Edukhabar
विहीबार, १० असोज २०८१
अन्तैवाट

एमबीबीएस पढ्न विदेश पठाउने भन्दै ठगी

आइतबार, २१ चैत्र २०७२

काठमाडौँ, २१ चैत्र । महोत्तरी गौशालाका शशिमान श्रेष्ठ भक्तपुरको ख्वप कलेजबाट विज्ञान समूहबाट १२ कक्षा सकाएर एमबीबीएस अध्ययन गर्न विदेश जाने तयारी गर्दै थिए । राजधानीको सेतु सर्भिसेजका सञ्चालक समीर झासँग विदेशमा एमबीबीएस शिक्षाबारे जानकारी लिए । शशिमानले बुबा कृष्णबहादुरलाई पनि योजना सुनाए । बाबुछोरा नै समीरको बागबजारस्थित कार्यालयमा गएर बुझे । बंगलादेश वा माल्दिभ्स कहाँ पठाउने रु रोज्न लगाइयो । 

शशिमानले माल्दिभ्स रोजे । प्रक्रिया सुरु गर्न १० लाख रुपैयाँ पनि दिए । त्यसको दुई महिनापछि समीरले विदेशमा पढ्ने पैसाले स्वदेशमै पढ्न पुग्ने आश्वासन दिए । उनीहरूले पत्याए । काठमाडौं विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा सहभागी भए । ‘परीक्षामा हाजिर मात्रै गराए पुग्छ, उत्तर लेख्नु पनि पर्दैन । शिक्षा मन्त्रालयसँग मिलाइसकेका छौं । औपचारिकता मात्रै पुर्‍याउने हो भन्यो । छात्रवृत्ति पाइहालिन्छ भनेर ढुक्क हुनुस् भन्यो,’ कृष्णबहादुर श्रेष्ठले भने, ‘मन्त्रालयको छात्रवृत्ति शाखाको लेटरप्याडमा समीरले छात्रवृत्तिमा छनोट भएको पत्रसमेत हामीलाई दिए ।’  

मन्त्रालयले गत कात्तिक २३ मा काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पताल सिनामंगललाई छात्रवृत्तिमा पढाइदिन भन्दै लेखेको पत्र समीरले उनीहरूलाई थमाए । त्यसपछि थप साढे १८ लाख रुपैयाँ लिए । छात्रवृत्तिमा अध्ययन गर्न मेरिट लिस्टमा परेको हुनुपर्ने व्यवस्था भएको श्रेष्ठ परिवारले समीरलाई सुनाए ।

‘हामीले कोटा लिएको हुन्छ । क्याम्पस चल्न थालेपछि मिलाएर पठाइदिन्छु भन्यो । मन्त्रालयको कागज पनि ल्याइदियो,’ कृष्णले भने, ‘छात्रवृत्ति पाएको हो भने वेबसाइटमा छोराको नाम किन नभएको भनेर सोध्यौं । मन्त्रालयमा मिलाएका हुन्छौं । वेबसाइटमा नभए पनि केही फरक पर्दैन भनेर हामीलाई झुक्याइयो ।’ मन्त्रालयको पत्रको सही हो कि होइन भन्ने बुझ्न केशरमहलस्थित छात्रवृत्ति शाखामा पुगेपछि मात्रै आफू ठगिएको उनले थाहा पाए । अनि समीरलाई कारबाही गर्न प्रहरीलाई गुहारे ।  

त्यस्तै सशस्त्र प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक बेचन यादव पनि छोरालाई एमबीबीएस अध्ययन गराउन विदेश पठाउने क्रममा ठगिएका छन् । उनले छोरालाई ढाकामा सार्क छात्रवृत्तिमा एमबीबीएसमा भर्नाका लागि ०७१ भदौ १० मा बागबजारको ग्लोबल एजुकेसन काउन्सेलिङ सेन्टरका सञ्चालकलाई २२ लाख दिए पनि सर्तअनुसार कलेज नभएपछि ठगिएको भन्दै प्रहरीमा उजुरी दिएका छन् । 

एजुकेसन कन्सल्टेन्सीको नाममा गल्लीगल्लीमा खुलेको संस्थाले विदेशमा पढ्न पठाउने नाममा विद्यार्थीलाई ठगिरहेको पीडितहरू बताउँछन् । शैक्षिक परामर्श दिने नाममा कन्सल्टेन्सीको बोर्ड राखेर वैदेशिक रोजगारीमा पठाउने गरेको अपराध अनुसन्धान महाशाखाको अनुसन्धानबाट खुलेको हो । महाशाखाले कन्सल्टेन्सीमा छापा मार्दा ठगी गरेको पाइएपछि सञ्चालकहरूलाई नियन्त्रणमा लिन थालेको छ । ‘कन्सल्टेन्सीले सरकारी छाप किर्ते गरेर कागज तयार गर्ने र सर्वसाधारणसँग ठगी गर्ने क्रम रोकिएको छैन,’ महाशाखाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले भने । 

कन्सल्टेन्सीले सरकारी कागजातसमेत नक्कली बनाएर ठगी गर्ने गरेको पाइएको छ । यसको पुष्टि शशिमानलाई दिएको पत्रले हुन्छ । माल्दिभ्स पठाउन नसकेपछि शिक्षा मन्त्रालयको नक्कलीपत्रमा ‘मन्त्रालयबाट लिएको छात्रवृत्ति परीक्षामा सहभागी भई उत्तीर्ण भएकाले प्रक्रिया मिलाएर भर्ना लिन’ भन्दै केएमसी कलेजलाई पत्रमा आग्रह गरिएको छ । पत्रमा उपसचिव मदनराज कोइरालाको हस्ताक्षर छ । मन्त्रालयमा यो नामको उपसचिव नै छैनन् । प्रहरीले उक्त पत्रको आधिकारिकताका बारेमा मन्त्रालयलाई पत्राचार गरेको थियो । मन्त्रालये उक्त पत्र नक्कली भएको जवाफ पठाइसकेको छ । यो घटनामा संलग्न भएको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिए पनि सञ्चालकहरू अझै फरार छन् ।  

‘ठगी गरेको रकम पनि पाएको छैन,’ कृष्णबहादुरले भने, ‘छोराको भविष्य पनि बर्बाद भयो ।’ प्रहरीका अनुसार समीरले सिरहाको शिकशंकर साहकी छोरी बबिताकुमारी साहलाई प्रवेश परीक्षा उत्तीर्ण नभई नेपाल मेडिकल कलेजमा एमबीबीएस अध्ययन गराउने भन्दै २० लाख २० हजार ठगी गरेको मुद्दासमेत अदालतमा विचाराधीन छ । 

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया