Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

एसएलसी सुरक्षामा चार हजार प्रहरी !

विहीबार, १८ चैत्र २०७२

काठमाडौँ, १८ चैत्र । बिहीबारदेखि सञ्चालन २०७२ सालको एसएलसी परीक्षाको सुरक्षाका लागि पूर्वाञ्चलमा ४ हजार २ सय ६५ प्रहरी परिचालन  भएका छन् । पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले पूर्वाञ्चलका १६ वटै जिल्लामा हुने एसएसलसी परीक्षाका लागि ड्युटीमा खटिने प्रहरीको तालिका एक दिन अगाडि नै सार्वजनिक गरेको छ ।  

पूर्वाञ्चलका १६ जिल्लामा निर्धारण गरिएको ४ सय ७० परीक्षा केन्द्रहरूमा ७ देखि १० जनासम्म प्रहरी परिचालन गर्ने तयारी गरेको पूर्वाञ्चलका प्रहरी प्रमुख डीआईजी केशरीराज घिमिरेले बताएका छन् । उनका अनुसार प्रत्येक परीक्ष केन्द्रमा आवश्यकता अनुसार महिला प्रहरी पनि परिचालन गरिने छ ।   

विगतभन्दा यस पटकको एसएलसी परीक्षलाई पर्यादित बनाउन प्रहरीले सहयोगीको भूमिका निर्वाह गर्न परीक्षा केन्द्रमा खटिने प्रहरीलाई आवश्यक निर्देशन र आचारसंहिता पालना गर्नुपर्ने नियमका बारेमा समेत प्रशिक्षित गराई सकेको पनि डीआईजी घिमिरेले बताए ।  

एसएलसी परीक्षामा शान्ति सुरक्षा मजबुत बनाउन तराईका जिल्लाहरू, सुनसरी, मोरङ, झापा, सप्तरी, सिराहा र उदयपुरमा प्रहरीले विशेष सर्तकता अपनाएर परीक्षा केन्द्रवरपर मोबाइल गाडी, पैदल गस्ती, पिकेट ड्युटी र सादा पोसाकमा समेत प्रहरी परिचालन गरिने डीआईजी घिमिरेले जानकारी दिए ।  

यस पटकको एसएससी परीक्षामा पूर्वाञ्चलका १६ जिल्लाबाट १ लाख ४१ हजार ६ सय ४७ जना विद्यार्थीले परीक्षा दिने छन् । 

(अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया