Edukhabar
विहीबार, १० असोज २०८१
अन्तैवाट

मध्यपश्चिम विश्वविद्यालयमा फेरि तालाबन्दी

बुधबार, २४ चैत्र २०७२

काठमाडौँ, २४ चैत्र । मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्थापनासँगै सुरु भएको आन्दोलनको शृङ्खला केही महिनासम्म रोकिए पनि पुनः दोहोरिएको छ ।  सोमबार सबै प्राध्यापक मिलेर उपकुलपति र रजिस्ट्रारको कार्यकक्षमा तालाबन्दी गरेपछि आन्दोलनको शृङ्खला पुनः दोहोरिएको हो । प्राध्यापक तथा विद्यार्थीले आ–आफ्ना माग राखेर सङ्घर्षका कार्यक्रम सार्वजनिकसमेत गरेका छन् ।  

विश्वविद्यालयले यही चैत १९ गते कर्मचारी तथा प्राध्यापकको करारमा लिने विज्ञापन सार्वजनिक गरेपछि प्राध्यापक तथा विद्यार्थी सङ्गठनले आन्दोलन थालेका हुन् । उनीहरुले अविलम्ब सो विज्ञापन रोक्न माग गर्दै सेवा आयोगबाट प्रक्रिया थाल्न सुझाव दिएका छन् ।  

नेपाल प्राध्यापक सङ्घ मध्यपश्चिमाञ्चल विश्वविद्यालयले उक्त विज्ञापन तत्काल स्थगित गरी सेवा आयोगमार्फत स्थायित्व र पदोन्नतिको प्रक्रिया थाल्न माग गरेको छ । सङ्घका कावा सभापति अम्मरबहादुर रोकायले विश्वविद्यालयमा कार्यरत सम्पूर्ण प्राध्यापक तथा कर्मचारीको भेला बसेर विज्ञान स्थगित गर्न माग गरे । 

प्राध्यापकको सङ्घर्षसँगै आठ विद्यार्थी सङ्गठनले पनि विश्वविद्यालय मनोमानी रुपमा अगाडि बढिरहेको भन्दै छबुँदे ज्ञापनपत्रसहित चारदिने अल्टिमेटम दिएको छ ।   यस्तै गत माघ २ गतेदेखि विश्वविद्यालयका रजिस्ट्रारको पदावधि सकिएको र केही डिनको पनि पदावधि समाप्त भएकाले पूर्ति गर्न नसकेकाले तत्काल पदपूर्ति गर्नुपर्ने, स्ववियुको निर्वाचनको मिति अविलम्ब घोषणा गर्नुपर्ने नेवि सङ्घ मध्यपश्चिमाञ्चल विश्वविद्यालयका अध्यक्ष झक्कबहादुर शाहीले बताए । 

रासस 

 

प्रतिक्रिया