याको करकर र डाक्टर इञ्जिनियर बन्नुपर्ने दबाबले बौद्धिक असजिलो सिर्जना भएको छ ।
आज हाम्रा प्रायजसो विद्यालयहरु विद्यार्थी मैत्री छैन । शिक्षकहरुलाई पर्याप्त तालिमको अवसर छैन । एउटा सामान्य कर्मचारीलाई सेवा प्रवेश पूर्व महिनौं तालिम दिइन्छ तर शिक्षकलाई सेवा प्रवेश गरेको महिनौं पछि बल्ल दुई चार दिनको झारा टार्ने प्रकृतिको तालिम दिइन्छ, उल्टै कहिल्यै कक्षा प्रवेश नगरेका कर्मचारी मार्फत ।
एकताक उच्च मावि चलाउन विद्यालयमा १ देखि १२ कक्षा चलेको हुनुपर्छ भन्ने हल्ला चलेको थियो । त्यो बिचमै कतै हरायो । परीक्षामा दण्डलाई प्रश्रय पुग्ने गरी ‘होम सेण्टर’ हटाइयो । विद्यालय प्रशासन र कर्मचारीलाई गल्ती गरेमा दण्डित गर्ने गरी पेशाप्रति इमान्दार बनाउने र विद्यार्थीलाई परीक्षा फोविया हटाएर निर्धक्क परीक्षा दिन लगाउने हो भने ‘होम सेण्टर’ चिटिङ न्युनीकरणका लागि सहयोगी सिद्ध हुन्थ्यो । डर देखाएर दबाउन यसो गरियो । फलतः विष्फोटको खतरा बढी भयो । शिक्षक विद्यार्थीमा पनि द्वन्द्व चुलियो ।
तसर्थ किशोरवस्थाका बालबालिका पढ्ने आजका मावि तथा उमाविमा विद्यार्थीको मनोवैज्ञानिक पक्षलाई सबैभन्दा बढी ध्यान दिनुपर्छ । चिटिङलाई पनि मनोविज्ञानसँगै जोडेर हेरिनुपर्छ र त्यही किसिमले शिक्षण गरिनुपर्छ । उचित परामर्श र शिक्षक विद्यार्थी सुमधुर सम्बन्धको आवश्यकता छ । त्यसो भयो भने चिटिङ न्युनीकरणका लागि उचित पाइला चाल्न सकिन्छ । अन्यथा चोरी भयो चोरी भयो भनेर बकबास हल्ला गर्नुको अर्थ छैन ।
प्रकाशित मिति २०७३ बैशाख ८ गते
प्रतिक्रिया