Edukhabar
आइतबार, ०९ मंसिर २०८१
खबर/फिचर

शुुल्क बारेको सहमती कार्यान्वयन गर्न माग

बुधबार, ०६ फागुन २०७१

काठमाडौं ६ फागुन / नेत्र विक्रम चन्द निकट विद्यार्थी सँगठनले निजी विद्यालयहरुले लिदैं आएको शुल्क लगायतका बारेमा सरकारसँग विगतमा भएको सहमती कार्यान्वयन गर्न माग गरेको छ । बढाएको शुल्क कात्तिक भित्र फिर्ता गर्ने गरी असोज ३ गते भएको सहमती कार्यान्वयन नभएको भन्दै उसले विरोध गरेको हो ।

वैशाख १३ गतेदेखि १६ गते सम्म चितवनमा गर्ने संगठनको २० औँ राष्ट्रिय सम्मेलनका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संगठनले सार्वजनिक गरेको विज्ञप्तिमा ‘शुल्क फिर्ता सम्बन्धि विगतमा भएको सहमति, विदेशी नाम परिवर्तन, शुल्क वृद्धि, शैक्षिक माफियाकरण सम्बन्धि जोडदार संघर्ष गरीनेछ’ उल्लेख गरिएको छ ।’

‘सहमती गर्ने तर कार्यान्वयनमा ध्यान नदिदाँ समस्या भयो’, विद्यार्थी नेता सन्तोष कोइरालाले भने, ‘आम विद्यार्थी र अभिकावकका हितमा हामी कृयाशिल हुने छौं ।’

विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएको संगठनसंग निजी विद्यालयहरुले बढाएको शुल्क कात्तिक मसान्त भित्र फिर्ता गर्ने र फिर्ता गर्न नमान्ने विद्यालयको सम्बन्धन खारेजी गर्ने लगायतका नौ बुँदामा सहमती भएको थियो ।

यसैविच पत्रकार सम्मेलनमा, संगठनको महासचिवको जिम्मेवारी सचिव खगेश्वर के.सी.लाई दिएको जानकारी पनि गराईयो । यस अघिका महासचिव रत्न ढकाल बैद्य माओवादी निकट संगठनमै बसेपछि उक्त पद खाली थियो ।

गत माघ २८–२९ गते काठमाडौंमा भएको वैठकले ८४ सदस्सीय केन्द्रीय समितिलाई नै २० औँ राष्ट्रिय सम्मेलन मुल आयोजक समिति मान्ने निर्णय गरेको पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

विधान र प्रतिवेदन उपसमिति संयोजकमा अध्यक्ष सरद रसाईली, व्यवस्थापन उपसमिति संयोजकमा अशोक पोख्रेल, आर्थिक उपसमिति संयोजकमा लाल ब. तमाङ,    परिचालन उपसमिति संयोजकमा दिपेन्द्र चलाउने, र प्रचार/प्रसार उपसमिति संयोजकमा सन्तोष कोईराला रहेको पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

फागुन १४ गते शहीद वेपत्ता विद्यार्थी स्मृति छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने पनि संगठनले जनाएको छ ।

प्रतिक्रिया