काठमाडौँ, १३ चैत्र । पूर्वप्रधानमन्त्री एवम् एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले समुदायको सक्रियतामा स्थापना भएका सामुदायिक क्याम्पसहरूलाई समेट्ने गरी पब्लिक विश्वविद्यालय स्थापना गरिनुपर्ने बताएका छन् । नेपाल पब्लिक क्याम्पस संघको १० औं राष्ट्रिय महाधिवेशन शुक्रबार राजधानीमा उद्घाटन गर्दै नेपालले समुदायको लगानी संरक्षण गर्न पनि पब्लिक विश्वविद्यालय स्थापना हुनुपर्ने औंल्याए ।
पब्लिक विश्वविद्यालय स्थापनाका लागि आफूले सक्दो पहल गर्ने पनि नेपालले आश्वासन दिएका छन् । ‘विश्वविद्यालय स्थापनाका लागि आवश्यक नीति निर्माण गर्न मेरोतर्फबाट सम्बन्धित निकायमा पहल गर्नेछुु, नेपालले भने, ‘सामुदायिक क्याम्पसको स्तरवृद्धिका लागि पनि यो काम हुनु जरुरी छ ।'
संघले पब्लिक क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीको स्तर निर्धारण गरी सेवासर्त तोक्न, सदस्य क्याम्पसहरूको गुणस्तर वृद्धि गर्न नियमित अनुगमन गर्र्न, सार्वजनिक क्यम्पसले भोगचलन गर्दै आएको जग्गाको स्वामित्व सम्बन्धित क्याम्पसलाई हस्तान्तरण गराउन पहल गर्ने तथा शैक्षिक गुणस्तर अभिवृद्धि गराई गुणस्तर सुनिश्चितता गराउनेलगायतका विषयमा ध्यान दिन पब्लिक विश्वविद्यालयको स्थापना हुनुपर्ने माग गर्दै आएका छन् ।
संघका अध्यक्ष डा। ईश्वर गौतमले विश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चिततासम्बन्धी प्रमाणपत्र दिएका १२ वटामध्ये ११ वटा क्याम्पस सामुदायिक भएको जानकारी दिए । ‘तर यस्ता क्याम्पसमा पढाउने शिक्षक, कर्मचारीको सेवासर्तको निश्चित नियम तथा क्याम्पसको समेत स्थायित्वका लागि कानुन छैनु, गौतमले भने ।
अध्यक्ष गौतमका अनुसार मनाङबाहेक अन्य सबै जिल्लाका सामुदायिक क्याम्पस संघमा आबद्ध छन् । हाल मुलुकभर चार सय ७१ वटा पब्लिक क्याम्पस छन् । शनिबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । शुक्रबारको बन्दसत्रले महासचिव तथा कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ ।
(अन्नपुर्णपोष्ट दैनिकमा प्रकाशित)
प्रतिक्रिया