Edukhabar
शुक्रबार, ११ असोज २०८१
खबर/फिचर

पाठ्यपुस्तक छैन, अभियान प्रचारको पम्प्लेट तयार !

आइतबार, २८ चैत्र २०७२

भक्तपुर - प्रधानमन्त्री र मन्त्रीहरुका हातबाट विद्यालय तहका विद्यार्थीलाई अभियानकै रुपमा पाठ्यपुस्तक वितरण गर्ने भनिए पनि आवश्यक पाठ्यपुस्तकको छपाई नै नसकिएको फेला परेको छ । अभियानको प्रचारका लागि अवश्यक ३५ हजार थान पम्प्लेट भने जनक शिक्षा सामग्री केन्द्र मार्फत् नै छापिसकिएको छ । '२०७३ बैशाख ५ गतेलाई निशुल्क पाठ्यपुस्तक वितरण दिनका रुपमा मनाऔं' शिर्षकको उक्त पम्प्लेट ४ पेजको छ ।

छपाई सकिएको मध्ये अहिले सम्म ५० प्रतिशत किताब पनि जिल्लामा पुगेको छैन । सरकारले शुक्रबार गरेको उक्त निर्णय पछि पाठ्यपुस्तकको अवस्थाका बारेमा छलफल गर्न आईतबार पाठ्यपुस्तक केन्द्रिय अनुगमन समितिको बैठक बसेको थियो । १ करोड ९७ लाख सेट पुस्तक आवश्यक भएकोमा अहिले सम्म १ करोड ३० लाख सेट मात्रै छापिएको बैठकमा जानकारी गराईएको समितिकी सदस्य तथा अभिभावक संघकी उपाध्यक्ष सरिता अर्यालले बताईन् । 

'कक्षा ६ देखि १० सम्मका लागि आवश्यक पाठ्यपुस्तक नै नछापिएको अवस्थामा कसरी अभियान सञ्चालन हुने हो, आश्चर्यमा पर्यौं' उनले भनिन्, 'अहिले सम्म नछापिएको किताव कहिले छापिने हो र अभियान घोषणा गरेको हो बुझ्न सकिएन, मन्त्री ज्यूहरुले एक एक सेट किताव काठमाडौंबाटै बोकेर लैजाने त होलान् !'

सरकारले वैशाख ५ गते प्रधानमन्त्रीको हातबाट र १५ गते सम्म विभिन्न जिल्लामा मन्त्रीहरु मार्फत् पाठ्यपुस्तक वितरण गर्ने योजना बनाएको छ ।

प्रकाशित मिति २०७२ चैत २८ गते

प्रतिक्रिया