Edukhabar
आइतबार, १८ फागुन २०८१
अन्तैवाट

त्रिविका क्याम्पस ‘वाईफाई जोन’ बन्दै !

शनिबार, १३ चैत्र २०७२

काठमाडौँ, १३ चैत्र । त्रिभुवन विश्वविद्यालयले केन्द्रीय कार्यालयलगायत सबै आंगिक क्याम्पसमा ‘वाईफाई जोन’ विकास गर्ने भएको छ । पहिलो चरणमा कीर्तिपुरस्थित त्रिवि केन्द्रीय कार्यालयमा यसै वर्षबाट सुरु गरिने अधिकारीले जनाएका छन् । 

उपकुलपति प्राध्यापक तीर्थराज खनियाँका अनुसार त्रिविको पठनपाठन र अनुसन्धानलाई प्रविधियुक्त शिक्षणका रूपमा विकास गर्ने उद्देश्यले ‘वाईफाई जोन’ बनाउन लागिएको हो । ‘ई–लर्निङ, ई–प्रशासन, ई–पुस्तकालय, अनलाइन र दूर शिक्षाजस्ता क्षेत्रमा एक्काइसौं शताब्दीको आधुनिक शिक्षाको पहुँच पुर्‍याउन वाईफाई जोन बनाउन पहल गरिएको हो,’ उपकुलपति खनियाँले भने, ‘प्रारम्भिक चरणमा त्रिवि कीर्तिपुर परिसरलाई वाईफाई जोन बनाइने छ ।’ 

त्यस निम्ति प्राध्यापक लेखनाथ शर्माको संयोजकत्वमा गठित प्राविधिक समितिले प्रतिवेदनका आधार प्रक्रिया अघि बढाइएको जनाइएको छ । प्रतिवेदनअनुसार तीन चरणमा वाईफाई विस्तार गरिने छ । कीर्तिपुर हातामा त्रिविको केन्द्रीय कार्यालय, ३३ विभाग, डिनको कार्यालय, अनुसन्धान केन्द्रहरू, परीक्षा नियन्त्रण कार्यालय, प्राध्यापक आवास, छात्रावास, केन्द्रीय पुस्तकालयलगायत रहेका छन् । त्रिविको देशभरिमा ६० आंगिक क्याम्पस छन् । दोस्रो चरणमा उपत्यकाभित्रका आंगिक क्याम्पसहरू र तेस्रो चरणमा उपत्यका बाहिरका क्याम्पसमा विस्तार गरिने जनाइएको छ । 

त्रिविको समग्र कार्यप्रणालीमा शिक्षा व्यवस्थापन सूचना प्रणाली ९ईएमआईएस० विकास हुनेछ । त्रिविको देशभरिका सबै क्याम्पस तथा निकायको शैक्षिक तथा प्रशासनिक व्यवस्थापन एकसाथ हुनेछ । आर्थिक, शैक्षिक, जनशक्ति, परीक्षालगायत विषयमा ई–प्रशासनका माध्यमबाट हुनेछ ।  ‘संसारका विश्वविद्यालयहरूमा इन्टरनेटका माध्यमबाट गरिएका सबै शैक्षिक तथा प्रशासनिक गतिविधिजस्तै त्रिविले गर्नेछ,’ प्राविधिक समितिका संयोजक शर्माले कान्तिपुरसित भने, ‘हाम्रा प्रतिवेदनमा उल्लेख सबै अवधारणालाई औपचारिक रूपमा नेपाल टेलिकमलाई बताइसकेका छौं । सकेसम्म चाँडो प्रक्रिया पुर्‍याउन भनेका छौं ।’ 

त्यस निम्ति आर्थिक लागत स्टिमेट र पूर्वाधारका बारेमा नेपाल टेलिकमबाट औपचारिक सम्झौता हुन बाँकी रहेको विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल प्राध्यापक गोविन्द सुवेदीले जनाए । वाईफाईको व्यवस्थाले विद्यार्थीलाई पाठ्यसामग्री तथा सन्दर्भ सामग्री अनलाइनबाटै उपलब्ध गराइने छ । दुर्गममा रहेका विद्यार्थीलाई खुला तथा दूर शिक्षाका माध्यमबाट अनलाइनबाट पाठ्यसामग्री उपलब्ध गराउनका साथै प्राध्यापकहरूबाट भिडियो कन्फरेन्स कक्षा सञ्चालन गरिने छ । 

त्रिविले शिक्षण तथा अनुसन्धान कार्यलाई प्रभावकारी तुल्याउन विभिन्न देशका विश्वविद्यालयसित सम्झौता गरेको उपकुलपति खनियाँले जनाए । ती विश्वविद्यालयका कार्यक्रमहरूसमेत अनलाइनका माध्यमबाट विद्यार्थीलाई उपलब्ध गराइने छ । 

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया