Edukhabar
शुक्रबार, ११ असोज २०८१
खबर/फिचर

चिटै चोरेर पास शिक्षकबाट मर्यादित परीक्षाको अपेक्षा वेकार !

शुक्रबार, २६ चैत्र २०७२

- विष्णु विवेक- काठमाडौं / प्राविधिक धार तर्फका विषय बाहेक एसएलसी परीक्षा सकिएको छ । विगत बर्षहरु कै निरन्तरता जस्तो यस बर्ष पनि परीक्षा दौरान चिट चोर्ने क्रम कायमै रह्यो । चिट चोरेर सजिलै पास भइन्छ भन्ने बानीले विद्यार्थीको मन मष्तिष्कमा जरो गाड्दा यस्ता कृयाकलापले निरन्तरता पाएको ठहर छ शिक्षाविद प्रा.डा. विद्यानाथ कोइरालाको ।

शिक्षकहरुले विद्यार्थीलाई मेहनत गरेर पढ्न नसिकाउँदाको परिणाम मान्छन् उनी । ‘परीक्षार्थीले चिट चोरे भनेर आश्चर्य मान्नु पर्दैन, किनभने अहिले विद्यार्थीको परीक्षा लिइरहेका शिक्षकमध्ये धेरैजसो चिट चोरेरै पास भएका छन्’ उनले भने ‘चिट चोरेर पास गर्ने र गराउनेलाई कडा कारबाही नगरेसम्म हाम्रो परीक्षा सुध्रिदैन ।’

परीक्षामा चिट चोरेर लेख्न होइन विद्यार्थीलाई जानेको कुरा लेख्न दिने पद्धतीको विकास गर्न उनको सुझाव छ । नजानेको कुरा सोध्ने वातावरणको विकास गर्दै तीन घण्टा कोठामा हुलेर परीक्षा लिने तरिकामा सुधार नगरीञ्जेल यस्ता घटना दोहोरिरहने उनको निष्कर्ष छ । 

परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्री एसएलसी परीक्षामा अमर्यादित काम हुनु नेपाली समाजको अनिवार्य कर्म जस्तै लाग्ने बताउँछन् । 'एसएलसी होस् या त जुनसुकै परीक्षा पढेर, गरेर र सिकेर भन्दा चिट चोरेरै, घोकेरै पास हुने चलन छ, मानसिक प्रवृत्तिमा सुधार नआएसम्म सुधार असम्भव छ' उनी भन्छन्, ‘परीक्षा व्यवस्थित गर्ने कार्यालयको मात्र काम हैन, परीक्षा नियन्त्रण कार्यालयको मुख्य काम त परीक्षा सञ्चालन र नतिजा प्रकाशन नै हो । त्यसैले कमजोरी कसको भन्दा पनि जिम्मेवार को कति हुने ? भन्ने कोणबाट सोच्नुपर्छ ।’

अनुगमनको औपचारिकता

एसएलसी परीक्षाको अनुगमनका लागी भन्दै शिक्षा मन्त्री गिरिराजमणि पोखरेल 'दौडाह टोली' पारामा विद्यार्थीले जाँच दिईरहेको कोठामा हुल बाँधेरै पुगे ।

शिक्षा मन्त्रालयले संघीय प्रदेश अनुसार १७ जना सह–सचिवको नेतृत्वमा छुट्टा छुट्टै समूह बनाएर जिल्ला जिल्ला पठायो ।

शिक्षा मन्त्रालय मातहतका निकाय हरेक जिल्लामा हुँदा पनि केन्द्रबाटै टोलि खटाउनु बेकारको तामझाम भएको भन्दै उक्त कामको आलोचना समेत भयो । शिक्षाविद् प्रा.डा. मनप्रसाद बाग्लेले फेसबुक मार्फत् कमेण्ट गरे 'अनुगमन परीक्षाको हैन, शिक्षण सिकाईको गरौँ ।'  तर परीक्षाको अनुगमनमा खटिएका कर्मचारीले जिल्ला शिक्षा कार्यालयमै रात्रीकालिन 'राम रमिता' गरेको खबरले पनि बजार तात्यो ।

विगत बर्षमा जस्तै यस बर्ष पनि परीक्षार्थी सँगै निरीक्षक निष्काशित भएका खबर सार्वजनिक भईरहे ।

शिक्षा मन्त्रालयले परीक्षाको अनुगमन भन्दा परीक्षा हुनु अगावै परीक्षाका बारेमा विद्यार्थी, अभिभावक, शिक्षक र स्वंयम परीक्षामा खटिने कर्मचारीलाई प्रशिक्षण दिन कोइरालाको सुझाव छ ।

अनुगमन गरी फर्केका सहसचिवको भिन्दा भिन्दै अनुभव छ ।

पाठ्यक्रम विकास केन्द्रका प्रमुख बाबुराम पौडेलले एक ठाउँमा निरीक्षकले नै चिट चोराएको फेला पारेको बताए । ‘परीक्षामा अमर्यादित काम रोकिएको छैन तर पहिलेको तुलनामा केही सुध्रेको चाहीँ छ' उनले भने, तर परीक्षा पद्धति भने उस्तै छ । परीक्षालाई मर्यादित र हाम्रो प्रवृत्तिमा जति सुधार गर्नुपर्ने हो । त्यो अझै भएको छैन ।’

समग्रमा उनको अनुभवमा एसएलसी ‘राम्रै’ भएको छ । पहिलेको जस्तो चिट चोराउनै  हुने अभिभावक र शिक्षकको भिडभाड पुरै घटेको उनी दावि गर्छन् । 'बाहिर पुरै शान्त छ । भित्र पनि परीक्षा मर्यादित नै भएको मैले पाएँ ।’ पौडेलले खोटाङ, सोलुखुम्बु र ओखलढुंगामा एसएलसी अनुगमन गरेका थिए ।

मन्त्रालयको अनुगमन महाशाखाका प्रमुख डा. डिल्लीराम रिमालको अनुभवमा पनि परीक्षालाई बुझ्ने धारणा र मानसिकतामा परितर्वन नआएको देखियो । ‘परीक्षालाई आफ्नो मुल्यांकन भन्दा पनि पास भए हुन्थ्यो भन्ने संकीर्ण सोच कायमै रहेछ ।’ उनी भन्छन् ।

संखुवासभा, तेह्रथुम, धनकुदा हुदै मोरङ पुगेका रिमालले फोनमा भने परीक्षालाई व्यवस्थित गर्न पहिला मानसिकता र अहिलेको गलत प्रवृत्तिलाई नै सुधार गर्नुपर्ने मैले पाएँ ।

पूर्व परीक्षा नियन्त्रक विष्णु बहादुर द्धारेको भनाई पनि समान छ । ‘पहिलेको तुलनामा केही सुधार भएको छ । तर चिट नचोरिकनै पनि पास हुन सकिन्छ भन्ने भावनालाई विद्यार्थीले पुरा रुपमा आत्मसात गर्न सकिरहेका छैनन् ।’

परीक्षा सुधारका लागी परीक्षामा सहभागी सबैले आफ्नो प्रवृत्ति सुधार्नुपर्नेमा उनको जोड छ ।

सुधार कसरी त ?

शिक्षाविद डा. कोइरालाकै भनाईमा परीक्षा सुधारका लागी तिन कुरामा ध्यान दिनुपर्छ ।

पहिलो परीक्षाका बेला अनुगमनलाई निकै कडा बनाउनुपर्छ ।

दोश्रो परीक्षा पुरानो तबरले नभई यसको स्वरुपमा परिवर्तन गर्नुपर्छ ।

तेश्रो निरन्तर मुल्यांकन प्रणाली अपनाउनु पर्छ ।

‘कसैले चिट चोरेको देख्ने वित्तिकै उसलाई निष्काशित गर्नुपर्छ । विद्यार्थीले चोरेर लेखेपनि नदेखेझै गर्ने निरीक्षकलाई पनि तत्कालै निष्काशित गर्नुपर्छ ।’ उनले भने ‘सिसी क्यामेरा जडान गरेर हुन्छ या त अरु नै, तर परीक्षालाई अलिकति पनि तलमाथी हुन दिनुहुदैन । यसका लागी शिक्षकले नै आवश्यक सबै कुराको जानकारी विद्यार्थीलाई दिनुपर्छ ।’

घोकेको भरमा तीन घण्टा लेखेर होइन किताब, कापी देखि चाहिने सबै कुरा विद्यार्थीकै अगाडी राखेर परीक्षा लिने पद्धतीको विकास गर्नु पर्ने उनको सुझाव छ । एक किसीमले मौखिक परीक्षा जस्तै प्रश्नपत्र दिने र तत्कालै उत्तर लेख्न लगाउने । नजानेको भए खोजेर लेख्न समेत लगाउने । उनले परीक्षाको रुवरुपमा गर्नु पर्ने सुधार बारे बताए ।

'यसो गर्दा विद्यार्थी परीक्षामा पास हुनका लागी मात्र होइन पछि सम्मका लागि पनि पढ्छ र त्यो पढ्ने बानीको विकास हुन्छ ।’ उनले भने ।

विद्यार्थीको परीक्षा भन्दा पनि निरन्तर मूल्याँकन विधिमा जान उनको सुझाव छ । दिनहुँ कक्षाकोठामा पढाउने र त्यही पढाएको कुरालाई विद्यार्थीले कति बुझ्यो, कति गर्यो अनि कति सिक्यो ? यी व्यवहारिक सिकाईका आधारमा मुल्यांकन गर्नुपर्ने उनी बताउँछन् ।

यसो गर्दा परीक्षाका नाममा र त्यसको अनुगमनका नाममा हुने अनावश्यक बजेट खर्च रोक्ने उनको भनाई छ । यो रकमलाई विद्यार्थीको सिकाइमा खर्च गर्न उनको सुझाव छ । 

‘कक्षा ७ सम्म पुगेको निरन्तर मुल्यांकन प्रणालीलाई अब एसएलसी हुँदै माथि सम्मै लैजानुपर्छ । किनभने विद्यार्थीले परीक्षामा के सिक्छ ? चिट चोर्न, ३ घण्टासम्म घोत्लिन, अलि अलि आएको कुरा लेख्न र बढीमा सिकेका कुरा कागजमा सार्न । यो बाहेक अब परीक्षार्थीले सिकेको कुरालाई व्यवहारमा उतार्न कक्षा कोठामै मुल्यांकनको विकल्प छैन ।’ कोइराला भन्छन् ।

प्रकाशित मिति २०७२ चैत्र २६ गते

प्रतिक्रिया