काठमाडौँ, २४ चैत्र । नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको सोमबार यहाँ सम्पन्न दोस्रो पूर्ण बैठकले विभिन्न विश्वविद्यालयमा करार सेवामा कार्यरत प्राध्यापकलाई स्थायी गर्ने लगायत दशबुँदे माग सार्वजनिक गरेको छ ।
बैठक सम्पन्न भएलगत्तै साँझ अबेर गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष प्रा डा यादवप्रकाश लामिछानेले विश्वविद्यालयमा कार्यरत प्राध्यापकहरुको तलब सुविधा वृद्धि गर्न र नेपाल पब्लिक विश्वविद्यालय स्थापनाका लागि तत्काल पहल सुरु गर्न सरकारसमक्ष माग गरे ।
त्यस्तै विश्वविद्यालयमा रिक्त हुने आवधिक पदमा योग्य प्राध्यापकलाई नियुक्त गरी प्राध्यापकहरुको ऊर्जाशील प्राज्ञिक क्षमताको उपयोग गर्न सम्बन्धित निकायसँग आग्रह गरिनाका साथै पब्लिक क्याम्पसमा प्राध्यापनरत प्राध्यापकको सेवा, सुरक्षा र स्तर निर्धारणका लागि नीति बनाउन माग गरिएको छ ।
विभिन्न अन्तर्राष्ट्रिय समुदायले नेपालको संविधानप्रति अनावश्यक वक्तव्य जारी गरिरहेकामा निन्दा गर्दै वक्तव्यबाजी नदोहो¥याउन सङ्गठनले अनुरोध गरेको छ ।
रासस
प्रतिक्रिया