Edukhabar
विहीबार, १० असोज २०८१
खबर/फिचर

स्कुल पनि 'मर्जर'मा

मंगलबार, २३ चैत्र २०७२

काठमाडौं - तीनवटा निजी विद्यालय मर्ज भएका छन् । सूर्योदय आवासीय माध्यमिक विद्यालय, आनन्दभूमि हाई स्कुल र ब्ल्यू स्काई पब्लिक स्कुल मर्ज भएर सूर्योदय एजुकेशन फाउण्डेसन अन्तर्गत एस.ए.बि. पब्लिक स्कुलको घोषणा गरिएको हो । तीनवटै विद्यालयको नामको पहिलो अक्षरबाट नयाँ नाम चयन गरिएको छ ।

मैतीदेवी घट्टेकुलो आसपासको ५ सय मिटर वरीपरी रहेका विद्यालय मध्ये सूर्योदय निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीको विद्यालय हो । यस्तै आनन्दभूमिका सञ्चालक प्याब्सनका पूर्व अध्यक्ष  भोज बहादुर शाह हुन् भने ब्ल्यू स्काईका सञ्चालक प्रेम वली हुन् । सूर्योदय ३१ वर्ष अघि स्थापना भएको हो भने आनन्दभूमि २९ वर्ष र ब्ल्यू स्काई १९ वर्ष अघि स्थापना भएका विद्यालय हुन् ।

मर्ज भएपछि केसी प्रमुख कार्यकारी अध्यक्ष भएका छन् भने शाह र वली निर्देशक रहेका छन् । उनीहरुले अमेरिकी नागरिक मार्क विबर्सलाई प्रिन्सिपल बनाएका छन् । उनी विश्वभाषा क्याम्पसमा अँग्रेजी मातृभाषा नभएकाहरुलाई अँग्रेजी पढाउँथे ।

बर्खे च्याउ उम्रे सरी निजी विद्यालयहरु खुलेको तथा एकै क्षेत्रमा धेरै विद्यालयहरु भएको भन्दै निजी विद्यालयहरुले आलोचना खेपिरहेका थिए । यो मर्जर प्रकृयाले गुणस्तरीय शिक्षा प्रदान गर्न सघाउ पुग्ने अपेक्षा गरेको केसीले बताए ।

'नेपालमा गुणस्तरीय शिक्षा प्रदान गर्न यहीँ सञ्चालित संस्थाहरु सक्षम छन् भन्ने शन्देश दिन पनि हामीले मर्ज गरेका हौं' उनले भने, '१५ करोड पूजिँमा विद्यालयको आफ्नै भवन बनाउने योजना साथ शेयर बाँडफाँड गरेका छौं ।'

सुविधा सम्पन्न भवनको निर्माण सक्न एक बर्ष लाग्ने उनले बताए । हाल सूर्योदय विद्यालय रहेको भवनमा प्राइमरी ब्लक र आनन्दभूमि विद्यालय रहेको भवनमा सेकण्डरी ब्लक राखिने भएको छ । भवन निर्माण सम्पन्न भएसँगै सम्पूर्ण कक्षा तथा प्रशासनिक एकाइहरू सूर्योदय ब्लकबाटै सञ्चालन गरिने केसीले बताए ।

मर्ज संगै विश्व बजारको माग अनुसारको दक्ष जनशक्ति उत्पादन तथा समयानुकूल शिक्षण पद्धति विकास गर्ने लक्ष्य रहेको उनको भनाई छ । सुविधा सम्पन्न भौतिक पूर्वाधार, विज्ञान एवम् कम्प्युटर प्रयोगशाला, इ–लाइब्रेरी, डिजिटल कक्षा कोठा निर्माण गरी पठन पाठन गर्ने उनले बताए ।

प्रकाशित मिति २०७२ चैत २३ गते

प्रतिक्रिया