Edukhabar
शुक्रबार, ११ असोज २०८१
विचार / विमर्श

'फोर्डइज्म'मा अभ्यस्त शिक्षकका कारण विद्यार्थी नै बोझ ठान्छन् विद्यालय

मंगलबार, ३० चैत्र २०७२

- विजयराज पन्त /
–    विद्यालय विदा भयो भने बालबालिका खुसी हुन्छन् ।
–    विद्यालय जाने बेलामा भन्दा विद्यालयबाट घर फर्कदाँ बालबालिकाको अनुहारमा खुसी देखिन्छ ।

यी दुई लाईन पढ्दा तपाईको मनमा पक्कै आफ्नो स्कुले जीवनको याद आयो होला ! देख्दा सामान्य लाग्ने तर प्रभावका हिसावमा हाम्रो विद्यालयीय शिक्षा भित्रको चुरो तथ्य हो यो । विद्यालयले बालबालिकालाई आर्कषित गरिरहेको छ की अझै पनि बलजफ्ति बालबालिकालाई घिस्याउँदै विद्यालय भित्र हुल्न परिरहेको छ ?

यो प्रश्नको उत्तर खोज्ने अथवा यसका बारेमा विचार विमर्श गर्ने वित्तिकै हाम्रा विद्यालयहरु कुन हैसियतमा छन् भन्ने छर्लङ्ग हुन्छ । बालमैत्री विद्यालयको अवधारणाका बारेमा धुमधाम प्रचार गरिए पनि बालबालिकाले विद्यालयको गतिविधीलाई सजाँय कै रुपमा बुझ्ने परिपाटि ज्यूँ का त्यूँ छ ।

यो अवस्थामा कतिपय विद्यार्थी विस्तारै विद्यमान परिवेशमा अनुकूलित हुन्छन् त कोही दमित हुन्छन् भने कतिले विभिन्न व्यवहारबाट असन्तुष्टी पोख्दछन् । बोझिलो र पट्यारलाग्दो शिक्षण शैली, शिक्षक–शिक्षिकाको अपच्य व्यवहार, कक्षा कोठा लगायत पूर्वाधारको दुरावस्था र आवश्यक आधारभूत सुविधाको अपर्याप्तताले विद्यार्थीलाई सिकाइ प्रकृयामा निष्कृय बनाइरहे कै छ । जसको प्रतिफल विद्यार्थीमा सानै उमेर बाट नकारात्मक भावनाको विकास गराएको छ । यस्तै भोगाइ र बुझाइको परिवेशमा राज्यको लगानी, अभिभावकको आकांक्षा र विद्यार्थीको अन्तरनिहित क्षमता लथालिङ्ग भएको छ ।

फोर्डइज्मको मानसिकता

विद्यालय विद्यार्थीका लागि रुचिको विषय हुनु पर्दछ । शिक्षण शैली र व्यवहारले यस खालको वातावरण विद्यालयमा सृजना हुन सक्दछ ।  तर नेपालका सबैजसो शैक्षिक संस्थामा फोर्डइज्म (एकै खालको तरिकाबाट एकै खालको उत्पादन गर्नु पर्छ भन्ने मान्यता)  हावी छ । सँधै एउटै विधि र एकै किसिमको सामग्री प्रयोग गरी एकै किसीमबाट पढाउने काम हुन्छ । हरेक दिन विद्यार्थीले नयाँपन महशुस गर्न नसक्नु, पट्यारलाग्दो गृहकार्य र बोझिलो परीक्षा प्रणालीको उल्झनमा फसी स्वतन्त्ररुपले सृजनशीलता प्रस्फुटित हुने अवसर नपाउनुका कारणले बाल मनोविज्ञानमा नराम्रो प्रभाव परेको छ ।

सिकाइ प्रकृयामा विद्यार्थीको निष्कृयता यसको दुखद् परिणाम हो । पाठ्यक्रम, पूर्वाधार, मनोरञ्जनका अवसर र अतिरिक्त कृयाकलाप जस्ता पक्षहरु पनि शैक्षिक उपलब्धिसँग जोडीएका महत्वपुर्ण आयामहरु हुन् । यी विविध पक्षहरु समसामयिक र अपेक्षीत नहुनाले विद्यार्थीले अभिरुची पूर्वक सिक्ने नभइ पिडाबोध गर्ने स्थिति बनेको छ । जस्को परिणाम स्वरुप सिकाइ प्रकृया तथा शैक्षिक गुणस्तरलाई कमजोर तुल्याउन बल पुर्याएको छ ।

व्यवहार तथा सम्वन्ध

विद्यार्थीले आत्मसम्मान, सुरक्षा, स्नेहपूर्ण चालचलन र उमंगताले युक्त परिवेश जस्ता कुराहरुको अपेक्षा राखेका हुन्छन् । प्रोत्साहन र हौसलाको सट्टामा दण्ड वा दुव्र्यवहार सहितको कठोर नियन्त्रणमा शिक्षण सिकाइ संचालन गर्नु पर्छ भन्ने मान्यता कुनै न कुनै रुपमा हालसम्म पनि रहेकै छ । जसलाई हाल पनि सिकाइ प्रकृयाको अभिन्न अंगका रुपमा समेत बुझिएको छ ।

अध्ययनबाट के पनि देखिन्छ भने सामान्य शिक्षकमात्र नभइ प्रशिक्षित शिक्षक र प्रशिक्षक आफै पनि यस खालको मानसिकताबाट पूर्णरुपले बाहिर जान सकेका छैनन् । अर्को तर्फ, दण्डहिन शिक्षाको अवधारणा निराकार र मनोगत छ भने दण्डहिन शिक्षाको वकालत गर्नेहरुले पनि उपयुक्त विकल्प दिन सकेका छैनन् । गुरुकुलको हार्दिकता युक्त सम्बन्धको सकारात्मक पाटो हाम्रा लागि अनुसरणीय बनेको छैन । स्नेह, जीम्मेबारीबोध र नैतिकतामा आधारित वैकल्पिक तरिकालाई सहज बनाउन सकिएको छैन । राजनीति, संचारमाध्यम र सामाजिक मानसिकताले भरेको हिंसाको मनोदशालाई विद्यालयले हटाउनुको सट्टा निरन्तरता दिइ रहेको छ । यस्तो परिवेशमा सृजित शारीरिक र मानसिक हिंसाका अनुभवले  विस्तारै विद्यार्थीमा कर्तव्य र अनुशासनको भावनालाई कमजोर बनाएको छ भने विद्यार्थी र शिक्षक बीचको सम्वन्धलाई समेत तिक्त बनाएको छ ।

पूर्वाधार

भवन, शौचालय, धारा तथा खेल मैदानको अवस्थाले बाल मनोविज्ञानलाई प्रभावित गरेको हुन्छ । कक्षा कोठाको उपयुक्त अवस्था र यसको उचित व्यवस्थापनले सिकाईलाई सकारात्मकरुपले प्रभावित गर्दछ । नेपालका अधिकांश सामुदायिक वा नीजि विद्यालयका कपषा कोठालाई हेर्ने हो भने न्युनतम सर्तहरु पनि पुरा नभएको देखिन्छ । राम्रोसँग हावा र प्रकाश  नछिर्ने, जस्ताका होचा टहरामा गर्मीमा अधिक गर्मी र जाडोमा अधिक चिसोको प्रभाब हुने, पानी चुहिने, भुकम्पीय खतरामा रहेका भवन, सरसफाइको कमि र  क्षमता भन्दा अधिक विद्यार्थी संख्या जस्ता समस्याले विद्यार्थी प्रभावित भएका छन् ।

चर्पी र खानेपानीको पर्याप्तता र सरसफाइको अभाव अर्को कमजोरी हो । बाटो, खेल मैदान र विद्यालयहाताको तारवारको स्थिति पनि प्रायः सन्तोषजनक छैनन् । त्यसै गरि नगन्य  विद्यालयहरुमा मात्र छात्रामैत्री शौचालय तथा अपांङ्गमैत्री पुर्वाधार रहेको देख्न सकिन्छ । यस्तो स्थितिमा विद्यार्थी माझ रहने अस्वस्थता तथा दुर्घटनाको सन्त्रास र अत्यासलाग्दो परिवेशका कारण सिकाइ प्रकृया नराम्रोसँग प्रभावित भएको छ ।

जनशक्ति व्यवस्थापन

विद्यालयमा आवश्यकता अनुसारको जनशक्ति रहनु प्रभावकारीताका सन्दर्भमा अनिवार्य हुन्छ । यस्तो जनशक्ति उपयुक्त ढंगले परिचालन गर्नु अर्को सर्त हो । नेपालका अधिकांश विद्यालयहरुमा पर्याप्त जनशक्ति छैन । राजनीतिक प्रभाव र हस्तक्षेपका कारण विद्यमान जनशक्तिको परिचालन पनि सहज छैन । प्रोत्साहन र वृत्ति विकासका गतिविधी पारदर्शी र प्रभावकारी हुन सकेका छैनन् ।

सामुदायिक विद्यालयका शिक्षकहरुको जागीरे मानसिकता र संस्थागत विद्यालयका शिक्षकहरुको न्युन बेतन तथा असामहिक बेतनको कारणले पनि यो सबाल जटिल बनेको छ । राजनीतिक शक्तिसँगको निकटताका कारण कतिपय शिक्षक नियामक निकाय माथी नै चुनौतिका साथ हावि भएका छन् । अर्कोतर्फ स्थानीय निकायको निर्वाचन नभएको वर्तमान अवस्थामा राजनीतिक दलले सामुदायिक विद्यालयको व्यवस्थापन र प्रशासनलाई दलीय प्रतिष्ठाको रुपमा लिँदा पेचिलो रणभूमिमा परिणत भएको छ ।

सामुदायिक विद्यालयमा आम विद्यार्थी र अभिभावकका आकांक्षाको विरुद्धमा राजनीतिको आवरणमा स्वार्थ हावि भएको छ । यस्ता दुस्प्रयासले तल्लो तहदेखि माथिल्लो निकायसम्म विभिन्न स्वरुपमा विकृति भित्राएको देख्न सकिन्छ । विविध विकृतिले गर्दा इमान्दार शिक्षकहरु कमजोर मनोबल र विक्षिप्त मानसिकतामा कार्यगर्न बाध्य छन् । फलतः विद्यालयमा अध्ययन गर्ने तुलनात्मक हिसाबले विपन्न परिवारका विद्यार्थीको भविष्यलाई दाउपेचमा राख्ने अपराध भएको छ भने शिक्षण सिकाइको कार्य असहज बनेको छ ।

माथिका चारवटा सवालले विद्यालय शिक्षाका थुप्रै कमजोरी र चुनौतिको उठान गरेको छ भने विकृतिलाई संस्थागत गर्न खोजिएको स्थितिलाई दर्शाएको छ ।

पहिलो सवालले विद्यार्थीमा पीडाबोध, निष्कृयता र शिक्षकमा कर्मकाण्डीयता हावी भएको प्रष्टाउँछ ।

दोस्रो सवालले दण्डहिनताको विषयमा शिक्षकहरुमा उपयुक्त विकल्प र इच्छा शक्ति नहुँदा विभिन्न स्वरुपमा मौन अनुशरण अवस्थालाई देखाएको छ । यसले सन्त्रासपूर्ण बाल मनोविज्ञान विद्यालयममा हुने गरेको बुझ्न सकिन्छ ।

तेस्रो विषयले विद्यालयको प्रतिकूल भौतिक वातावरणलाई चित्रित गरेको छ ।

अन्तिम सवालले संकृण राजनीतिक प्रणाली र व्यवस्थापकीय कमजोरीलाई उजागर गरेको छ ।

यी कुराहरुबाट विद्यालयहरुको सन्त्रासमय, विवेकहिन र स्वार्थ केन्द्रित परिवेशमा शिक्षा हासिल गर्नुपर्ने विवशता रहेको प्रष्टिन्छ । विभिन्न स्वरुपका नियामक निकायको निरीहतालाई पनि यसले देखाएको छ । यद्यपि सरोकारवालाको प्रर्याप्त निगरानी, कुशल प्रशासक र प्रतिवद्ध शिक्षकहरु रहेका विद्यालयहरुमा चमत्कारीकरुपमा उपलब्धी हासिल गरेको उदाहरणहरु पनि नभएका होइनन् । विकृतिलाई संस्थागत गर्ने परिपाटीको अन्त्य हुनु पर्दछ । उचित प्रोत्साहन र अनुकूल परिवेशको निर्माणबाट विद्यालय यातना गृहजस्तो पीडामय नभइ आत्मिक र रुचिको स्थल बनाइ सृजनशीलताको ढोका खोल्ने चेतना जागृत हुनु पर्ने देखिन्छ । 

[email protected]

पन्त शिक्षासंग सम्बन्धित विभिन्न तालिम तथा अनुसन्धानको काममा सकृय छन्

प्रकाशित मिति २०७२ चैत ३० गते

प्रतिक्रिया