काठमाडौँ, ५ बैशाख । साझा प्रकाशनबाट प्रकाशित र अन्य नेपाली साहित्यिक प्रकाशनका पुस्तकको शनिबारदेखि दक्षिण कोरियामा प्रदर्शनी सुरु भएको छ ।
साझा प्रकाशन, चाङ्जाक २१ लेखक सङ्घ र नेपाल–कोरिया सांस्कृतिक केन्द्रको आयोजनामा दुई सातासम्म चल्ने प्रदर्शनीको प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा, सङ्घका अध्यक्ष मुन चाङ्गिलले कोरियाको गोयाङ सिटीमा संयुक्तरुपमा उद्घाटन गरे ।
सोही अवसरमा कोरियाका कवि किम ह्यङ ह्योको बाल उपन्यास ‘सुशी नानी’ को लोकार्पण पनि गरियो । नेपाली भाषामा पनि लेख्न सक्ने कवि किमको सो पुस्तक साझा प्रकाशनले प्रकाशन गरेको हो ।
अध्यक्ष शर्माले साझा र यसका प्रकाशनलाई विश्वस्तरमा लैजान प्रदर्शनीले सहयोग गर्ने बताए । प्रदर्शनीका लागि शर्मासहित पूर्व मन्त्री तथा प्रकाशन सञ्चालक समितिका सदस्य प्रदीप नेपालसहितको टोली शुक्रबार कोरिया प्रस्थान गरेको थियो ।
रासस
प्रतिक्रिया