Edukhabar
मंगलबार, २७ कार्तिक २०८१
अन्तैवाट

एसएलसी परीक्षाको शिक्षा मन्त्रीद्वारा निरीक्षण

बुधबार, २४ चैत्र २०७२

काठमाडौँ, २४ चैत्र । जारी प्रवेशिका परीक्षा (एसएलसी) को शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले मंगलबार काभ्रेपलाञ्चोकमा निरीक्षण गरेका छन् ।  जिल्लाको नासिकास्थान गाविस साँगामा रहेको महेन्द्र उच्च माध्यमिक विद्यालयको परीक्षा केन्द्र र बनेपास्थित आजाद उच्च माध्यमिक विद्यालय परीक्षा केन्द्रमा उनले निरीक्षण गरेका हुन् । 

निरीक्षणपछि आयोजित अन्तक्र्रियामा मन्त्री पोखरेलले पहिलेदेखि आएका सुझावका आधारमा एसएलसीमा ग्रेडिङ प्रणाली सुरु भएको उल्लेख गरे ।  उनले शिक्षामा अधिकारवादी दृष्टिकोणबाट पुनर्गठन सुरु भएको उल्लेख गर्दै तीन वर्षभित्रमा सबै शैक्षिक संस्था पुनःनिर्माण गर्न रु ४५ अर्ब बजेट लागत लाग्ने बताए । 

भूकम्पप्रभावित १४ जिल्लामा सबैभन्दा बढी पुनःनिर्माणको काम हुनुपर्ने तर सबैभन्दा कम काम भएको छ उनले भने । मन्त्री पोखरेलले शैक्षिक संस्था पुनःनिर्माणको लागि ११ जिल्लामा सर्वे भएको र अन्य जिल्लामा पनि छिट्टै काम सुरु हुने जानकारी दिए । 

काभ्रेपलाञ्चोकका जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले जिल्लामा २०४२ सालदेखि दरबन्दी मिलान हुन नसकेको उल्लेख गर्दै शिक्षाले प्राथमिकता नपाएको बताए ।  सो अवसरमा जिल्ला शिक्षा कार्यालय, धुलिखेलका अधिकृत प्रकाशचन्द्र ढुङ्गेलले एसएलसी परीक्षाको बारेमा जानकारी गराएका थिए ।

रासस 

 

प्रतिक्रिया