Edukhabar
विहीबार, १० असोज २०८१
अन्तैवाट

कालोबजारी अन्त्य गर्न विद्यार्थीको माग

बुधबार, २४ चैत्र २०७२

काठमाडौँ, २४ चैत्र । पेट्रोलियम पदार्थमा भएको कालोबजारीको विरोध गर्दै भक्तपुरमा मंगलबार विभिन्न विद्यार्थी सङ्गठनले पदयात्रा गरेका छन् ।  अनेरास्ववियु, नेविसङ्घ र नेक्राविसङ्घले संयुक्त रुपमा पदयात्रा गर्दै जिल्ला प्रशासन कार्यालयमा धर्नासमेत दिए ।  

विद्यार्थी सङ्गठनले प्रजिअ तेजप्रसाद पौडेललाई बजार अनुगमन प्रभावकारी गर्न र कालोबजारी अन्त्य गरी सर्वसाधारणको जनजीवन सहज बनाउनका लागि पहल गर्न माग गर्दै ज्ञापनपत्र बुझाए । 

ज्ञापनपत्र बुझ्दै पौडेलले बजारमा कालोबजारी र भ्रष्टाचारीलाई अन्त्य गर्न आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।  नेपाल सरकारको सम्बन्धित निकायले समेत उदासीनता देखाउँदा कालोबजारी गर्नेलाई फाइदा पुगेको र जनता मर्कामा परेको अनेरास्ववियुका संयोजक जयराम बाँस्तोलाले बताए ।  

बजार अनुगमन र कालोबजारी नियन्त्रणमा सरकारी निकायले आवश्यक कदम नचालेमा कडा आन्दोलन गरिने चेतावनी नेविसङ्घका उद्धव खड्काले बताए ।  दैनिक रुपमा पाँच लाख किलोलिटर पेट्रोलियम पदार्थ आयात हुँदा समेत जनताले सहज तरिकाले पाउन नसक्ने अवस्थाको अन्त्य गर्न सरकारले कडाइ गर्नुपर्नेमा नेक्राविसङ्घका रमेश प्रजापतिले जोड दिए ।  

रासस 

 

प्रतिक्रिया