नायिका जान्वी बोहोराको बाल्यकालको शिक्षादिक्षा र नेपालको शैक्षिक अवस्था शनिबार विशेषमा
विष्णु विवेक । तपाईले सानैमा विद्यालय पढ्दा कहाँ बसेर पढ्नुभयो होला ? भुईमा बसेर ? घरबाट बोरा लिएर ओछ्याएर ? या त बेञ्चमै बसेर पढ्नुभयो ? तर नायिका जान्वी बोहोरा एक कक्षा पढ्दा ढुंगामा बसेर पढ्थिन् । विद्यालयमा डेस्क बेञ्च त थिएन् नै घरबाट बोरा लिएर स्कुल जाने चलन त्यतिबेला उनलाई झन्झटिलो लाग्थ्यो ।
‘बाल्यकालमा त्यतिबेला पढ्दाको याद अहिले पनि सम्झिदा मिठो लागेर आउँछ । त्यो ढुंगामा बसेर पढ्दाको क्षण सम्झिदा त झन् हासो लाग्छ । डेस्क बेञ्च कक्षाकोठामा थिएन । माटोमा कसरी बस्नु ? अनि सानो सानो ढुंगा खोजेर ल्याउथ्यौँ । त्यसैमा बसेर पढ्थ्यौँ ।’ एडुखबरसंग उनले आफ्नो बाल्यकालको शिक्षा दिक्षाका बारेमा भनिन् ।
२०६० सालमा सतीदेवी शारदा उच्च माध्यामिक विद्यालय लामोसाँघु सिन्धुपाल्चोकबाट एसएलसी पास गरेकी नायिका बोहोराले स्नातकसम्म अध्ययन गरेकी छन् । सिन्धुपाल्चोकको टेकानपुर घर भएकी बोहोराले स्थानीय कालिका उच्च माध्यामिक विद्यालयबाट अध्ययन शुरु गरेकी हुन् । प्राथमिक तहको अध्ययन सरकारीमै गरेकी उनले निम्नमाध्यामिक तहको पढाई बोर्डिङबाट गरिन् ।
हातमा निलडाम बस्ने गरी बोर्डिङ स्कुलमा पिट्थे
स्थानीय जिगल बोर्डिङ स्कुलमा पढेर नीजि विद्यालयको अनुभव समेत लिएकी उनलाई विद्यालयमा ‘होमवर्क’ नगर्दा शिक्षकको कुटाई खाएको स्मरण छ ।
‘कक्षा ७ मा पढ्दा हो । सधै होमवर्क गरेर जान्थे । सरले जे जे पढ्नु भन्नुभएको हुन्थ्यो, पढ्थे । तर एकदिन किन किन पढेको कुरा सम्झिनै सकिन । घरमा पनि त्यति पढेकी थिइन् । तर त्यै दिन सरले सोधिदिनुभयो ! मलाई आएन् । सोधेको कुरा नभनेपछि हातमा लठ्ठीले बर्साउनुभयो । हातमा लिलडाम बसेर कतिदिनसम्म त दुखिरह्यो ।’ उनले भनिन् ।
बोर्डिङका नपढेपछि पिट्ने बानी उनलाई मन पर्दैन् । तर विद्यार्थीलाई अनुशासन भन्दा बाहिर जान दिनु हुदैन् भन्ने उनलाई मनैदेखि लाग्छ ।
‘बोर्डिङ स्कुलमा पिटेर भएपनि डर देखाएर अनुशासनमा राखिन्छ । पिटिहाल्न चाहीँ हुदैन् । तर विद्यार्थीलाई अनुशासनमा नराखेसम्म पठनपाठन राम्रो हुदैन् ।’ उनले भनिन् ‘अबका विद्यार्थीलाई अनुशासनमा राख्न रचनात्मक उपाय अपनाउनुपर्छ । किनभने विद्यार्थी अनुशासित नभएसम्म उसले पढेको कुरा राम्ररी सिक्न र जान्न सक्दैन् ।’
सरकारी र नीजि विद्यालय दुबैमा रटन्ते र घोकन्ते शैली
मुलुकमा रहेका दुबै शैक्षिक संस्थामा अध्ययन गरेकी जान्वीलाई शैक्षिक रुपमा दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षण शैली भने पटक्कै मन परेको छैन् । कारण नीजिमा पुरै घोकाएर पढाइन्छ भने सरकारीमा पाठ रटाएर ।
‘अहिलेका दुबै शैक्षिक संस्थाको अध्ययन अध्यापन शैली मलाई मन परेको छैन् । बोर्डिङमा पुरै पाठ घोक्न लगाइन्छ । डरले पनि पाठ घोक्नैपर्छ । अनि सरकारीमा पाठ रटाइन्छ मात्र । त्यसलाई व्यवहारिक रुपमा कसरी प्रयोग गर्ने ? कसैसंग उपाय छैन्’ व्यवस्थापन संकायमा चौतारा बहुमुखी क्याम्पस सिन्धुपाल्चोकबाट बिबिएस गरेकी नायिका जान्वीले भनिन् ‘यस किसीमको पढाईले हाम्रो मुलुकमा चाहिएको जनशक्तिले काम गर्दैन् ।’
व्यवहारिक र सीपयुक्त शिक्षा नभएकै कारण हाम्रो दैनिक जीवनमा प्रयोग हुने स्रोत साधनको राम्ररी उपयोग हुन नसकेको उनको भनाई छ । घरमा सिकेको जति कुरा पनि स्कुलमा सिक्न नपाइएको उनको गुनासोँ छ ।
‘हामीले घरमा बरु धेरै कुरा सिकेका छौँ । भात पकाउन, दाउरा काट्न, धान रोप्न, बाली स्याहार्न, विउ रोप्न लगायत अन्य पनि । तर स्कुलमा त यतिपनि सिकेका छैनौँ’ उनले भनिन् ‘चाहिएको कुरा नसिक्ने नपढ्ने अनि इतिहास र आदर्शका पाठ पढेर मात्र हामी कहिल्यै उभो लागौला खै ?’
सरकारी विद्यालयको शिक्षामा प्राविधिक ज्ञानको कमी र नीजिमा विद्यार्थीको क्षमता अनुसारको अध्ययन अध्यापन नभएको उनको गुनासो छ ।
यसलाई सुधार्नका लागी सबैले सैद्धान्तिक भन्दा पनि प्राविधिक र व्यवसायिक शिक्षामा जोड दिनुपर्ने उनको भनाई छ ।
कलाकार पनि विदेशिनुपर्ने बाध्यता
‘सपना तिम्रो मेरो’ फिल्मबाट नेपाली फिल्म क्षेत्रमा उदाएकी नायिका जान्वी बोहोरा म्युजिक भिडियोबाट मनोरञ्जन र अभिनय क्षेत्रमा उदाएकी हुन् ।
उनी अभिनय कलामा पोख्त हुनुको अर्को रहस्य सडक नाटक हो । सयौँ सडक नाटकमा अभिनय गरेपछि उनले म्युजिक भिडियो खेलिन् र त्यसैको बेलमा फिल्म पनि ।
स्नातकको पढाईपछि उनी अहिले अभिनयका साथसाथै एक गैरसरकारी संस्थाका माध्यमबाट समाजसेवा पनि गर्दैछिन् ।
आफ्नै काम र फिल्म क्षेत्रको अभिनयले व्यस्त भएपनि उनलाई एउटै कुराको डर छ । त्यो भनेको अरु कलाकारजस्तै आफु पनि विदेशिनुपर्छ की त ?
नेपालमा काम र पर्याप्त सेवा सुविधा नभएकै कारण धेरै कलाकार विदेशिएका छन् । सरोज खनाल १७ बर्ष अमेरिका बसेर फर्किदा नायक राजबल्लभ कोइराला, दिलिप रायमाझी, जल शाह, जीवन लुइँटेल लगायतका कलाकार विदेशिएका छन् ।
आर्थिक सुरक्षाका लागी विदेशिने गरेका पढेलेखेका युवा र कलाकारहरुको रहर नभई बाध्यता भएको उनको भनाई छ ।
‘यसरी हाम्रा धेरैजसो युवाहरु विदेशिदा मलाई पनि डर छ । कारण धेरै पढेलेखेका युवा मात्र होइन् कलाकार पनि विदेशिएका छन् । किनकी पढेलेखेका युवाहरुले यहाँ अवसर नै देखेका छैनन् र पर्याप्त रोजगारी नै सरकारले सिर्जना गर्न सकेको छैन् । यसकारण बाध्यताले युवाहरु विदेशिदा सरकारले गम्भिर रुपमा सोच्नुपर्छ ।’ उनले भनिन् ।
भूकम्पले भत्केका विद्यालय नबन्दा चिन्ता
बैशाख १२ र २९ गतेको भूकम्पले सिन्धुपाल्चोक लगायत १४ जिल्लामा झण्डै पाचँ हजार विद्यालय भत्केका छन् । भूकम्पले उनी पढेको विद्यालय पनि बाँकी छैन् । तर एक बर्ष वित्नै लाग्दा समेत विद्यालय नबन्दा उनको मन कटक्क खाएको छ ।
‘भूकम्पले मैले पढेको विद्यालय र क्याम्पस पनि भत्केको छ । भूकम्प गएको बेला अलि अलि त सेवा पनि गरियो । तर यतिका महिनामात्र होइन् बर्षै वित्न लाग्दा पनि विद्यालय बनेका छैनन् । ती कलिला बालबालिका डेस्क बेञ्च, विद्यालयको भवन नबन्दा राम्रोसंग शान्तिले पढ्न पाइरहेका छैनन् । मन कटक्क खाएको छ ।’ उनले भनिन् ।
प्रकाशित मिति : २०७२ चैत २७ गते ।
प्रतिक्रिया