Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

कहिले बन्छन कक्षाकोठा ? 

शुक्रबार, १२ चैत्र २०७२

काठमाडौँ, १२ चैत्र । महाभूकम्पको ११ महिना बिते पनि भक्तपुर दरबार स्क्वायरस्थित श्री पद्म उच्च माध्यमिक विद्यालयका विद्यार्थी अझै अस्थायी टहरामा अध्ययन गर्न बाध्य छन्। पुस माघको जाडोमा टहरामै बसेर पढेका उनीहरू चैतको गर्मीमा पनि त्यहीँ पढ्नुपर्ने संकेत देखिएपछि कक्षाकोठा कहिले बन्छ भन्दै सोध्न थालेका छन्। 

विसं १९८१ सालमा स्थापित श्री पद्म उच्च माध्यमिक विद्यालय देशकै चौथौ पुरानो र भक्तपुरको पहिलो विद्यालय हो। विद्यालयका प्रधानाध्यापक राम हाडाले पुरानो भवन भत्कँदा विद्यार्थी अस्थायी टहरामा पढ्न बाध्य भएको गुनासो गरे। विद्यालयले परिसरमा जस्तापाताबाट बनाएका १५ वटा अस्थायी टहराका कक्षाकोठामा विद्यार्थी पढिरहेका छन्।  

कक्षा टहरामा भएकै कारण जाडोका कक्षा बिहान ६ बजेको साटो ७:३० बजे मात्रै कक्षा सञ्चालन गरिएको हाडाले बताए। अब गर्मीमा जस्तापाताको टहरामा कसरी कक्षा सञ्चालन गर्ने उनी पिरोलिएका छन्। 

२००९ सालमा स्थापित भक्तपुरकै यालाछें व्यासीस्थित अर्को पुरानो श्री शारदा उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक उद्धव सुजखू अस्पष्ट सरकारी नीतिका कारण विद्यार्थी अहिलेसम्म टहरामै पढ्न बाध्य भएको बताउँंछन्। ुन सरकार विद्यालय भवन निर्माण गर्छ, न त दातालाई बनाउन अनुमति दिन्छ,ु प्रधानाध्यापक सुजखूले भने। 

सुजखूका अनुसार भवन बनाउन देश विदेशस्थित विद्यालयका पुराना विद्यार्थीमार्फत् जर्मनी, दक्षिण कोरियालगायत देशबाट सहयोगी आएका छन्। तर केकस्ता सर्तमा भवन निर्माण अनुमति दिने स्पष्ट नीति नहुँदा अनुमति दिन समस्या रहेको उनको भनाइ छ। साथै विश्व सम्पदा सूचीमा परेको स्थलमा भएकाले त्यसै अनुसार भवन बनाउनुपर्ने भएकाले पनि समस्या भएको उनको भनाइ छ।

टहरामै पढाउन बाध्य हुँदा विद्यालयमा घट्दै गएको विद्यार्थी संख्याप्रति विद्यालय चिन्तित छन्। उनीहरूको सामूहिक प्रश्न छ– विद्यार्थी हुन्जेल भवन निर्माण गर्ने सुरसार सरकारको छैन, एउटा पनि विद्यार्थी बाँकी नभएपछि मात्रै भवन निर्माण गरिदिने हो ? 

जिल्ला शिक्षा कार्यालय भक्तपुरका अनुसार जिल्लाका २ सय ६१ वटा सामुदायिक विद्यालयका भवनमध्ये रातो स्टिकर टाँसिएका ९४ वटा जोखिमपूर्ण छन्। साथै ३ सय ३३ वटा निजी तथा आवासीय स्कुलका भवनमध्ये ४७ वटामा रातो स्टिकर टाँसिएका छन्। सामुदायिक स्कुल भए पनि एसएलसीमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल समाज सुधार माध्यमिक विद्यालयलगायत दर्जनौं सामुदायिक र निजी विद्यालयका कक्षा अझै अस्थायी टहरामै सञ्चालन भैरहेका छन्। 

भक्तपुरका जिल्ला शिक्षा अधिकारी दिनेश श्रेष्ठले रातो स्टिकर टाँसिएका भवन निर्माण गर्नुपर्ने विद्यालयको नामावली शिक्षा विभागमा पठाइसकेको जनाए। विशेष गरी पहिलो प्राथमिकतामा विभिन्न प्राथमिक विद्यालयका २५ वटा भवन बनाउनुपर्ने भन्दै विभागमा सिफारिश पठाइसकेको उनले जनाए। सरकारले छिट्टै निर्माण सुरु गर्ने अपेक्षा श्रेष्ठले गरे। सामान्य मर्मतसम्भार गर्दा हुने भवनका लागि भने सम्बन्धित विद्यालयलाई भने सहयोग गरेको उनले बताए। 

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया