Edukhabar
विहीबार, १० असोज २०८१
विचार / विमर्श

सैद्धान्तिक शिक्षामा 'सिकाई' भित्रका त्रुटिहरु

आइतबार, २१ चैत्र २०७२

रविन्द्र प्रसाद पोखरेल - आधारभुत आवश्यकतापछि शिक्षा पहिलो अनिवार्य आवश्यकतामा गनिन्छ । तर वर्तमान अवस्थामा हामीले प्राप्त गर्दै आएको शिक्षा जति नै उत्कृष्ट भनिएपनि त्यो क्रमशः कमजोर र अस्वीकार्य बन्दै गएको छ । कारण, हामीले सैद्धान्तिक र हाम्रा केही भ्रमलाई चिर्न त शिक्षा प्राप्त गर्यौ । तर यसले हामीलाई झन् महंगो सावित गर्यो । नेपाली समाजमा शिक्षित मानिसलाई सम्मान गर्ने चलन बढेपनि सैद्धान्तिक शिक्षाभित्रका प्राविधिक त्रुटि हटाउन नसक्दा यो हविगत भएको हो । केही कारण यस्ता छन् । 

कक्षाकोठाको क ख रा सिकाई

यदि जुनसुकै पनि बालक या बालिका पहिलो दिन स्कुल प्रवेश गर्छ भने उसलाई क ख रा नै सिकाईन्छ । क ख रा पछि ए बि सि डी सिकाईन्छ । बालक या बालिकाले जानी नजानी यो सिक्नैपर्छ । अबोध मानिने ती बालबालिकालाई कुनै न कुनै हिसाबले नैतिक र व्यवहारिक दबाब पनि हुन्छ । कारण सबै पढिरहेका ठाउँमा उसले पनि पढ्न नै पर्छ । अहिलेको आधुनिक शिक्षा भन्दै विभिन्न मोन्टेश्वरीहरुमा बालबालिका राखिन्छ । जहाँ प्रत्यक्ष देखाउँदै सिकाइन्छ भनिन्छ । स्कुलमा क ख रा घोकाएर सिकाउनुभन्दा केही फरक र आधुनिक मोन्टेश्वरीको सिकाई त होला । तर यो पनि पूर्ण प्राविधिक रुपमा त्रुटिपूर्ण छ । कारण हामीले शिक्षालाई घोकेर मात्रै सिक्ने परिपाटी बसाल्यौँ । शिक्षा गर्दै सिक्ने, नयाँ प्रयोगबाट मानसपटललाई प्रयोगवादी बनाउने, अनि शिक्षालाई व्यवसायिक बनाउन व्यवसायका लागी शिक्षाको शुरुवात कत्तिको गर्यौ ? यसको हिसाब किताब र मुल्यांकनबाट हामी चुक्दै गएका छौँ । 

अर्को हाम्रो सैद्धान्तिक शिक्षाको ठूलो कमजोरी भनेको घोकेर राम्रो जान्ने भयो भने त्यसलाई उत्कृष्ट भनिहाल्यौ । अनि जो त्यो घोकाईमा सफल भएन उसलाई होच्याउन थालिहाल्यौ । शिक्षा आफैमा गहन र निकै संवेदनशिल विषय हो । तर मानिसभित्रको असिमित क्षमता जाच्ने यही अचुक उपाय र एक मात्र विकल्प भने होइन् । शिक्षा मानिसको रुचिअनुसार मात्र सिक्न र बढी उपयोग गर्न सकिन्छ ।  मानिसको आवश्यकता र रुचि अनुसारको शिक्षा भएन भने त्यसले देशलाई भोलिका दिनमा ठुलो असर पार्छ । अहिले पढ्दै विदेश हानिएका युवा जनशक्तिबाट हामीले यो देखिरहेका र भोगिरहेका छौँ ।

शिक्षकले सिकाएनन्, रटाए मात्रै 

हाम्रो शिक्षाको आज जति पनि आलोचित छ, यसले के प्रष्ट पार्छ भने हामी मात्र रटन्ते भयौँ । शिक्षकले कक्षाकोठामा पढाएको कुरा दिमागमा कति राख्न सक्यौ ? शिक्षकले सोधेको बेला र परीक्षामा लेख्न भनि सोधिएको प्रश्नको उत्तर कति लेख्न सक्यौ ? हाम्रो जीवनको सम्पुर्ण शिक्षा र सिकाई त्यतिमै सिमित मात्र भएन पर्ण निर्भर पनि भयो । यसले हामीलाई शिक्षा रटे पुग्छ भन्ने मात्र बनायो । बर्षभरी पढेकाले पनि त्यही ३ घण्टाको जाँच दिने भयो । अनि बर्षभरीमा ३ दिन या ३ महिना पढेकाले पनि त्यही ३ घण्टाकै जाँचलाई आफ्नो योग्यताको मापदण्ड बनायो । कसैलाई भाग्यले साथ देला र कसैलाई मेहनतले । कोही पास भए कोही फेल । यसले हामीलाई त्यति ठूलो अर्थ राखेन । पढेर पास भएकाहरु डिग्रीधारी भए अनि पासपोर्ट बनाएर विदेश हानिए । कोही गाउँतिर पढाउन भनि गए । तर पास नभएकाहरुले आफ्नै क्षमतामाथी शंका गर्न थाले । आफुलाई अनपढको ट्याग भिराउन थाले । झन् समाजमा फेल भयो भनेर सुन्नेवित्तिकै विवाह गर, गाउँमा हलो जोत, जागिर गर्न शुरु गर भन्नसम्मका लाञ्छना सुन्नुपर्यो । उसले आफ्नो क्षमता के हो ? र के काम गर्न सक्छु भन्नेतिर सोच्नै सकेन । अरुले पढायो, अरुले नै बनायो अनि उसले जीन्दगी नै अरुको भरमा बाच्यो । आफुले आफ्नो मेहनत र  क्षमतामाथी टेकेर उसले बाच्न नै सिकेन । हाम्रो शिक्षाको ठूलो कमजोरी यही हो । 

नीजि र सरकारीको ‘फेसन’

हिजोआज को सरकारी जागिर ? कसले सबैभन्दा बढी कमाउँछ ? भन्दा पनि उसका छोराछोरी कुन बोर्डिङमा पढ्छन् भन्ने कुराले ठूलो चर्चा पाउँछ । आफन्त छरछिमेकी र गाउँसमाज उसको चर्चा उसका छोराछोरीको पढाईले गरिरहेका छन् ।  सरकारीमा पढेर राम्रै अंक ल्यायो भने एक चर्चा अनि महंगो फि तिरेर बोर्डिङ पढायो भने अर्को चर्चा । तर चर्चा छ । सरकारीमा पढाएकाहरु पनि खुशी छैनन्, नीजिमा पढाउनेहरु पनि खुशी छैनन् तर एउटै कुरा दुबैले पढेपछि उचित अवसर र रोजगारी पाउँदैनन् । सरकारीकाहरु लोकसेवा आयोगमा रटेर नाम निकाल्न कस्सिन्छन् भने नीजिमा पढेकाहरु पासपोर्ट बनाएर विदेश हानिन तछाडमछाड गर्छन् ।

तर अचम्मको कुरा अहिले नीजि विद्यालयले चर्को शुल्क लिएर पढाउँछन् । उनीहरुले उत्पादन गरेका विद्यार्थीहरु कमै मात्र रोजगारी पाएर आनन्दको जीवन बाँचिरहेका छन् । तर धेरैले भने रोजगारी नपाउँदाको पीडामै समय खर्चिरहेका छन् ।

अनि सरकारी विद्यालयका उत्पादन भने बढीजसो राजनीतिक नेतृत्वमा आएका छन् । विभिन्न प्रशासनिक क्षेत्रमा पनि उनीहरुकै अब्बलता र बर्चश्व छ । यसैलाई सरकारीकाले आफ्नो ‘ठुलो नाक’ पार्छन् । तर वास्तवमै भन्ने हो भने यी दुबै माध्यमका शैक्षिक संस्थाहरुले भ्रम मात्र पालिरहेका छन् । कारण हामी आधुनिक युगमा प्रवेश गरेका छौँ भने प्रविधिको प्रयोग गर्न कति सिकेका छौँ ? हामीले आफ्नो दैनिक जीवनमा हामीसंग भएका स्रोत साधनको प्रयोग गर्न कति सक्षम भएका छौँ । दैनिक खेर गइरहेका श्रोतसाधनको उपयोगको बारेमा कतिसम्म चिन्तित र व्यतित भएका छौँ । यतातिर कसैको ध्यान छैन् । जबकी हामीले हाम्रा प्रचुर सम्भावनालाई चिनेका नै छैनौ भने कसरी हामी उत्कृष्ट शिक्षाको पगरी नीजि र सरकारीको भनेर गुथिरहेका छौँ ? यो हाम्रो शिक्षाको गम्भिर बहसको विषय हो तर कसैले पनि गहिरो चिन्तन र समाधान खोज्ने प्रयास नै गरेका छैनौँ । 

प्राविधिक त्रुटिहरु

हाम्रा शिक्षकहरु अहिले पनि धेरैजसो ‘जमाना’ का छन् । पछिल्लो पूस्ताको आधुनिक जीवनशैली केही रुपमा देखेपनि उनीहरुले यसको उपयोग र विकासका बारेमा भने कमै शिक्षित छन् । विज्ञान, गणित र सामाजिक पढाउने शिक्षकहरु सुत्र घोकेकै नाममा अहिले पनि हजारौ तलब भत्ता खान्छन् । उनीहरुले पढाएका विद्यार्थी बढीमा देशका माथिल्लो क्षेत्रमा पुगेका छन् । तर यसले कति उपलब्धी हात पार्यो ? ती शिक्षक र ती शिक्षकले पढाएका विद्यार्थी दुबै बेखबर छन् । यसो हुनुको कारण हामीले कहिल्यै पनि शैक्षिक सिकाई र उपलब्धीको सही प्रक्रिया नै पुरा गरेनौँ । जसले जे गर्यो त्यही ठिक छ । त्यसलाई पूनः प्रयोग र त्यसको विकल्पमा गहिरो अध्ययन अनुसन्धान गर्न सकेनौँ । यसलाई सजिलो रुपमा भन्दा हामीले खोजेको के हो ? हामीलाई कस्तो शिक्षा चाहिएको छ ? त्यो शिक्षा अनुसार अहिलेका शिक्षकहरु कत्तिको ‘अपडेट’ छन् । यसबारे हामी मौन मात्र होइन् अन्धा नै छौ । यो बुझेका केही शिक्षकहरुले व्यवहारिक प्रयोग पनि गरेका छन् । र ती विद्यालय आज उत्कृष्टताको नमुना बनेका छन् । जसले नयाँ आवश्यकता बुझेनन् । त्यो आज पनि असफलताकै घनचक्करमा घुमिरहेका छन् ।

मुख्य त्रुटिहरु 

यी बाहेक हाम्रो शिक्षाका अरु प्राविधिक त्रुटिहरु छन् । पहिलो मनोवैज्ञानिक रुपमा वर्तमान आवश्यकतालाई बुझ्ने र बुझाउने शिक्षा छैन् । यो नीजिमा पनि छैन् सरकारीमा पनि छैन् । मनोवैज्ञानिक भनेको विद्यार्थी कस्तो प्रकृतिको छ ? उसलाई कस्तो ‘मोटिभेसन’ खाचोँ छ । उसले के गर्न चाहेको छ ? ती विद्यार्थीको बारेमा सोच्ने शिक्षकलाई सायदै फूर्सद होला । यसले नै हामीलाई ठूलो घाटा पुर्याएको छ । कारण यी विद्यार्थी नै हुन् अहिले सम्भावना नै सम्भावना भएको मुलुक छाडेर खाडीमा आफ्नो पसिना र रगतसंग जवर्जस्ती जीवन र मृत्युको मुल्य चुकाईरहेका छन् । 

दोश्रोमा वर्तमान शिक्षा यस्तो चाहिएको छ की विद्यार्थीले एकपटक पढेको कुरा कहिल्यै नभुलोस । किनकी अहिले डिजिटल प्रविधिमा उसले प्रयोग गर्न चाहन्छ । र यसको कुनै न कुनै हिसाबले दैनिक जीवनमा पनि आवश्यक ठान्छ । तर यो दुबै हुन सकेको छैन् । हामीले अहिले पनि कुनै पाठ पढ्यो भने त्यो एकैपटकमा कण्ठ हुन्छ । त्यसको तात्पर्य बुझिन्छ । यसैमा हामी रमाइरहेका छौँ । कसैले भनेको कुरालाई घोकियो भने त्यही सर्वोत्कृष्ट शिक्षा भनिरह्यौँ ।  यो हाम्रो कमजोरी हो । कम्तीमा पनि कक्षाकोठामा सिकेको र सुनेको कुरालाई हामीले हाम्रो जीवनमा वास्तविक प्रयोग गर्न जानेनौ । व्यवसायिक रुपमा त्यसको प्रयोग त अझै पनि कोसौ टाढा छ ।

तेश्रोमा शिक्षा आधुनिक आवश्यकता पुरा गर्ने पहिलो खुड्किलो हो । हामीले अहिले यो सोचेका पनि छैनौँ । जस्तो अहिले कम्प्युटर, ल्यापटप, आधुनिक मोबाइल, सामाजिक सञ्जालको प्रयोग र यसको उपयोगिताका बारेमा कुनै पनि बहस पर्याप्त छैनन् । बरु फेसबुक प्रतिबन्धहरु हामीले देखिरहेका छौँ । यसको गलत प्रयोगमा जो कोही प्रश्रित छ । यसमा हाम्रो कुनै अनुगमन र सूक्ष्म अध्ययन पनि छैन् । इन्टरनेटमा अबको दुनियाँ निकै शक्तिशाली भइसकेको छ । तर हामीले अझै पनि यसका बारेमा न पर्याप्त जानेका छौँ न त सिकेका नै । यस्ता कुरामा हाम्रा पटक्कै ध्यान छैन् । यसको सही उपयोग बारे अहिलेको शिक्षा केन्द्रित गर्यौ भने मात्र पनि हामी अबको डिजिटल दुनियामा निकै अगाडी पूग्न सक्छौँ । अन्यथा हामीले जतिसुक्यौ आधुनिक जीवनशैली अपनायौँ, आधुनिक युगमा प्रवेश गर्यौ भनेपनि त्यसको प्रयोग गर्न सकेनौ भने निरर्थक भएर जान्छ ।  (कुराकानीमा आधारित )

पूर्वशिक्षक समेत रहेका पोखरेल वलिक हुन् । 

प्रकाशित मिति : २०७२ चैत्र २१ गते ।

 

प्रतिक्रिया