Edukhabar
बुधबार, ०९ असोज २०८१
खबर/फिचर

एसएलसी केन्द्राध्यक्षमा राजनीतिक भागबण्डा, कार्यकर्तालाई बनाउन नेताहरुको दौडधुप

आइतबार, १४ चैत्र २०७२

- शेखर ढकाल / सुनसरी - एसएलसी परीक्षाको केन्द्राध्यक्ष राजनीतिक भागबण्डाका आधारमा तोकिएका छन् । आफ्ना कार्यकर्तालाई केन्द्राध्यक्ष बनाउन ब्यस्त शिक्षक संगठनका नेताहरुले आआफ्नो भागमा पर्ने केन्द्राध्यक्षको टुङ्गो लगाएसँगै उनीहरुको दौडधुप लगभग सकिएको छ ।

सुनसरीका ४६ वटा परीक्षा केन्द्रका लागि केन्द्राध्यक्ष तोकिनसकिए पनि भागबण्डा मिलिसकेको श्रोतले जनाएको छ । एउटा शिक्षक संगठनका एक नेताका अनुसार काँग्रेस निकट शिक्षक संघले २३ जना र एमाले निकट संगठनले १० जना केन्द्राध्यक्ष पाएको छ । यसैगरी दुईजना एकीकृत माओवादी निकट अखिल नेपाल शिक्षक संगठनले र दुई जना मधेसवादी दल निकट शिक्षक संगठनले पाउने पक्कापक्की भएको छ ।

जिल्ला शिक्षा कार्यालयमा आइतबार भएको शिक्षक संघसंगठनको भेलाले अपुग भएका बाँकी नौ जना केन्द्राध्यक्ष भने साना मधेसवादी दलसँगै अन्य केहीलाई समेट्ने सहमति भएको छ ।  बाँकी दुई जना केन्द्राध्यक्ष निजी विद्यालयबाट बनाउन दलका शिक्षक सहमत भएका छन् । तर, निजी विद्यालयको छाता संगठन प्याब्सनले केन्द्राध्यक्ष बनाउने व्यक्तिको सिफारिस गरिनसकेको श्रोतले जनाएको छ ।

शिक्षक संघसंगठनको सहमतिमा भागबण्डाकै आधारमा केन्द्राध्यक्ष तोक्ने चलन पूरानै हो ।

जब जब एसएलसी परीक्षाको मिति नजिकिन्छ तब तब राजनीतिक दल आबद्ध शिक्षक संगठनहरू आफु निकटका शिक्षकलाई केन्द्राध्यक्ष बनाउने दौडधुपमा ब्यस्त हुन्छन् । विगतका वर्षहरू जस्तै यस वर्षपनि एसएलसी परीक्षाको केन्द्राध्यक्ष  राजनीतिक भागबण्डाकै आधारमा तोकिएका हुन् ।

जिल्ला शिक्षा कार्यालयले औपचारिक निर्णय नगरे पनि ३७ वटा विद्यालयमा योग्यता पुगेको सम्बन्धित विद्यालयको प्रधानाध्यापक वा शिक्षक मध्येबाट केन्द्राध्यक्ष तोक्ने सहमति भएको जनाइएको छ । यो नियम अनुसार केन्द्राध्यक्ष भएमा ३६ वटा विद्यालयमा सम्बन्धित विद्यालयका प्रअ नै केन्द्राध्यक्ष हुनेछन् । एउटा विद्यालयमा प्रअको योग्यता नपुगेकाले त्यहाँ  शिक्षक केन्द्राध्यक्ष हुनेछन् । केन्द्राध्यक्ष हुनका लागि माध्यमिक विद्यालयको स्थायी शिक्षक हुनुपर्छ ।

जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदी भने भागबण्डाको आधारमा केन्द्राध्यक्ष तोक्ने कुरा अस्विकार गर्छन् । उनी भन्छन् – ‘शिक्षा कार्यालयको रेकर्डमा संघ–संगठनको नेता नभएर प्रधानाध्यापक र शिक्षक भएकाले केन्द्राध्यक्ष तय गर्न लागिएको हो ।’ 

सुनसरीबाट यो वर्ष नियमित तर्फ १२ हजार दुई सय २२ जना र एक्ज्याम्टेडतर्फ  तीन हजार सात सय २६ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । त्यस्तै प्राविधिक स्कुल धरानबाट ४५ जना, ज्ञान चक्षु स्कुल धरानबाट आठ जना दृष्टिविहीन, शारीरिक रूपमा अपाङ्ता भएका एक जना र झुम्का कारागारका दुई जना विद्यार्थी परीक्षामा सामेल हुने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

फाईल फोटो

प्रकाशित मिति २०७२ चैत १५ गते

प्रतिक्रिया