काठमाडौँ, १४ चैत्र । धनुषा घोरघासस्थित मीनापिला राष्ट्रिय प्राविका कक्षा एकका ४६ विद्यार्थीहरू शून्यदेखि ४० सम्म मात्रै भन्न र लेख्न सक्छन् । बाँकी सिकाउन नपाउँदै वार्षिक परीक्षा सुरु भयो ।
‘अ आ इ ई’ समेत सिक्न पाएनन् । उनीहरूले ‘क्यापिटल’ एबीसीडी सिके, ‘स्मल’ एबीसीडी सिक्नै पाएनन् । कक्षा एकमा ‘क’ देखि ‘ज्ञ’ सम्म, ‘अ आ इ ई’ तथा शून्यदेखि सयसम्मका अंक सिक्नुपर्ने हो ।
तर, भूकम्प र तराई आन्दोलनले शैक्षिक संस्था महिनांै बन्द भएपछि विद्यार्थीको सिकाइ उपलब्धिमा पनि असर पर्यो । तल्लो कक्षामा सिक्न बाँकी कुरा थाती राखेर विद्यार्थीहरू माथिल्लो कक्षामा पुग्नुपरेको छ ।
तल्लो कक्षाको जग कमजोर भएपछि विद्यार्थीले माथिल्लोको कोर्स बुझ्दैनन् । ‘विद्यार्थीले जति सिक्नुपर्ने हो, बन्दका कारण त्यति सिकाउन सकिएन,’ विद्यालयकी प्रधानाध्यापक आशाकुमारी झाले भनिन्, ‘साउनदेखि बन्द भयो । पढाउनै पाएनौं । घरमा जे सिके, विद्यार्थीले त्यसकै आधारमा वार्षिक परीक्षा दिए ।’
सप्तरी भारदहस्थित बीपी स्मारक पब्लिक माध्यमिक विद्यालयका कक्षा ९ का विद्यार्थी पनि कोर्स पूरा नहुँदै वार्षिक परीक्षा दिइरहेका छन् । कक्षा ९ को पढाइ सुरु भएको केही महिनामै वर्षे बिदा भयो । त्यसपछि तराई आन्दोलनले पढाइ सुरु नै हुन सकेन ।
असारको अन्तिमदेखि सुरु भएको मधेस आन्दोलनका कारण विद्यालय बन्द भएपछि धेरैजसो विद्यालयले कोर्स पूरा गर्नै सकेनन् । ‘कोर्स नसक्दै परीक्षा आइहाल्यो,’ सागर साहले भने, ‘९ कक्षामा पढ्नुपर्ने धेरै विषयवस्तु सिक्नै पाएनौं ।’
तराईको बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिरहा, सप्तरीलगायत जिल्लामा भएको आन्दोलनका कारण विद्यालयहरू बन्द भएपछि कोर्स पूरा हुन नसकेको हो । वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु हुने भएपछि विद्यालयहरूले एसएलसीअघि नै वार्षिक परीक्षा लिइरहेका छन् ।
शिक्षा नियमावलीअनुसार एक शैक्षिक सत्रमा २ सय २० दिन विद्यालय खुलेर एक सय ९२ दिन पढाइ हुनुपर्छ । तर, तराईका विद्यालयमा मुस्किलले पाँच महिनामात्रै पढाइ भएको छ ।
सप्तरीको बीपी स्मारक माविको कक्षा आठका विद्यार्थी नीरजकुमार माझीले अंग्रेजी, नेपाली, गणितलगायत अनिवार्य विषयको कोर्स पूरा नभएको बताए । ‘परीक्षामा नपढेको पाठबाट पनि प्रश्न सोधेपछि उत्तर लेख्न सकिएन,’ उनले भने ।
विद्यालयमा पढाइ नभएको पाठ ट्युसन गएर सिकेको कक्षा ७ की श्रुतिकुमारी सन्तले बताइन् । सप्तरीका शिक्षा अधिकारी लक्ष्मीप्रसाद भट्टराईले कोर्स पूरा नभए पनि वार्षिक परीक्षा लिनुपर्ने बाध्यता भएको बताए ।
‘नियममा हिँड्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘कोर्स पूरा नभए पनि हामीले प्राथमिकस्तरमा आवश्यक हुने ज्ञान, सीप र धारणासम्बन्धी छुट्टै कक्षा सञ्चालन गर्यौं, यसले अलि सहज भएको महसुस गरेका छौं ।’
वीरगन्जको जुद्ध उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक नवीनकुमार मिश्रले तराई बन्दमा शैक्षिक संस्था नचल्दा विद्यार्थीको सिकाइ उपलब्धिमा असर परेको बताए । ‘बन्द खुल्नेबित्तिकै पढाइ सुरु गर्न सकेनौं,’ उनले भने, ‘विद्यार्थीलाई पढाइको वातावरणमा ढाल्न समय लाग्यो । पढाइ सुरु भएपछि पनि कोर्स सकिएन । यसले विद्यार्थीको सिकाइ अधुरै रह्यो । यसको असर पछिसम्म पर्नेछ ।’ सार्वजनिक बिदाका दिन र बिहानसमेत कक्षा चलाए पनि कोर्स पूरा गर्न असम्भव भएको शिक्षकहरू बताउँछन् ।
रौतहटको माध्यमिक विद्यालय डुमरियाका प्रधानाध्यापक प्रेमनारायण चौधरीले १० कक्षाका विद्यार्थीका लागि कोचिङ चलाए पनि अन्य तहमा पढाएजतिबाट मात्र प्रश्न बनाएर परीक्षा लिएको बताए ।
उच्च माध्यमिक तहका विद्यार्थीले पनि बन्दको असर भोग्नुपरेको छ । सिराहको जेएस मुरारका उच्च माविमा वाणिज्य संकायको कक्षा १२ मा अध्ययनरत निर्मला मगर परीक्षा नजिकिइसक्दासमेत कोर्स पूरा नहुँदा लक्ष्य पूरा हुन नसक्ने चिन्तामा छिन् । १२ कक्षाको परीक्षा वैशाख २० देखि हुँदैछ । ‘३० प्रतिशत कोर्स पूरा भएको छैन,’ उनले भनिन्, ‘अब एक महिनामा के सकिन्थ्यो ।’
कक्षा १२ मै अध्ययनरत मनीष खत्रीको पिरलो पनि उस्तै छ । ‘कोर्स पूरा नहुँदै परीक्षाको तयारीमा जुट्नुपर्ने भयो,’ उनले भने, ‘नतिजा के होला रु’ लामो समयसम्म बन्द रहने अवस्था देखिएपछि मंसिरदेखि पोसाकविहीन अवस्थामै विद्यालय सञ्चालन गरे पनि कोर्स पूरा हुन नसकिएको प्राचार्य तुलसीराम पोखरेलले बताए ।
‘शैक्षिक क्यालेन्डरअनुसार पढाइ हुनै सकेन,’ लहानको पशुपति आदर्श उच्च माविका प्राचार्य परमेश्वर रायले भने, ‘परीक्षा आउन लाग्दासमेत ८० प्रतिशत मात्र पढाइ भयो ।’ विद्यालय खोल्दा बन्दकर्ताको दबाबले बन्द गर्नु परेको उनको गुनासो छ । शिक्षासेवी रामस्वरूप महतोले राजनीतिक अधिकार प्राप्तिका लागि विद्यार्थीको भविष्यमाथि खेलवाड गर्नु राम्रो नभएको बताए ।
‘बन्दरहडताल गरे पनि विद्यालय सुचारु गरिनुपर्ने थियो,’ उनले भने, ‘आगामी दिनमा शैक्षिक संस्था बन्द नगर्न राजनीतिक दलहरूलाई आग्रह गर्दछु ।’ शैक्षिक संस्था बन्द गर्दा आफ्नै आफन्तको समेत सिकाइमा असर पर्ने शिक्षासेवीहरूको भनाइ छ ।
‘क्याच अ क्लास’ प्रभावकारी
तराई बन्दले अधुरो रहेको कोर्स पूरा गर्न सिरहा र सप्तरीको विद्यालमा सञ्चालन गरेको ‘क्याच अ क्लास’ कार्यक्रम प्रभावकारी देखिएको छ । शिक्षा कार्यालयले प्राथमिक तहका विद्यार्थीको सिकाइ स्तर सुधार गर्न शिक्षकहरूलाई दुई दिने तालिम दिएर कार्यक्रम सुरु गरेको थियो । तीन महिनाभन्दा बढी विद्यालय बन्द भए पनि छुटेको कोर्स पूरा गर्न ‘क्याच अ क्लास’ प्रभावकारी भएको शिक्षकहरू बताउँछन् ।
सिराह र सप्तरीका १ हजार सय ७६ शिक्षकलाई माघ अन्तिम साता आपतकालीन शिक्षण विधि ‘क्याच अ क्लास’ तालिम दिइएको थियो । एउटा विद्यालयका दुई प्रावि शिक्षकलाई तालिम दिइएको थियो । विद्यार्थीलाई खोपी खेलाएर, नचाएर, अन्ताक्षरी गराएर सिकाएको शिक्षकहरू बताउँछन् ।
सप्तरीको मसिलाल जनता उच्च मावि कुसहाका प्रधानाध्यापक हंसनारायण मेहताले आपतकालीन समयमा यस्तो तालिम अति प्रभावकारी र नमुना भएको बताए । सिराहको प्राथमिक विद्यालय चैनपुर धनगढी ९ की शिक्षिका अर्चना यादव तराई बन्दअघि किताबमा भएको कुरालाई मात्र आधार मानेर पढाउँथिन् ।
उनको विद्यालय गत साउन २८ देखि कात्तिक १७ सम्म बन्द भयो । विद्यालय खुलेपछि आधाभन्दा बढी विद्यार्थी अनुपस्थित भए । दुई तिहाइभन्दा बढी कोर्स पढाउन बाँकी थियो । बन्द खुले पनि कोर्स अघि बढाउन गाह्रो परेको थियो । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा शिक्षा कार्यालयले सञ्चालन गरेको तालिम लिएर फर्केपछि उनले पढाउने तरिकामा परिवर्तन गरिन् ।
तालिमपछि एक र दुई कक्षाका विद्यार्थीलाई एउटै कक्षामा राखियो भने तीन र चार कक्षालाई अर्कोमा । ४५ मिनेटको पिरियडलाई बढाएर ९० मिनेटको बनाइयो । ‘च्याप्टर मिल्ने जति कक्षाका विद्यार्थी एकै ठाउँमा राखेर पढाएँ,’ जनता प्राथमिक विद्यालय इटारीका शिक्षक फुलदेव यादवले भने, ‘विद्यार्थीलाई थोरै समयमा धेरै सिकाउन सकियो ।’
खेल विधिबाट सिकाउन थालेपछि विद्यालय छाडेका विद्यार्थी पनि कक्षामा सहभागी भएको अर्चनाले बताइन् । ‘खेल से पढाइ भन्दै कक्षा छाडेका विद्यार्थी आए,’ उनले भनिन्, ‘अरू बेला पढाउँदा कक्षामा हल्ला हुन्थ्यो । खेल्दै सिकाउँदा विद्यार्थीले पनि पढाइलाई बोझका रूपमा लिएनन् । कोर्स पनि अघि बढाउन सजिलो भयो ।’
सप्तरी कल्याणपुरको भवानीप्रसाद सकलप्रसाद रामप्रसाद जनता उच्च माविका शिक्षक घुरनप्रसाद चौधरीले सरकारले दिएको १० महिने तालिमलाई व्यवहारमा लागू गर्न नसके पनि दुईदिने तालिम प्रयोगमा ल्याउँदा फलदायी र विद्यार्थीले छोटो समयमा रमाउँदै सिकेको बताए ।
सप्तरीका चार सय ४८ विद्यालयका ८ सय ९६ र सिराहको ४ सय ४० विद्यालयको ८ सय ८० शिक्षकलाई आपतकालीन शिक्षण विधिको तालिम दिएको थियो । तराई बन्दले कोर्स नसक्ने भएपछि सेभ द चिल्ड्रेनले लगानी गरेर शिक्षकहरूलाई दुईदिने तालिम दिएको सिरहाका शिक्षा अधिकारी महेन्द्र महतोले बताए ।
‘छोटो अवधिमा कसरी पढाउने रु भन्ने सिकाएको थियो,’ चौधरीले भने, ‘तालिममा सकेको ज्ञान डेढ साता मात्रै प्रयोग गर्यौं तर धेरै फलदायी भयो ।’ सप्तरीका शिक्षा अधिकारी भट्टराईले बन्दमा रोकिएको पढाइलाई पूरा गर्न तालिमले सहयोग गरेको बताए ।
तराईको सिकाइ स्तर कमजोर
शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र ९ईआरओ० ले २ वर्षअघि गरेको अध्ययनले तराईको शैक्षिक अवस्था कमजोर देखाएको थियो । त्यसमा तराई बन्दको असर पनि थपिन सक्ने विज्ञहरू बताउँछन् । केन्द्रले कक्षा ८ का विद्यार्थीमा गरेको सिकाइ अध्ययनअनुसार हिमाल र पहाडको तुलनामा तराईको शैक्षिक अवस्था कमजोर पाइएको थियो ।
पहाडी क्षेत्रका १४ जिल्ला, उपत्यकामा ३ र दाङ, रूपन्देही, सर्लाही, धनुषा, सिराह र सुनसरी गरी तराईका ५ जिल्लाका १ हजार १ सय ९९ विद्यालयका ४४ हजार ६७ विद्यार्थीमा सिकाइ उपलब्धि परीक्षण गरिएको थियो ।
उक्त अध्ययनमा नेपाली विषयको राष्ट्रिय औसत ४८, गणितको ३५ र विज्ञानको ४१ प्रतिशत पाइएको थियो । तराईका विद्यार्थीले भने राष्ट्रिय औसत नम्बर पनि प्राप्त गर्न नसकको केन्द्रको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै कक्षा तीन र पाँचको सिकाइ उपलब्धि पनि तराईकै कमजोर छ । केन्द्रले कक्षा तीनको नेपाली र गणित, कक्षा पाँचको नेपाली, गणित र अंग्रेजी विषयमा २८ जिल्लाका ८० हजार दुई सय ३२ विद्यार्थीको सिका उपलब्धि परीक्षण गरेको थियो ।
यो अध्ययनका लागि तराईको सात जिल्ला सप्तरी, महोत्तरी, पर्सा, चितवन, कपिलवस्तु, बर्दिया र कैलाली छनोट गरेको थियो । केन्द्रका अनुसार कक्षा ३ को राष्ट्रिय औसत उपलब्धि नेपालीमा ६३ र गणितमा ६० रहेको छ । कक्षा पाँचको नेपालीमा ६०, गणितमा ५३ र अंग्रेजीमा ५४ प्रतिशत रहेको छ ।
‘काठमाडौं उपत्यकाको सिकाइ उपलब्धि सबैभन्दा उच्च देखियो । हिमाली क्षेत्रको केही राम्रो छ भने तराई क्षेत्रका विद्यार्थीहरूको उपलब्धिस्तर सबैभन्दा कम देखिएको छ,’ केन्द्रको प्रतिवेदनमा भनिएको छ, ‘सिकाइ उपलब्धि न्यून हुनुको कारण पत्ता लगाउन विस्तृत अध्ययन गर्ने र त्यसका आधारमा शिक्षाको स्तर बढाउने विशेष कार्यक्रम सञ्चालन गर्नुपर्छ ।’
(कान्तिपुर दैनिकमा प्रकाशित)
प्रतिक्रिया