Edukhabar
विहीबार, १० असोज २०८१
अन्तैवाट

सार्वजनिक शिक्षामा लगानी बढाउन आग्रह

बुधबार, २४ चैत्र २०७२

काठमाडौँ, २४ चैत्र । माविसम्म निःशुल्क र अनिवार्य शिक्षाका लागि राज्यले लगानी गर्नुपर्ने र सो तहमा शिक्षालाई व्यापारको विषय बनाउन नहुनेमा जोड दिइएको छ । 

सार्वजनिक शिक्षामा लगानी वृद्धि र सदुपयोगका लागि नागरिक क्षेत्रको भूमिकाको खोजनिम्ति ‘शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ)’ नेपालको आयोजना तथा सदस्य संस्था एक्सनएड नेपाल र भोलुन्टर सर्भिस ओभरसिज (भिएसओ) को सहकार्यमा मंगलबार सुरु भएको कार्यशालामा सार्वजनिक शिक्षाको सुधारका लागि कुल बजेटको कम्तीमा २० प्रतिशत बजेट विनियोजन हुनुपर्ने माग गरे । 

सबै बालबालिकाले समान र समतामूलक शिक्षा पाउनुपर्ने विषयमा डेढ दशकदेखि वकालत गर्दै आएको एनसिइ नेपालका १९ जिल्ला सञ्जालका प्रतिनिधि र एक्सनएड नेपालका विभिन्न साझेदार संस्थाका प्रतिनिधि सहभागी कार्यशालामा शिक्षामा स्थानीय स्रोतसाधनको प्रयोगबारे पनि छलफल हुनेछ । सो सञ्जालमा हाल शिक्षा क्षेत्रमा कार्यरत २८६ संस्था आबद्ध छन् । 

कार्यशालामा एक्सनएड नेपालका देशीय निर्देशक विमल फुयाँल र एनसिइ नेपालका अध्यक्ष राजकुमार गन्धर्वले सार्वजानिक विद्यालयमा गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि स्थानीय साधन स्रोतको परिचालनको माध्यमबाट शिक्षामा वित्त सुनिश्चिततामा वकालतका लागि कार्यशालाले दिशानिर्देश गर्ने बताए । 

एनसिइ नेपालका सल्लाहकार तथा शिक्षक नेता बाबुराम अधिकारीले बजेट वृद्धिको वकालतका लागि निरन्तर लाग्नुपर्ने बताए । कार्यशालामा ‘आधारभूत र प्रौढ शिक्षाका लागि एसिया दक्षिण प्रशान्त सङ्गठन (आस्प्बे) का क्षमता अभिवद्धि संयोजक थियो सिरियानो तथा नीतिगत विश्लेषक रेने राय र एक्सनएड इन्टरनेसनलका नीतिगत व्यवस्थापक तन्बिर मुस्तासिमले शिक्षाका दिगो विकास लक्ष्य, स्थानीय स्रोत परिचालन, न्यायोचित कर र शिक्षामा वित्तीय व्यवस्थापन र असल अभ्यासका अन्तर्राष्ट्रिय अनुभवबारे प्रस्तुति दिनुहुनेछ ।  

यस्तै नेपालको संविधानमा शिक्षामा मौलिक हक, प्रस्तावित शिक्षा ऐन संशोधन विधेयक र विद्यालय क्षेत्र विकास कार्यक्रमबारे एक्सनएड नेपालका शिक्षा तथा युवा सवाल संयोजक शुभेन्द्रमान श्रेष्ठ तथा शिक्षामा निजीकरण र यसका असरबारे एनसिइ नेपालका कार्यक्रम व्यवस्थापक राम गैरेले प्रस्तुति गरेका छन् । 

सार्वजानिक विद्यालयमा गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि स्थानीय साधन स्रोतको परिचालनको माध्यमबाट शिक्षामा वित्त सुनिश्चितताका लागि यही अप्रिलको दोस्रो साता नेपालमा पनि मनाइने शिक्षाका लागि विश्वव्यापी अभियान (कार्यसप्ताह) को कार्ययोजना बारेमा पनि कार्यशालामा छलफल हुने एनसिइ नेपालका महासचिव प्रकाश सिलवालले जानकारी दिए ।

रासस 

 

प्रतिक्रिया