Edukhabar
शुक्रबार, ११ असोज २०८१
गतिविधि

४० करोड लगानीले ४० जना विद्यार्थी पनि उत्पादन हुन सकेनन्

शुक्रबार, ०३ बैशाख २०७३

देवघाट - संस्कृत शिक्षाको विकास र विस्तार गर्न स्थापना भएको विश्वविद्यालयकै उपकुलपतिले लगानी अनुसार उत्पादन हुन नसकेको भन्दै दुःख मनाउ गरेका छन् । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले विश्वविद्यालयको वार्षिक बजेट ४० करोड रुपैंया भएपनि बर्षमा ४० जना योग्य विद्यार्थी उत्पादन हुन नसकेको भन्दै दुःख मनाउ गरेका हुन् ।

विश्वविद्यालय स्थापना हनु अघि त्रिभुवन विश्वविद्यालय अन्र्तगत संस्कृत अध्ययन संस्थान मार्फत संस्कृत शिक्षाको पठन पाठन हुँदै आएकोमा २०४५ सालमा विश्वविद्याय स्थापना भएको हो । तर राजनीतिक भागवण्डाका कारण विश्वविद्यालयले आवश्यक काम गर्न नसकेको भन्दै  आलोचना हुँदै आएको छ । सोही आलोनाका विच शुक्रबार महेश सन्यास आश्रम द्धारा सञ्चालित मशेह संस्कृत गुरुकुल विद्यापीठको २३ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै कोइरालाले शिक्षामा भएको राजनीतिले संस्कृत शिक्षाको विकास गर्न नसकेको स्विकारे । 

विश्वविद्यालय अस्थिर भएकाले शास्त्रीय दर्शन चिन्तन, माटो र प्रकृतिको अध्ययन तथा ज्ञान प्राप्त गर्ने संस्कृत शिक्षाको विकास र विस्तार गर्न अप्ठ्यारो भएको उनले बताए । 'म पनि कुनै बेला राजनीति गर्थें' राजनीतिक कोटाबाटै उपकुलपति नियक्त कोइरालाले भने, 'तर राजनीति गर्ने हो भने छुट्टै ठाउँ हुन्छ । '

अहिले आफ्नो ध्यान संस्कृत शिक्षाको विकास र विस्तारमा मात्रै केन्द्रित रहेको बताउँदै उनले उपकुलपतिमा आफ्नो नियुक्त भएपछि तँ जागिर खान आएको की भाँड भैलो गर्न आएको भन्दै चर्को विरोध भएको र अहिले त्यो विरोधका स्वर कम हुन थालेको पनि बताए ।

आफू उपकुलपति भएपछि संस्कृत शिक्षाको विकास र विस्तारमा मात्रै ध्यान दिएको बताउँदै उनले महेश गुरुकुलले संस्कृतको अलावा अँग्रेजी भाषाको पठन पाठन गर्न पनि आग्रह गरे । 'अंग्रेजी विश्वभाषा हो, त्यसैले हप्ताको ३ दिन अँग्रेजीको पठन पाठन पनि गर्नु होला' उनले भने, 'वेदान्त र पूर्वीय दर्शनलाई विश्व भर फैलाउन यहाँ पढ्ने बटुकहरुलाई अँग्रेजी पनि सिकाउनु जरुरी छ ।'

विद्यापीठका प्राचार्य डा. गुरु प्रसाद सुवेदीले मशेह गुरुकुल विश्वविद्यालय बन्ने हैसियतमा पुगिसक्दा पनि विश्वविद्यालयले आवश्यक शिक्षक दरबन्दी नदिएको भन्दै उपकुलपतिको ध्यानाकर्षण गराएका थिए । उनको मागमा सम्बोधन गर्दै उपकुलपति कोइरालाले सरकारी अनुदानमा गएपछि राजनीति हुने भन्दै गुरुकुल गुम्बा मदरसा जस्ता धर्म र संस्कृतीको अध्ययन गर्ने विद्यालयलाई मूलधारमा ल्याउन शिक्षा मन्त्रालय गम्भिर हुनु पर्ने बताए ।

संस्कृत शिक्षा सुधारका बारेमा उपकुलपतिको भाषण सुनेपछि बोलेका महेश सन्यास आश्रमका अध्यक्ष डा. रामानन्द गिरिले संस्कृत शिक्षा सुधारमा उपकुलपतिको परीक्षा शुरु भएको बताए । 'आफू राजनीतिबाटै आएको बताएर उपकुलपतिले साँचो कुरा भन्नु भयो' उनले भने तर, 'भाषण धेरै सुनियो, उपकुलपतिको भाषण पुरा हुन्छ की हुँदैन हेर्नु छ, तपाईको परीक्षा शुरु भयो ।'

कार्यक्रममा संस्कृत शिक्षाको विकास र विस्तारमा योगदान दिएको भन्दै निम्बार्क दर्शन केन्द्र गैडाकोट नवलपरासीका आचार्य हरिशरण उपाध्यायलाई गोपालनिधि पुरस्कार प्रदान गरियो । आश्रमका अध्यक्ष गिरिले उनलाई पुरस्कारद्धारा सम्मान गरे । उपाध्ययले संस्कृत शिक्षाको आवश्यकता र महत्वबारे बोलेका थिए ।

महेश सन्यास आश्रमद्धारा सञ्चालित विद्यापीठमा कक्षा ६ देखि आचार्य सम्म पठन पाठन हुन्छ । देशका ५५ जिल्लका १ सय ८७ विद्यार्थी अध्ययनरत गुरुकुलमा विद्यालय तर्फ १२ जना शिक्षक छन् भने पिद्यापीठ तर्फ विश्वविद्यालयले दिएको २ दरबन्दी सहित ७ जना शिक्षक छन् । कक्षा १० सम्म अँग्रेजी, कम्प्युटर, योग लगायत ११ सय पूर्णाङकको अध्ययन हुन्छ । यहाँ अध्ययन गर्ने सबै विद्यार्थीलाई निशुल्क आवास सहित पठन पाठनको ब्यवस्था गरिएको छ । श्रद्धालुहरुको मुठि दानबाट उनीहरुको शिक्षा दिक्षा र पालन पोषणको काम हुन्छ । विद्यापीठको बार्षिकोत्सवका अवसरमा मुठिदान गर्नेहरुको समेत सहभागिता थियो । हेटौंडा, सिमरा, काठमाडौं सहितका क्षेत्रका श्रद्धालुले यो बर्ष आवश्यक चामल सहित खाद्यान्न, नगद र अन्य आवश्यक सामग्री दान दिएको कार्यक्रममा जानकारी गराईयो ।

प्रकाशित मिति २०७३ बैशाख ३ गते

प्रतिक्रिया