Edukhabar
विहीबार, १० असोज २०८१
विचार / विमर्श

विद्यार्थी भर्ना, अभिभावक ज्यादति : भविष्यको हत्या र असक्षम नेतृत्व

मंगलबार, २३ चैत्र २०७२

- ईश्वरीप्रसाद पोखरेल

शिक्षा तथा समाज :

आधारभूत आवश्यकताहरु मध्ये शिक्षा पहिलो तत्व हो । अहिलेको शिक्षा पेट पाल्न र धोकाधडी गर्न मात्र सफल छ भनिन्छ । विद्याको गहन अर्थ विद्यमानमा हराएको छ । शिक्षा क्षेत्रमा उच्च नैतिकता तथा आदर्श पुरुषका जीवनका अनुकरणीय पाटाहरु धमिल्लिएका मात्र होइनन् क्रमशः हराउँदै तथा विलिन हुँदै जाँदा हिजोका शिक्षित व्यक्तिहरु ( अमृतलाल, कुलरत्न तुलाधर, शंकरदेव, देवीप्रसाद उप्रेती, रणबहादुर शाह, रामसागर, सप्तरीका साह जस्ता देशभरका शिक्षाप्रेमी) प्रति समाजको जुन सकारात्मक सोच र नतमस्तकता थियो त्यो आजको समाजमा छैन भन्दा अत्यन्त दुःख लाग्छ । तर सत्य पनि त यही हो । आजका शिक्षित भनिएका व्यक्तिहरुको कार्यशैली, व्यापार आचरण र स्वार्थका लागि जे पनि गर्ने निकृष्ट चरित्रका कारण शिक्षितमा गरिदैं आएको आस्था र विश्वासमा चोट पुगेको छ । यस्ता जग्गा दलालझैँ शिक्षामा पनि दलाली र बौद्धिक कम विज्ञापन र लुटतन्त्र उच्च हुँदा क्रमशः शिक्षित प्रति प्रश्न उठाउने, कमीकमजोरीहरु देखाएर अस्वीकार गर्ने पद्धति बढेको छ ।

शिक्षा किनबेचको साधन हुँदा तथा महँगो शिक्षा मात्र गुणात्मक हुन्छ भन्ने भ्रमले समाजमा जरा गाड्दा शिक्षित हुनुको अर्थ चलाउनै नसक्ने महँगो प्राणी हो मानिस भन्ने सावित भएको छ । समाजमा विना धनराशी लगानीको शिक्षा गुणात्मक हुँदैन भन्ने मान्यता स्थापित भएको छ भने राजनीतिक दलहरुले समाजको मनोभावना विपरीत उच्च माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुनुपर्छ भन्ने सिद्धान्तलाई संविधानमा समावेश गरेको र उल्टो बाटोमा हिड्ने मानसिकता नेपालमा विकास हुँदै गएको अनुभूत हुन्छ । समाजमा शिक्षित मानिस सम्मानित नहुने वातावरण तयार हुनु भनेको सैद्धान्तिक र प्राविधिक दुवै पक्षमा राज्य, समाज र सचेत वा वौद्धिक नागरिक आफँैका लागि समेत महत्वपूर्ण चुनौति हो । शिक्षितले यी त्रुटी सच्याउन आ आफ्ना क्षेत्रबाट राज्य, समाज र आफू समेतलाई मार्ग निर्देशन गर्न सक्नु पर्दछ । सानातिना स्वार्थ र लेनदेनमा रमाउने कथित बौद्धिक वेश्यावृत्ति नै नेपाली शिक्षाको मूल समस्या हो भन्दा अत्युक्ति नहोला ।

शिक्षा नागरिक चेनता वा यान्त्रिकरण ? :

सिकाइमा हाम्रो अभ्यास अनौठो छ, बालबालिका स्कुलमा आएको पहिलो दिनमा नै कखरा, एबिसिडी भन्न सकूुन् र एक दुई तिनको भाका हाल्न जानून् भन्ने अपेक्षा प्रायः सबै अभिभावक राख्दछन् र विद्यालय त्यही लक्ष पुरा गराउने सपना बाँडेर आकर्षक विज्ञापन गर्न विवश पाइन्छन् । कक्षाकोठामा सिकाइ शैली र प्रारम्भिक कक्षामा नै क,ख,रा सिकाइको अभ्यासले बालबालिकालाई पर्याप्त आकर्षण गर्न नसकेको देखिन्छ । तर स्कुलमा प्रवेश गरेपछि बालबालिकाले जाने वा नजानेर भनेको सिक्नै पर्दछ भन्ने डेढ अक्कली मान्यता बनेको छ । यसले गर्दा बच्चाहरुमा मौलिकता, सिर्जनशिलता र सामाजिक सिकाइका असल अभ्यासहरु गुमेको पाइन्छ । परम्परागत सिप, पेसा र सामाजिक अभ्यासबाट अबोध बालबालिकाहरु अलग हुँदै जान्छन् । अबोध ती बच्चाहरु पारिवारिक तथा समाजको अस्वच्छ प्रतिस्पर्धामा जनुसकै हिसावबाट दवाव झेल्न बाध्य पारिन्छन् ।

शिक्षा घोकेर सिद्धान्त जानिन्छ । घोकेको कुरालाई व्यवहारमा उतार्न नयाँ नयाँ सिप, अभ्यास र प्रयोगमा जोड दिने शिक्षण पद्धति, सिकाउने थलो, शिक्षक र सिकारुको संयोजन गराउने काम शैक्षिक प्रशासनको हो भन्ने कुरा बिर्सियौँ । शिक्षाको मूलधर्म स्थानीय पेसा, सिप र आवश्यकतालाई टेवा पु¥याउने र समाजलाई आत्मनिर्भर तुल्याउने व्यवसायिक शिक्षाको व्यवस्था गर्नु हो भन्ने देश प्रेमको भावमा हामी चुकेकै हौँ भन्दा आत्मग्लानी र पछुतो बाहेक अरु केही बाँकी रहन्न ।

शिक्षा जग, व्यापारिक अभ्यास, राज्यको निरीहता, अभिभावक ज्यादति वा अपराध :

आधुनिक शिक्षाको रट लगाउँदै विभिन्न मण्टेश्वरी, किण्डरगार्टेन, चाइल्ड एडुकेसन प्ले प्यालेस तथा चाइल्ड होराईजन फ्युचर सेन्टर जस्ता अनेकौँ नामधारी स्थानहरुमा बालबालिका थुपारिन्छन् । त्यहाँ अभिभावकको बेफुर्सदिलो अवस्थालाई सहयोग पुराउने र असल अभिभावकत्वको आडमा ठूलो धनराशी लिएर अबोध बच्चाहरुलाई प्रत्यक्ष रुपमा जीवन धान्ने शिक्षाका आधारभूत पक्षहरु सिकाइ हुन्छ भनिन्छ ।

पक्कै पनि विद्यालयमा जस्तो घोकाएर कखरा वा एविसिडी तथा अँक सिकाउन यी केन्द्रहरुको भौतिक, शैक्षिक वातावरणले अवश्य बाध्य पार्दैनन् होला । तर यी केन्द्रहरु सञ्चालन, सिकाइ वातावरण र निकालिने नतिजाहरु पूर्ण त्रुटीरहित र सर्वाङ्ग सिकाइ स्थल मान्न सकिने अवस्थाका छन् वा छैनन् ? मापनका आधार के हुन् ? प्रश्न अनुत्तरित छन् ।

शिक्षा व्यापारमा बिहान ७ बजे बस चढेको बच्चा साँझ ७ बजे घरका आफन्त सदस्यसँग भेट हुनुलाई आश्चर्य नमानिएको देखिन्छ । हाम्रो आधुनिक सभ्य समाजमा शिक्षाका नाममा यस्तै विकृतजन्य व्यापारिक कार्य भइरहेछ । जाँड बेच्नेले समेत लेनदेनमा तलमाथि नगर्ने नैतिकता राख्दछ तर शिक्षाको लेनदेन र शुल्कको कथा कहाली लाग्दो सुनिन्छ । राज्य सामुदायिक तथा संस्थागत विद्यालय सेवाक्षेत्र निर्धारण गर्न र के कति विद्यालय कुन क्षेत्रमा आवश्यक पर्ने हुन वैज्ञानिक नक्साङ्कन गर्न र धेरैलाई हटाउन र कम पर्ने ठाउँमा थप गर्न नसक्ने लाचार र निरीह देखिन्छ ।

अहिलेको अवस्थामा गुणस्तरीय शिक्षाका नाममा कलिला बच्चाहरुलाई बसमा चढाएर १० औं किमी ओहोर दोहोर गर्ने र दौडाउने छुट राज्यले दिएको छ । सबैको देखासिकी र अभिभावकको सान र मानका लागि रुचि भए पनि नभए पनि बच्चाले सहर वा गाउँ छाडेर आफ्ना मान्यजन र हजुर बा वा आमासित अलग्गिनु परेको मात्र होइन बालपन र जीवन नै कृत्रिम तथा निरस स्कुलमा सुम्पिनु ठूलो बुद्धिमानी ठानिएको छ । देशभरका सामुदायिक विद्यालयमा  कतै शिक्षकको थुप्रो छ तर विद्यार्थी छैनन् कतै विद्यार्थी धेरै छन् तर शिक्षक छैनन् । यस्तो अवस्थामा पनि दरवन्दी मिलान नगर्ने, तह अनुसार बढी भएका शिक्षक दरबन्दीलाई कम भएका तहमा रुपान्तरण नगर्ने राजनीतिक र प्रशासनिक नेतृत्वलाई दवाव नदिई राज्यको सम्पत्ति दुरुपयोगमा साथ दिने जनता पनि दोषी हुन् ।

सार्वजनिक सम्पत्तिको हत्या गरी निजीमा भविष्य देख्दै आफ्नै समाज र क्षेत्रको विद्यालयलाई अविश्वास गरी १० औं किमी बसमा कुदाउने अभिभावकको सन्तान माथिको ज्यादति अक्षम्य अरपराध झैँ लाग्दछ । यही अभ्यासमा गालेर, चास्नीमा डुबाएर बच्चा र अभिभावकहरुलाई आफूतिर आकर्षित गर्ने संस्थागत निजी विद्यालयको चालबाजीलाई दानापानी खाएर पोस्ने वा टुलुूटुलू हेर्ने सरकारी लाचारीपनले आधारभूत शिक्षा निःशुृल्क र अनिवार्य भन्ने संघीय गणतान्त्रिक संविधानको जनताप्रतिको प्रतिवद्धतालाई कसरी पूरा गर्न सहयोग पुग्ला ? शिक्षा विश्लेषकका चिन्ताका विषय रहेका छन् ।

शिक्षा व्यवस्थापन नागरिक, समाज तथा राज्यका दायित्व :

समग्र अभिभावक, समाजसेवी, शिक्षाविद्, शैक्षिक प्रशासक तथा राजनीतिक अगुवाहरुले राम्रो जानकारी राखी भोलिका सन्ततिप्रति संवेदनशील हुनै पर्दछ । यी पक्षमा राजनीतिक तथा प्रशासनिक नेतृत्वको ध्यान नपुग्दा देशको विकास र समृद्धिमा बाल मानसिकताले उच्च स्थान पाउँदैन भन्न सकिन्छ । यो पक्ष नै विद्यमान शिक्षा पद्धतिमा देखिएको ठूलो त्रुटी हो । राष्ट्रको शिक्षा क्षेत्रमा विश्लेषणात्मक ध्यान नपुगेको र जनता प्रतिको जवाफदेहिता कमजोर रहेको अनुभव हुन्छ । विगतमा सिद्धान्त घोकेर व्यवहारमा सही रुपमा उतार्ने व्यक्ति मात्र उत्कष्ट प्रतिभा हुन्छ कहिल्यै भनेनछौँ । सिद्धान्तमा कमजोर हुँदैमा मानिस निकृष्ट हुँदैन भन्ने मान्यता पनि स्थापित गरेनछौँ । शिक्षाको ज्ञानको सिद्धान्त र समाजमा व्यक्तिबाट गरिने व्यवहारलाई परीक्षा पद्धति र मापनमा जोडी पुरस्कृत र सुधार गर्न सकेन छौँ । शैक्षिक व्यवस्थापनको असफलताको परिणाम देश पछाडि परेको देखिन्छ ।

राज्यले शिक्षा क्षेत्रमा जति ठूलो धनराशी खर्चिए पनि आम जनताले न्यायको अनुभूति र असल अभिभावकत्वको विश्वास राज्यलाई गर्न सकेका छैनन् । आधारभूत श्रम सिप, प्राविधिक क्षमता र श्रम कानुन वा तत् देशको सांस्कृतिक, आर्थिक, भौतिक र सामाजिक जीवनको पर्याप्त ज्ञान मुख्य कुरा रहेछ । तर नेपालबाट मानव तस्करी गरिए झैँ गरी दिनहुँ आफ्ना प्राण प्यारा आफन्तहरुलाई सयौँका संख्यामा युवायुवती विदेश पठाउन बाध्य छन् ।

विदेशमा पुगेका वा निर्यात गरिएका आफन्त माथि पशुजन्य हिँसा, यौन बलात्कार र हत्याका घटना दिनहुँ समाचारमा सुनिरहेका छन् वा पोकोमा आएका लास बुझिरहेछन् । तापनि हामी हृदयविहीन लोभी, पापी र भ्रष्ट मानसिकताका प्रशासक, राजनीतिक नेतृत्व तथा शिक्षाविद वा योजनाकर्ताहरु पूर्ण रुपमा सुध्रिएर शिक्षालाई बोली खानेबाट गरी खाने, ठगी खानेबाट सामाजिक दायित्वको विकास गर्ने र प्रत्येक नागरिकलाई आत्मनिर्भर तुल्याउने कृषि, पशुपालन, देशको विकास निर्माणमा सहभागी बनाउने सोचमा जान नसक्नुले यो नेपाल नामको देशको समुन्नतिको आशा कहाँ, को र कुन शक्तिबाट निकाल्ने वा गर्ने भन्ने ? प्रश्नको उचित उत्तर तमाम नेपालीले आफैंमा खोजौँ ।

पोखरेल, शैक्षिक जनशक्ति विकास केन्द्र, सानोठिमीका उपनिर्देशक हुन् ।

प्रकाशित मिति २०७२ चैत्र २३

प्रतिक्रिया