काठमाडौँ, २३ चैत्र । त्रिभुवन विश्वविद्यालयले आगामी १० बर्षसम्म काठमाडौँ उपत्यकामा थप मेडिकल र इन्जिनियरिङ कलेजलाई सम्बन्धन नदिने भएको छ । उपत्यकामा सञ्चालित यस्ता कलेज सेवाभन्दा नाफा मात्र कमाउने उद्धेश्यले प्रेरिरत देखिएपछि त्रिविले नीति नै बनाएर सम्बन्धन रोक्ने तयारी अघि बढाएको हो ।
छलफल चरणमा रहेको त्रिभुवन विश्वविद्यालय सम्बन्धनसम्बन्धि नीति मस्यौदा प्रतिवेदन २०७२ मा यी दुबै विषयका कलेजलाई १० बर्षसम्म काठमाडौँ, ललितपुर र भक्तपुरमा सम्बन्धन नदिन प्रस्ताव छ ।
उपत्यकाका मेडिकल कलेज र इन्जिनियरिङ कलेज सेवाभन्दा नाफा कमाउने मनसायले सञ्चालित देखिएकाले १० बर्षसम्म नयाँलाई सम्बन्धन रोक लगाउने गरी नीति बनाइएको त्रिविका योजना महाशाखा प्रमुख हृदिशकुमार पोखरेलले बताए । अहिले उपत्यकामा ३ मेडिकल कलेज र १० वटा इन्जिनियरिङ कलेज छन् ।
(नागरिक दैनिकमा प्रकाशित)
प्रतिक्रिया