Edukhabar
विहीबार, १० असोज २०८१
गतिविधि

चर्को शुल्क र कालोबजारी विरुद्ध विद्यार्थी संगठनले प्रदर्शन गर्ने 

विहीबार, १८ चैत्र २०७२

काठमाडौँ - नयाँ शैक्षिक सत्र नजिकै आइरहदा विभिन्न विद्यार्थी संघ संगठनले नीजि शैक्षिक संस्थाका विरुद्ध विरोध प्रदर्शन गर्ने भएका छन् ।  नयाँ शैक्षिक सत्र शुरु हुन दुईहप्ता मात्र बाँकी रहदा भर्नाका बेला नीजि विद्यालयले लिने चर्को शुल्क, वैज्ञानिक शुल्कको मापदण्ड नमान्ने विद्यालय सञ्चालक विरुद्ध सयुँक्त आन्दोलन गर्ने भएका हुन् । 

‘शुरुमा कालोबजारिया विरुद्ध मिलेर आन्दोलन गर्ने निर्णय गरेका छौँ, नेविसंघ प्रवक्ता युपी लामिछानेले भने ‘पछि शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाएसंगै नीजि शैक्षिक संस्थाका विरुद्ध सडक तताउछौँ । तर शुरुमा शान्तिपूर्ण रुपमा जाने निर्णय भएको छ ।’  विद्यार्थी संघ संगठनले चैत्र १९ गते भोली कालोबजारी र महंगीका विरुद्ध आरआर क्याम्पसअगाडी प्रदर्शन गर्ने, चैत्र २१ गते देशभरका जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने निर्णय गरेका छन् ।  

यस्तै नीजि विद्यालय सञ्चालकका विरुद्ध चैत्र २२ गते शिक्षामन्त्री गिरीराजमणी पोखरेललाई ज्ञापनपत्र बुझाउने र संगै गत बैशाख ६ गते सरकार, नीजि विद्यालय र विद्यार्थी संघ संगठनबीचमा भएको १० बुँदे सहमति कार्यान्वयन गर्न ध्यानाकर्षण गराउने पनि विद्यार्थी संगठनले निर्णय गरेका हुन् । 

५ महिना लामो भारतीय नाकाबन्दी खुलेपनि कालोबजारीयाको विगविगी कम गर्न विभिन्न विद्यार्थी संघ संगठनले मिलेर आन्दोलन गरेर सरकारलाई कालोबजारी रोक्न दबाब दिने पनि निर्णय उनीहरुले गरेका छन् ।  यससंगै सरकारलाई नयाँ शैक्षिक सत्र शुरु हुनुपूर्व नै विद्यार्थीमाझमा पाठ्यपूस्तक पुर्याउन दबाब दिने र त्रिभुवन विश्वविद्यालयसंग तत्काल स्ववियु निर्वाचनको घोषणा गर्न पनि माग गर्ने निर्णय भएको नेविसंघ प्रवक्ता लामिछानेले बताए । 

प्रकाशित मिति : २०७२ चैत्र १८ गते 

 

प्रतिक्रिया