Edukhabar
बुधबार, ०९ असोज २०८१
खबर/फिचर

कक्षामै जय मधेशको नारा लागेपछि...

सोमबार, १५ चैत्र २०७२

पर्सा–नयाँ संविधानमा आफ्नो माग समेट्नु पर्ने भन्दै गत असार देखि तराईमा आन्दोलन सुरु भयो । साउन अन्तिम देखि बजार पसल, उद्योग धन्दा, शैक्षिक संस्था ठप्प पारेर आन्दोलन चर्कियो । विद्यार्थी कतिपय शिक्षकहरु पनि आन्दोलनमै होमिए । मंसिर पहिलो सातासम्म पठन पाठन ठप्प भयो । शैक्षिक सत्र सुरु भएपछि मुस्किलले एक महिना पढाई भएको मात्रै थियो । एक तिहाई मात्रै पढाई भएको थियो ।

मधेशी दलका नेताहरु केही पाउन केही गुमाउनु पर्ने भन्दै शैक्षिक संस्था समेत खोल्न दिएनन् । केही विद्यालयले बाहिरबाट ताल्चा लगाएर भित्र पढाए । विद्यार्थी आउट ड्रेसमै आउँथे । चौतर्फी बिरोध भएपछि मधेशी दलले बन्द भएको शैक्षिक संस्था बिहानमात्रै खोल्न दिने निर्णय ग¥यो । विद्यालय त खुल्यो तर, विद्यार्थीको व्यवहार बदलिएको थियो ।

पढाईमा भन्दा आन्दोलनमा ध्यान दिन्थे । विद्यार्थीलाई पढाईमा केन्द्रीत गर्न शिक्षकहरुलाई हम्मे हम्मे पर्यो । तराईका जिल्लाका अधिकाँस शिक्षकको भोगाई जस्तै भोगाई भयो पर्साको जुद्ध महावीरप्रसाद रघुवीरराम  उच्च माध्यमिक विद्यालयकाका प्रधानाध्यापक नविनकुमार मिश्रको पनि । ‘आन्दोलनमा उफ्रिएर हिडेका विद्यार्थीलाई पढाईमा रुपान्तरण गर्न गाह्रो भयो,’ उनले भने, ‘उनीहरुको दिमागमा पढाई भन्ने नै थिएन । आन्दोलनमा हुने नाराबाजी र भाषण मात्रै सोच्थे । विद्यार्थी कक्षामा भए पनि ध्यान आन्दोलनमै थियो ।’

विद्यार्थीको ध्यान पढाईमा केन्द्रीत पार्न हरेक प्रयास गरेपनि पहाडी मुलका शिक्षकहरुलाई मधेश बिरोधी भन्न समेत विद्यार्थीहरु पछि परेनन् । ‘विद्यालयमै सद्भाव बिग्रिएला भन्ने बढो चिन्ता लाग्यो’ मिश्रले भने, ‘विद्यार्थीले कक्षा खुलेको केही दिनसम्म कक्षामै जय मधेशको नारा लगाए ।’ यस्तो दृश्य तराईका हरेक विद्यालयमा भएको शिक्षकहरु बताउँछन् ।

भूकम्प पछि अनेक प्रयास गरेजस्तै  आन्दोलनको धङधङीबाट विद्यार्थी र शिक्षकलाई पठन पाठनको  ट्रयाकमा ल्याउन अनेक प्रयास गर्नु परेको शिक्षकहरु बताउँछन् ।

बिहान कक्षा सुरु भएपछि आन्दोलन भनेको के हो ? आन्दोलन र पढाईको सम्बन्ध, आन्दोलनको सकारात्मक र नकरात्मक पक्षको बारेमा कक्षा केन्द्रित भयो । अधिकांश विद्यालयले यस्तै कक्षा एक सातासम्म चलाए । त्यस पछि

नियमित पढाउन थालेको तराईका शिक्षकहरु बताउँछन् । आन्दोलनको नकारात्मक बिषयमा सुनाउँदा विद्यार्थी शिक्षकसंग समेत प्रतिबाद गरेको एक शिक्षकले अनुभव सुनाए ।

तराईका विद्यालयहरुले कक्षा १० का विद्यार्थीलाई कक्षा सञ्चालन गरे पनि एक देखि नौसम्म कक्षा सञ्चालन भएन ।

तीन महिना भन्दा बढी शैक्षिक संस्था बन्द गरेर आन्दोलन भयो । तर, उक्त आन्दोलन तथा विद्यार्थी, शिक्षक र अभिभावकले भोगेको भुक्तमानको उपलब्धि के भयो ? पठन पाठन छाडेरै आन्दोलनमा लागेकाहरु हिजो आज उल्टै मधेशी दल प्रति आक्रोशित भेटिन्छन् ।

प्रकाशित मिति २०७२ चैत १६ गते

प्रतिक्रिया