Edukhabar
विहीबार, १० असोज २०८१
खबर/फिचर

नायिका केकी अधिकारीको स्कुले जीवन : ‘घोकन्ते शिक्षाले कहिल्यै बदलेन’

शनिबार, २० चैत्र २०७२

नेपाली फिल्म क्षेत्रमा चल्तीका नायिका केकी अधिकारीको स्कुले जीवन शनिबार विशेषमा

विष्णु विवेक/हाम्रो शिक्षा कस्तो छ ? प्राय धेरैले ठिकै, राम्रै भन्छन् । तर शुक्रबार नायिका केकी अधिकारीले यसै प्रश्नको जवाफ फरक तरिकाले दिइन् । ‘हाम्रो शिक्षा एकदमै राम्रो छ । तर दुःखका साथ भन्नुपर्छ शिक्षा घोकाउने ज्यादा भयो’ नेपाली फिल्म क्षेत्रकी चल्तीका नायिका केकीले अगाडी भनिन् ‘व्यवहारिक शिक्षाले जीवन र जगत बदल्छ तर हाम्रो घोकन्ते शिक्षाले हामीलाई कहिल्यै बदलेन ।’

२०६२ सालमा जोरपाटीको बाल सिर्जनालय माध्यामिक विद्यालयबाट एसएलसी उतीर्ण गरेकी नायिका अधिकारीले विज्ञान विषयमा प्लस टु गरेकी छन् । बानेश्वरको हिमालय ह्वाइट हाउस कलेजबाट प्लस टु गरेपछि उनले ‘स्वर’ फिल्मबाट अभिनय शुरु गरेकी हुन् । अहिलेसम्म चार दर्जन बढी फिल्म खेलिसकेकी केकीले अध्ययन र फिल्मलाई संगसंग अगाडी बढाउँदै गएकी छन् ।

स्कुले जीवन सरकारी स्कुलमा विताएपनि केकीले उच्च माध्यामिक शिक्षा नीजि कलेजबाट लिएकी हुन् । सोह्रखुट्टेको प्राइम कलेजबाट बिआइएम विषयमा (व्याच्लर अफ इन्फरमेशन म्यानेजमेण्ट) स्नातक गरेकी उनले यसै बर्ष मात्र व्यवस्थापन संकायमै एमबिए गरेकी हुन् ।

पढाई एकातिर, काम अर्कातिर

बुवा बद्री अधिकारीकै प्रेरणाले नेपाली फिल्म क्षेत्रमा चल्तीकी नायिकाका रुपमा चर्चामा रहेकी केकी अधिकारी विज्ञान, व्यवस्थापन संकाय पढेपनि काम भने फिल्म क्षेत्रमै गर्दै आएकी छन् । 

अहिलेसम्म पनि कुनै अभिनय कक्षा नलिईकनै अभिनयमा जमिरहेकी केकीलाई पढाईले भन्दा पनि तन, मन र धन दिएर गरेको कामले सफलता दिनेमा विश्वास गर्छिन् । 

‘मैले पढ्न त साइन्स, म्यानेजन्मेट दुबै फ्क्याल्टी पढेँ । तर मन अभिनयमा थियो । अभिनय गर्दै गएपछि यसैमा व्यस्त छु । त्यसैले पढाईले भन्दा पनि इच्छा लागेको काम गर्दा सफल भइन्छ ।’ उनले भनिन् ।

यसै विषयमा उनको फरक मत पनि छ । ‘यदि मैले चाहेको भए अभिनय कक्षा पनि लिन सक्थे । तर घोकन्ते शिक्षाले केही नहुने भएपछि अभिनय गर्दै सिक्दै गए र आज स्थापित हुन सकेकी छु । त्यसैले पनि मैले साइन्स र म्यानेजमेण्ट पढेर पनि खासै केही गर्न सकिन । झन् अरु युवाको हालत कस्तो होला ?’ 

नायिका केकीको विचारमा नेपालको शिक्षालाई व्यावहारिक जीवनमा प्रयोग नगरेसम्म शिक्षाको कुनै अर्थ नहुने देखिन्छ । ‘कारण यो त्यो गर्नुहुन्न, यसो गर्नुपर्छ भन्ने सबैलाई थाहा हुदाँहुदै पनि किन गरीन्छ ? कसैले चासो दिदैन् । यो सब हाम्रो घोकन्ते शिक्षाको प्रतिफल हो । त्यसैले पनि शिक्षालाई प्राविधिक र व्यावहारिक बनाउनुपर्यो ।’ उनले भनिन् ।

 

पढेका युवा विदेशिदा सरकार बेखबर

नायिका केकीलाई पढेका युवाहरु विदेशिदा आफुलाई निकै दुःख लाग्ने गरेको बताइन् । ‘अहिले पनि कति धेरै युवाहरु दिनहुँ विदेशिरहेका छन् । उनीहरुलाई रोजगारी सिर्जनाको बारेमा अहिले पनि कसैले पनि सोचेको छैन् । देश बनाउने युवाहरुको यो हालत देख्दा निकै दुःख लाग्छ ।’ उनले भनिन् ।

हुलका हुल युवाहरु विदेशिदा सरकार भने बेखबर हुने गरेकोमा आफुलाई चिन्ता लाग्ने गरेको उनको भनाई छ । 

‘देश बनाउने भनेको पढेको युवाहरुले नै हो । तर अहिलेसम्म किन कसैले पनि सोचेको छैन् । न त सरकारले सोचेको छ । न त अरु संघ संस्थाले नै । यस्तो देख्दा मलाई निकै चिन्तित तुल्याउँछ । कम्तीमा सरकारले केही गरोस भन्ने मेरो आग्रह छ ।’ उनले भनिन् ।

युवा भविष्यका कर्णधार र राष्ट्रनिर्माता भएकाले सरकारले शिक्षा नीतिमा परिवर्तन गर्नुपर्ने केकीको जोड छ ।

शिक्षा घोकाउने भन्दा पनि सीप, क्षमता र आफ्नो रुचिले गर्न सक्ने काम लाग्ने खालको हुनुुपर्ने उनको भनाई छ । यसका लागी सरकारले प्राविधिक तथा व्यवसायिक शिक्षा नीति ल्याएर कडाईका साथ कार्यान्वयन गर्नुपर्नेमा नायिका केकी अधिकारीले बताइन् ।

‘युवा विदेशिनु भनेको राष्ट्रको दक्ष जनशक्ति बाहिरिनु हो । यसले हामीलाई कति घाटा पुर्याएको छ भन्ने कुरा भावी पूस्ताले भन्लान् । तर अब यसको सही मूल्यांकन गरेर युवालाई विदेश जानबाट रोक्नुपर्छ । र उनीहरुलाई सही बाटो लगाउन सरकारले दिगो रोजगारीको कार्यक्रमहरु ल्याउनुपर्छ ।’ नायिका केकीले भनिन् ।

 

प्रकाशित मिति : २०७२ चैत्र २० गते ।

 

प्रतिक्रिया