Edukhabar
विहीबार, १० असोज २०८१
अन्तैवाट

शिक्षा कार्यालयमा ‘मदिरा पार्टी’

बुधबार, २४ चैत्र २०७२

काठमाडौँ, २४ चैत्र । शिक्षक, विद्यार्थीलाई अनुशासनको पाठ पढाउन निर्देशन दिने जिल्ला शिक्षा कार्यालय बर्दियामा सोमबार राति मदिरासहितको भोज भएको छ। कार्यालयको सभाकक्षमा मंगलबार बिहानसम्म मदिराका बोतल र खानेकुरा असरल्ल थिए। 

जिल्ला शिक्षा अधिकारी जितबहादुर शाह र कर्मचारीले सभा कक्षमा मदिरासहितको भोज गरेका हुन् । सभाकक्षमा असरल्ल मदिराका बोतल, मासु पकाएका भाँडा मंगलबार बिहान सेवाग्राहीले असरल्ल अवस्थामा भेटाएपछि मदिरा भोज भएको पुष्टि भएको हो । कामका लागि कार्यालय पुगेका सेवाग्राहीले सभाकक्षमा रहेका मदिराका बोतल र मासु पकाएका भाँडालगायत सामग्रीको तस्बिर लिएका थिए ।

कार्यालयमै मदिरासहित भोज गरिनु निन्दनीय भएको एक शिक्षकले बताए । 'शिक्षा कार्यालय विद्याको मन्दिर हो,' उनले भने, ुयसलाई मदिरा भोज थलो बनाउने काम राम्रो होइन ।'कार्यालयको मूल ढोकाबाट पस्नेबित्तिकै सभाकक्षको ढोका पर्ने हुनाले दुर्गन्ध फैलिएको सेवाग्राहीले थाहा पाएका थिए ।

सभाकक्षमा मदिरा पार्टी भएको जिशिअ शाहले स्वीकार गरे । 'यहाँका एक कर्मचारीको बढुवा भएको थियो,' उनले नागरिकसँग भने, 'होटलमा जाँदा महँगो पर्ने र कार्यालयका कर्मचारी मात्र भएकाले सभाकक्ष प्रयोग गरेका हौं ।' स्थानीय सञ्चारकर्मी लक्ष्मण ढुगांनाले फेसबुक वालमा मदिरा पार्टीको तस्बिर सार्वजनिक गरेपछि त्यो दिनभर भाइरल बन्यो ।

हेलो सरकामा उजुरी

धनकुटाका नोदनाथ त्रितालले सरकारी कार्यालयको सभाकक्षमा मदिरा पार्टीको तस्बिर समावेश गरी हेलो सरकारमा उजुरी दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई सम्बोधन गरी उनले दोषीलाई कारबाही माग राखेर लिखित उजुरी दिएका हुन । उजुरीपत्रमा शिक्षा क्षेत्रमा भइरहेका विसंगतिले विद्यार्थीको भविष्य जोखिममा परेको उल्लेख छ ।

(नागरिक दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया