Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

भर्ना स्कुलमा, पढाइ अवैध कक्षामा

शुक्रबार, १२ चैत्र २०७२

काठमाडौँ, १२ चैत्र । आदर्श माध्यमिक विद्यालय रतौली महोत्तरीका विद्यार्थी जनकपुरको रेडियन्ट ट्युसन सेन्टरमा दुई वर्षदेखि पढिरहेका छन् । विद्यालय छाडेर यस्ता अवैध कक्षामा पढेकै आधारमा उनी एक सातापछि हुने एसएलसी परीक्षामा सहभागी हुँदै छन् । उनी सामुदायिक विद्यालयमा भर्ना भए पनि नियमित कक्षा भने लिएका छैनन् ।

उनलाई आफ्नो विद्यालयको नामसमेत भन्न आउँदैन । विद्यालयको नाम सोध्दा उनी ‘रेडियन्ट कोचिङ सेन्टर’ भन्छन् ।  परीक्षा फाराम अभिभावक र आफन्तले भरिदिन्छन् । भर्ना गरेपछि पुस्तक लिन गए । यो क्रम नौ कक्षादेखि चलिरहेको छ । ‘विद्यालयमा भर्ना गरेको छु, राम्ररी पढाइ हँुदैन,’ ती विद्यार्थीले भने, ‘परीक्षा फाराम भरिसकेको छु । अब एसएलसी परीक्षा दिनमात्रै जान्छु ।’

नौ कक्षा पनि उनी यसैगरी पढेर पास भए । विद्यालयका शिक्षकले हाजिरमा उनको नाम सुनेका छन्, तर देखेका छैनन् । ‘कुनै पनि शिक्षक चिन्दिनँ,’ उनले भने, ‘विद्यालयमा पढाइ हुँदैन, यहीं राम्रो लाग्छ ।’  रौतहट पशुपतिनगरको दुर्गा माविका केही विद्यार्थी महोत्तरीको बर्दिबास एजुकेसन फाउन्डेसन एन्ड ट्युसन सेन्टरमा पढिरहेका छन् । ती विद्यार्थी पनि  विद्यालयमा हाजिर हुँदैनन् । मासिक १ हजार शुल्क तिरेर गत वैशाखदेखि ट्युसन सेन्टरका ‘अवैध कक्षा’ लिइरहेका छन् । 

विद्यालयले लिने त्रैमासिक परीक्षा भने दिन जाने गरेका छन् । बर्दिबासबाट १० किलोमिटरको दूरीमा विद्यालय भए पनि जाँदैनन् । विद्यालयमा शिक्षक भए पनि पढाइ नहुने भएपछि मासिक शुल्क तिरेर बर्दिबासमै पढ्ने गरेको ती विद्यार्थीले बताए ।  ‘शिक्षकहरू छन्, पढाइ हुँदैन,’ कोर्स पूरा गर्न ८ हजार तिरेर अर्कै कक्षा लिइरहेका ती विद्यार्थीले भने । कोठा भाडासहित मासिक साढे तीन हजार खर्च हुने गरेको उनले बताए । 

जनकपुरको गोल्डेन ट्युसन सेन्टरमा २० भन्दा बढी सामुदायिक विद्यालयका डेढ सय बढी विद्यार्थी पढ्छन् । उक्त सेन्टरका सञ्चालक अजयकुमार शर्माले मासिक शुल्कमा विद्यार्थी पढाइरहेको बताए ।कोचिङ सेन्टरको नाममा अवैध रूपमा विद्यालय सञ्चालन भए पनि कसैले कारबाही गर्न सकेको छैन । ‘मासिक शुल्क लिएर सयौं विद्यार्थी पढाइरहेका छन्,’ सिरहाका एक निजी विद्यालय सञ्चालकले भने, ‘जस्तोसुकै गैरकानुनी काम गर्दा पनि छुट दिइरहेको छ ।’

यो समस्या तराईका सबैजसो जिल्लामा छ । जनकपुरमा मात्रै ५० भन्दा बढी यस्ता कोचिङ सेन्टर सञ्चालनमा छन् । यस्ता अवैध विद्यालयले सञ्चारमाध्यममा पास गराउने ग्यारेन्टीसहित विज्ञापन गराएर विद्यार्थी आकर्षित गराउने गरेका छन् । विद्यालय शिक्षामा अक्षरांकन पद्धति कार्यान्वयन कार्यविधिको पाठ्य घण्टा र क्रियाकलापमा शिक्षक र विद्यार्थीबीच प्रत्यक्ष संवाद र सहकार्य गरेर सिकाइ सम्बन्धित अतिरिक्त क्रियाकलापलाई पाठ्य घण्टामा गणना गर्नुपर्ने उल्लेख छ । 

‘एक शैक्षिक सत्रमा विद्यालय खुलेको वा पठनपाठन भएको दिनको ७५ प्रतिशत हाजिरी भएको विद्यार्थीलाई मात्रै एसएलसी वा वार्षिक परीक्षामा सामेल गराउनुपर्ने छ,’ कार्यविधिमा भनिएको छ । परीक्षा नियन्त्रण कार्यालयले त्यति हाजिरी नपुग्ने विद्यार्थी अयोग्य हुने घोषणा हरेक वर्ष गर्ने गरेको छ । तर, यस्ता अवैध विद्यालयमा विद्यार्थीहरू पढेर परीक्षा दिइरहेका छन् ।

ट्युसन सेन्टरका अवैध कक्षामा पढाउने शिक्षकहरू भने सामुदायिक विद्यालयकै हुने गरेका छन् । दिउँसो सामुदायिक विद्यालयमा पढाउँछन् । बिहान, बेलुका अवैध कक्षामा प्रतिपिरियड मासिक दुईदेखि तीन हजार रुपैयाँ लिएर पढाउने गरेका छन् । 

बर्दिबासको ट्युसन सेन्टरका प्रमुख सुवास झाले विद्यालयमा भर्ना गरेर आफ्नो सेन्टरमा ७२ विद्यार्थीले वैशाखदेखि पढिरहेको बताए । ‘उनीहरू विद्यालय भर्ना गरेर मैले चलाएको कक्षामा पढिरहेका छन्,’ उनले भने, ‘सामुदायिक विद्यालयमा विश्वास नभएर मेरोमा आएका छन् । विद्यार्थीले आफ्नो भविष्य बर्बाद हुन नदिन पैसा तिरेर पढ्ने गरेका हुन् ।’

८ विषयको कोर्स सकाएबापत ८ हजार लिने गरेको उनले बताए । सामुदयिक विद्यालयकै शिक्षकहरूले आफ्नो सेन्टरमा पढाउने गरेको उनले जानकारी दिए ।  विद्यार्थीहरू छात्रवृत्ति बाँडदा र परीक्षाका बेला मात्रै आफू भर्ना भएको विद्यालयमा जाने गरेका छन् । ‘यहाँको सामुदायिक विद्यालयमा त डिग्रीको कक्षा जस्तै हुन्छ,’ शंकर जनता उच्च माध्यमिक विद्यालय चक्करका नेपाली शिक्षक लोकनाथ खतिवडाले भने, ‘परीक्षाका बेला ९० विद्यार्थी सहभागी हुन्छन् । अरू बेला कक्षामा ३५ जना पनि मुस्किलले आउँछन् ।’ 

उनी पनि बिहान यस्तै कोचिङमा पढाउँछन् । उनले पढाउने विद्यालयमा कक्षा सातमा हाजिरी रजिस्टरमा १ सय १५ जनाको नाम छ । तर, कक्षामा बढीमा ४५ जना मात्रै हुन्छन् । वार्षिक परीक्षामा भने ९६ जना सहभागी छन् । कोचिङको नाममा खुलेका अवैध विद्यालयले आठ कक्षादेखि पढाउने गरेका छन् । ‘विद्यालय नआउने विद्यार्थीको हाजिरमा अनुपस्थित हुन्छ,’ उनले भने, ‘परीक्षा फी तिरेपछि परीक्षा दिलाउँछन् ।’ 

अवैध कक्षा चलाउने जनकपुरमा मात्रै ५० भन्दा संस्था रहेको रेडियन्टका सञ्चालक रोशन यादवले बताए । उनका अनुसार जनकपुरको कोचिङमा महोत्तरी, सिरहा, सर्लाही धनुषाका विद्यार्थी पढ्न आउँछन् । 

नेपाली शिक्षक खतिवडा एक वर्षअघिसम्म तीन वटा कोचिङ सेन्टरमा पढाउँथे । ‘भर्ना भएका विद्यार्थी हाम्रोमा कोचाकोच हुन्छन्,’ उनले भने, ‘विद्यालयमा भने न्यून विद्यार्थी छन् ।’ शंकर जनता उच्च माध्यमिक विद्यालय चक्करका अंग्रेजी शिक्षक सरोजकुमार सिंह दनुवारले पढाइ नहुने विद्यालयका विद्यार्थी कोचिङमा आउने गरेको बताए । उनी पनि बिहान, बेलुका कोचिङ सेन्टरमा पढाउँछन् । ‘यस्ता कोचिङमा पढाउने ९० प्रतिशत सामुदायिक विद्यालयका शिक्षक छन्,’ खतिवडाले भने । 

राजविराजको ब्रिलियन्ट एजुकेसन सेन्टरका लगानीकर्ता अशोककुमार माझीले सामुदायिक विद्यालयको गुणस्तर कमजोर भएपछि सुधार गर्न छुट्टै सेन्टर खोलेर पढाउन थालेको बताए । राजविराजकै प्यासिफिक ट्युटोरियलका सञ्चालक मुक्तिलाल रजकले आफूले आठ कक्षादेखि स्नातक तहसम्मका विद्यार्थी पढाउने गरेको बताए ।

एसएलसी दिने एक सय ५० भन्दा बढी विद्यार्थी उक्त सेन्टरमा पढिरहेका छन् । ट्युसन सेन्टरमा पढ्ने विद्यार्थीहरूले भर्ना भएको विद्यालयमा शिक्षक नियमित नआउने तथा केहीमा पर्याप्त नभएको गुनासो गर्छन् । ‘साइन्स शिक्षक नै छैनन् । कुनै पनि वर्ष कोर्स सकिएको छैन,’ मोहन माध्यमिक विद्यालय धनुषाका एक विद्यार्थीले भने, ‘कोचिङ सेन्टरमा नपढेर कहाँ जानू ?’

पर्साको एचएन के कोचिङ सेन्टरका लालबाबुप्रसाद यादवले एसएलसी दिने साढे पाँच सय विद्यार्थीलाई आफूले नयाँ शैक्षिक सत्र सुरु भएदेखि पढाइरहेको बताए । पूरै कोर्स सकाएको उनी साढे ६ हजार लिन्छन् । पिरियडका आधारमा प्रतिपिरियड २० रुपैयाँ लिने गरेका छन् । 

एउटा कक्षामा ६५ जनासम्म राख्ने गरेको उनले बताए । १५ वर्षदेखि बिनादर्ता सञ्चालन हुँदा पनि यस्ता सेन्टरलाई सम्बन्धित निकायले कारबाहीको दायरामा ल्याउन सकेका छैनन् । 

सामुदायिकमा भर्ना गरेर बोर्डिङमा

राजविराजको जनता मावि इटहरी बिसनपुरको हाजिर रजिस्टरमा २८ जना विद्यार्थीको नाम छ । तर, उनीहरू राजविराजकै म्यासेल अंग्रेजी बोर्डिङ स्कुलमा पढदै छन् । विद्यार्थीले टेस्ट परीक्षा बोर्डिङ र शिक्षा कार्यालयले लिएको कक्षा १० को स्तरमापन परीक्षामा पनि सहभागी भए । 

‘सरकारी विद्यालयमा त भर्ना मात्रै गरेको हो,’ एक विद्यार्थीले भने, ‘हामी सबै जना म्यासेलमा पढिरहेका छौं ।’ बोर्डिङमा पढाएबापत २२ हजार लिने गरेको ती विद्यार्थीले बताए । गाउँको विद्यालयमा भर्ना गरेर राजविराजका अन्य निजी विद्यालयमा पढ्ने धेरै विद्यार्थी छन् । 

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया