Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

नक्कली परीक्षार्थीलाई एक लाख जरिवाना 

बुधबार, १७ चैत्र २०७२

काठमाडौँ, १७ चैत । चैत १८ गतेदेखि सुरु हुन लागेको यस वर्षको प्रवेशिका परीक्षा (एसएलसी) मा अरुको तर्फबाट परीक्षा दिएको पाइए रु एक लाखसम्म जरिवाना हुने भएको छ ।   जिल्ला शिक्षा कार्यालय झापाले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले परीक्षाको मर्यादा भङ्ग गर्ने, परीक्षा केन्द्रमा अनधिकृत प्रवेश गर्ने र परीक्षा केन्द्र नियन्त्रणमा लिई अमर्यादित कार्य गर्नेलाई शिक्षा ऐन, २०२८ तथा शिक्षा नियमावली–२०५९ बमोजिम कारबाही गर्ने बताए । 

उनले परीक्षालाई अमर्यादित तुल्याउने जो कोहीलाई कसुरको मात्रा हेरी रु एक लाखसम्म जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय गर्ने बताए ।  परीक्षाका लागि जिल्लामा जम्मा ५२ वटा परीक्षा केन्द्र कायम गरिएको बताइएको छ । सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका पु¥याइसकिएको र परीक्षाका लागि आवश्यक प्रश्नपत्रको सुरक्षित व्यवस्थापन भइसकेको जिशिअ लुइँटेलले दाबी गरे । 

यसवर्ष झापाका २९३ विद्यालयमा सामुदायिक ११०, संस्थागत १७६, भुटानी शरणार्थी शिविर दुई, प्राविधिक धार तीन तथा खुला विद्यालयका दुई गरी कुल १६ हजार ९७९ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । 

यसमध्ये नियमिततर्फ १३ हजार ४९७ मा छात्र छ हजार ४५६, र छात्रा सात हजार ४१ जना रहेका छन् । यता आंशिकतर्फ तीन हजार ४८२ मा छात्र एक हजार १९७ र छात्रा दुई हजार २८५ जना परीक्षामा सामेल हुने जिशिअ लुइँटेलले बताए  ।   जिल्लाभर सामुदायिक विद्यालयतर्फ १० हजार ३७६, संस्थागततर्फ छ हजार १२०, भुटानी शरणार्थी शिविरका १३५, खुल्लातर्फ २६७, प्राविधिक धारतर्फ ८१ जना परीक्षार्थी रहेको छन् ।  

अपाङ्गतातर्फ दृष्टिविहीन चारजना (नियमित दुई र आंशिक दुईजना) र सुस्तःश्रवणतर्फ आठजना (नियमित पाँच र आंशिक तीनजना) परीक्षार्थी रहेको बताइएको छ ।

रासस 

प्रतिक्रिया