Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

एसएलसीमा १ घण्टा लोडसेडिङ घट्यो 

सोमबार, १५ चैत्र २०७२

काठमाडौँ, १५  चैत । प्रवेशिका परीक्षा (एसएलसी)मा सहभागी विद्यार्थीलाई केही राहत दिने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणले दैनिक एक घन्टा विद्युत्भार कटौती कम गरेको छ ।  प्राधिकरणका भार प्रेषण केन्द्रका प्रमुख भुवनकुमार खत्रीका अनुसार दैनिक १२ घन्टाको हाराहारीमा विद्युत् कटौती गर्दै आएकामा १६ गते मङ्गलबारदेखि दैनिक ११ घन्टामात्रै विद्युत् कटौती हुनेछ ।  

सातामा कुल ८८ घन्टा विद्युत् कटौती हुँदै आएकामा मङ्गलबारदेखि भने ७७ घन्टामात्रै विद्युत् कटौती हुनेछ । प्राधिकरणले ‘पावर व्याकअप’का रुपमा रहेको कुलेखानी पहिलो र दोस्रो आयोजनालाई पूर्ण क्षमतामा चलाउने जनाएको छ । दुई आयोजना चलाउँदा कुल ९२ मेगावाट विद्युत् उत्पादन हुनेछ ।  

यस्तै पछिल्लो दिनमा सामान्य रुपमा नदीमा जल सतहसमेत बढ्न थालेको छ । भारप्रेषण केन्द्रका अनुसार हाल मुलुकभर एक हजार ३२५ मेगावाट विद्युत् माग रहेकामा ६०० मेगावाट विद्युत्मात्रै उपलब्ध हुँदै आएको छ ।  प्रवेशिका परीक्षामा सहभागी विद्यार्थीलाई सामान्य रुपमा भए पनि राहत दिने उद्देश्यले विद्युत् कटौतीको समय कम गरिएको भारप्रेषण केन्द्रको भनाइ छ ।  

रासस 

 

प्रतिक्रिया