काठमाडौँ, १९ चैत्र । अघिल्ला वर्ष एसएलसीमा परीक्षाकेन्द्रबाहिर अभिभावक र आफन्तको भिड नै लाग्थ्यो। उनीहरु कुनै जात्रा भर्न होइन, आफ्ना नानीलाई चिट चोराएर एसएलसी पास गराउन अमर्यादित क्रियाकलाप गर्न केन्द्र ओइरिन्थे।
एसएलसी परीक्षाको पहिलो दिन यस वर्ष त्यस्ता गतिविधि नगन्य देखिए। यसरी एकाएक एसएलसी परीक्षा मर्यादित र शान्तिपूर्ण बन्नुको कारण हो– सरकारले यसै वर्षदेखि लागू गरेको अक्षरांकन प्रणाली । विशेष गरी तराईका जिल्लामा छोरीलाई एसएलसी पास गराएर विवाह गरिदिने परम्पराका कारण अभिभावक आफैं लागेर जसरी पनि एसएसली पास गराउन अमर्यादित गतिविधिमा सक्रिय हुन्थे।
सरकारले ल्याएको एसएलसी परीक्षाको नतिजा विषयगत ग्रेडिङ प्रणालीबाट उपलब्ध गराउने व्यवस्थापछि विद्यार्थी तथा अभिभावकमा एसएलसी परीक्षाप्रति सकारात्मक भावना विकास भएको पर्साका जिल्ला शिक्षा अधिकारी रामविनय सिंह बताउँछन्।
ुएसएलसी परीक्षाको पहिलो दिन बिहीबार केन्द्र शान्त रह्यो। अभिभावकको कुनै भिड देखिएन,ु अनुगमानमा खटिएका सिंहले नागरिकसँग भने, ुविद्यार्थी र अभिभावकमा ग्रेडिङ प्रणालीका कारण छोराछोरी पास भइहाल्छन् भन्ने विश्वास जागेको मैले पाएँ, बिहीबार हामीले कुनै केन्द्रमा चिट भेटेनौं।ु
गत वर्षसम्म दिदीलाई परीक्षा दिलाउन परीक्षाकेन्द्र पुगेका पर्सा वीरगन्जका उज्ज्वल ठाकुर यस वर्ष आत्मविश्वाससाथ आफैं पहिलो दिनको परीक्षा दिएर फर्किए। माई स्थान विद्यापीठ माध्यमिक विद्यालयका परीक्षार्थी ठाकुरले परीक्षामा आफ्नै मिहिनेतले लेखेको खुसीसाथ सुनाए। परीक्षाकेन्द्रमा शान्तिपूर्ण र मर्यादित अवस्थामा परीक्षा दिन पाउँदा आफूलाई आत्मसन्तुष्टि मिलेको ठाकुरले सुनाए। ुमलाई एमबिबिएस गर्नु छ, विज्ञान विषयमा बढी फोकस गरिरहेको छु,ु उनले भने।
नाकाबन्दी र लामो समयसम्म तराई बन्दका बाबजुद स्कुलले बिहानी कक्षा सञ्चालन गरी कोर्स पूरा गराएको र सरकारले रेडियोबाट एसएलसी सामग्री पढाउन सुरु गरेपछि परीक्षामा लेख्न थप सहज बनेको तराईका विद्यार्थीको भनाइ छ। ठाकुरले पनि विज्ञान र गणित बढीजसो रेडियोबाटै सुनेर बुझेको सुनाए।
जिल्ला शिक्षा अधिकारी सिंहका अनुसार पर्सामा कुल २२ केन्द्रबाट ८ सय ३१ विद्यार्थीले परीक्षा दिएका छन्। ुयसपालि त कुनै अभिभावक छोरीलाई पास गराउन सहयोग माग्न आएनन्,ु अधिकारी सिंहले भने, ुकेन्द्रहरु यसपालि परीक्षाकेन्द्र मुभमेन्टलेस, साउन्डलेस र चिटलेस ९एमएससी० रह्यो।ु
तराई आन्दोलन, नाकाबन्दी र अप्ठ्याराका बाबजुद तराईका जिल्लामा बिहीबार पहिलो दिनको एसएलसी परीक्षा शान्तिपूर्ण सफल भएको अनुगमनमा खटिएकाहरु बताउँछन्। केही छिटपुट घटनाबाहेक तराईका आठ जिल्लामै पहिलो दिनको परीक्षा शान्तिपूर्ण र मर्यादित रुपमै सम्पन्न भएको मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक कृष्ण घिमिरेले जनाए। मध्यमाञ्चल क्षेत्रका ६ जिल्ला बारा, पर्सा, महोत्तरी, रौतहट, धनुषा र सर्लाहीमध्ये महोत्तरी र रौतहटमा केही छिटपुट घटनाबाहेक अन्य सबैमा राम्ररी परीक्षा सम्पन्न भएको उनको दाबी छ।
काठमाडौंका जिल्ला शिक्षा अधिकारी शंकर गौतमले सबैभन्दा बढी ९५ परीक्षाकेन्द्रबाट ३४ हजार ७ सय ७५ विद्यार्थीले मर्यादित र शान्तिपूर्ण रुपमा परीक्षा दिएको जानकारी दिए। शिक्षामन्त्री गिरीराजमणि पोखरेल काठमाडौंको बालुवाटारमा रहेको महेन्द्र राष्ट्रिय उमाविमा आफैं अनुगमनमा पुगेका थिए। उनले अनुगमनपछि विभिन्न बाधा र अप्ठ्यारा बाबजुद विद्यार्थीले उत्साह, हौसला र मर्यादित रुपमा परीक्षा दिएकोमा शुभकामना व्यक्त गरेको अधिकारी गौतमले जनाए।
परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीका अनुसार एसएलसी परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी निकै उत्साह र मर्यादित रुपमा सम्पन्न भएको छ। परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीका अनुसार बिहीबार देशभरिबाट ९ निरीक्षक र सात विद्यार्थी मात्र निष्काशित भएका छन्।
'अब विद्यार्थीले आफ्नो क्षमताअनुसारको नतिजा आउने बुझेका छन्,ु परीक्षानियन्त्रक काप्रीले नागरिकसँग भने, ुअभिभावकमा समेत केन्द्रमा भिडभाड गर्दा नानीहरु नर्भस र आत्तिएर परीक्षा बिगार्न सक्ने चेतना आयो।'
(नागरिक दैनिकमा प्रकाशित)
प्रतिक्रिया