Edukhabar
बुधबार, ०९ असोज २०८१
खबर/फिचर

सामुदायिकका शिक्षक : तलव भत्ता सरकारी, काम नीजिमा

शुक्रबार, १२ चैत्र २०७२

काठमाडौं - सामुदायिक विद्यालयका बहालवाला शिक्षकले नै बोर्डिङ स्कुल चलाएका छन् भन्दा तपाईंलाई आश्चर्य लाग्छ होला । आफू कार्यरत विद्यालयमा विद्यार्थी बढाउनुको सट्टा बोर्डिङमा विद्यार्थी आकर्षित गर्न सामुदायिकका शिक्षकलाई भ्याई नभ्याई छ । 'सरकारी काम कहिले जाला घाम' पारामा काम गर्ने तिनै शिक्षक नीजिमा रातदिन नभनी खटिएर विद्यार्थी बटुलिरहेका छन् ।

यसको ज्वलन्त उदाहरण सर्लाही सुखेपोखरीको त्रिभुजेश्वर जनता उच्च माध्यमिक विद्यालय पुग्दा फेला पर्छ । विद्यालयका विज्ञान शिक्षक दिनेश साहलाई विद्यालय छुट्टी हुन साथ नजिककैको अर्को विद्यालयमा पुग्न हतारो हुन्छ । सरकारी तलब भत्ता बुझने उनले आफ्नै लगानीमा बोर्डिङ सञ्चालन गरेका छन् । बोर्डिङमा व्यवस्थापन पक्ष मिलाउन उनलाई सधैजसो हतारो हुन्छ । सामुदायिकको चिन्ता लिने फुर्सद कहाँ मिल्नु !

‘सरकारले दिएको तलबले मात्रै के गर्नु ?,’उनी निर्धक्क भन्छन् ‘अरु काम गर्नु भन्दा अनुभव भएकै बिजनेश सुरु गरेका छौँ ।’ हरीवन ९ मा उनले जनमैत्री एकाडेमी नामको बोर्डिङ खोलेका छन् ।

उनी जस्तै बाराको जितपुर स्थित फकिरा गिरी राजेश्वर गिरी उच्च माध्यमिक विद्यालयका शिक्षक राजुकुमार सिंहले पनि नजिकै निजी विद्यालय सञ्चालन गरेका छन् । विद्यालयमा तीन सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको उनले बताए । निजी विद्यालय र सामुदायिक दुबैको व्यवस्थापन अनुभव लिएका उनी निजीमा जे जस्तो निर्णय गर्न पनि सहज हुने भएकोले गुणस्तर राम्रो हुने तर्क गर्छन् ।

‘निर्णय गर्दा कसैको डर हुदैँन’ उनी भन्छन् ‘कसरी विद्यार्थी बढाउने, कसरी विद्यालय राम्रो बनाउने ? भन्ने निर्णय गर्न कसैको मुख ताक्नु पर्दैन । सामुदायिक विद्यालयमा यस्तो सहज हुँदैन ।’

सरकारी तलब भत्ता लिएर विभिन्न पेशा व्यवसायमा संलग्न हुने सामुदायिक विद्यालयका शिक्षकको संख्या बढ्दो छ । शिक्षकले आफू आबद्ध विद्यालयमा पढाउन छाडेर राजनीति गर्ने तथा छुटटै व्यवसाय गर्न थालेपछि सामुदायियक विद्यालयको नतिजा खस्किन थालेको सरकारी अनुगमनले पनि पुष्टि गरिसकेको छ । बोर्डिङ सञ्चालन गर्ने शिक्षकलाई आफू कार्यरत विद्यालयको भन्दा पनि लागानी रहेको बोर्डिङ सुधारको चिन्ता हुन्छ । सामुदायिकमा त कर्तव्य र निष्ठाले मात्रै बाँध्ने हो तर उनीहरुले सञ्चालन गरेको नीजिमा लगानी र नाफा घाटाको कुरा हुन्छ ।  

शिक्षा विभागका निर्देशक बैकुण्ठ अर्याल सामुदायिकका शिक्षकको यस्तो काम गैह्र कानूनी हुने बताउँछन् । विभागीय अनुमती विना कुनै पनि शिक्षकले यस्तो काम गर्न नपाउने उनले बताए ।

'विद्यालयको पठन पाठनलाई बाधा पुग्ने गरी, कुनै पनि शिक्षकले नीजि विद्यालयमा पठन पाठन गर्न पाउँदैन' उनले भने, 'कुनै शिक्षकले यस्तो काम गरेको फेला परे विभागीय कारवाही हुन्छ ।'

हरेक नेपाली नागरिकलाई संस्था दर्ता गरेर व्यापार ब्यवसायमा लगानी गर्ने अधिकार भएपनि समान प्रकृतिको पेशाको प्रतिस्पर्धि हुने गरी शिक्षकले बोडिङ् चलाउनु गैह्र कानूनी हुने उनको भनाई छ ।

प्रकाशित मिति २०७२ चैत १२ गते

प्रतिक्रिया