Edukhabar
बुधबार, ०९ असोज २०८१
विदेशमा शिक्षा

मेडिकल पढ्न विदेशिनेबाट यो बर्ष मात्रै झण्डै सवा ७ अर्व रकम बाहिरियो

शुक्रबार, ०५ चैत्र २०७२

काठमाडौं– यसबर्ष मात्र मेडिकल शिक्षा अध्ययनमा विदेशिने विद्यार्थीबाट ७ अर्व १३ करोड रुपैयाँ भन्दा धेरै रकम विदेशिएको छ । नेपाल मेडिकल काउन्सिलका अनुसार एमबीबीएस, बिडीएस र एमडी अध्ययन गर्न यसबर्ष मात्रै १९ सय २ विद्यार्थी विदेशिएका छन् ।

यसरी विदेशिने विद्यार्थीको शुल्कलाई सामान्य लागतको आधारमा गुणन गर्दा उल्लेखित रकम विदेशिएको पुष्टि भएको हो । काउन्सिलका अनुसार एमबीबीएस अध्ययन गर्न १२ सय ७४ विद्यार्थी विदेशिएका छन् । त्यसैगरी बिडीएस अध्ययन गर्न १ सय ८७ र पोष्ट गे्रजुएट अध्ययन गर्न ४ सय ४१ जना विद्यार्थी विदेशिएका छन् ।

एमबीबीएस अध्ययन गर्नेहरु चीन, बंगलादेश, फिलिपिन्स, भारत, पाकिस्तान, रसिया, ईजिप्ट, किर्गिस्तान र उत्तर अमेरिकी मुलुक गुयना लगायतका देश सम्म गएका छन् । ती मध्ये सबैभन्दा धेरै ९ सय २ बंगलादेश, २ सय ९ चीन, १ सय ७ फिलिपिन्स गएको तथ्यांक छ । एमबीबीएस अध्ययन गर्ने विद्यार्थीले बर्तमान अवस्थाामा विदेशमा पनि श–सुल्क अध्ययन गर्दा न्युनतम ३० देखि ४५ लाख रुपैयाँसम्म खर्चिने गरेका छन् ।
प्रति विद्यार्थी  सरदर ३५ लाख रुपैयाँ शुल्कलाई आधार मानेर गुन्दा यसबर्ष मात्रै ४ अर्ब ७५ करोड ९० लाख रुपैयाँ एमबीबीएस अध्ययनका लागि विदेशिएका विद्यार्थीबाट बाहिरिएको छ ।

त्यसैगरी बिडिएस तर्फ १ सय ८७ विद्यार्थी बाहिरिएको तथ्यांक छ । प्रति विद्यार्थी २५ लाख रुपैयाँ शुल्क कायम गर्दा उल्लेखित विद्यार्थी बराबर ४६ करोड ७५ लाख रुपैयाँ बाहिरिएको तथ्य पुष्टि हुन्छ । बिडिएस अध्ययन गर्न जाने विद्यार्थी मध्ये सबैभन्दा अधिक १ सय ६० जना मात्र बंगलादेश गएको तथ्यांक छ । बाँकी अन्य मुलुकमा गएका छन् ।

त्यसैगरी विभिन्न देशबाट एमबीबीएस अध्ययन गरेर स्वदेशमा उच्च शिक्षाको अध्ययन अवसर नपाए पछि श–सुल्क  पोष्ट ग्रेजुएट तहको अध्ययन गर्न यसबर्ष जाने विद्यार्थीको संख्या ४ सय ४१ छ । पोष्ट ग्रेजुएट तहको अध्ययनमा सबै भन्दा धेरै २ सय १४ विद्यार्थी यसबर्ष चीन गएका छन् । त्यसैगरी ७६ जना फिलिपिन्स, ६१ जना भारत, ३९ जना वंगलादेश, १४ जना ईजिप्ट सहित पाकिस्तान, बेलायत, जापान, अमेरिका लगायतका १५ मुलुकमा अध्ययनका लागि गएका छन् ।

पोष्ट ग्रजुएट अध्ययन गर्न न्युनतम ४० देखि ८० लाख रुपैयाँ प्रति विद्यार्थी खर्च हुने गरेको छ । उनीहरुले तिर्ने शुल्कलाई न्युनतम आधार मानेर प्रति विद्यार्थी ५० लाख रुपैयाँले गुन्दा २ अर्ब २० करोड ५० लाख रुपैयाँ विदेशिएको अनुमान छ । नेपालका मेडिकल कलेजमा अध्ययनको अवसर सजिलै नपाउनेहरु विदेशिने गरेको विदेशिने विद्यार्थीलाई परामर्श दिदै आएका अर्विट एमबिबिएसका प्रवन्ध निर्देशक सुनिल रेग्मी बताउँछन् । मेडिकल अध्ययनमा मात्र यति धेरै विद्यार्थी बाहिरिएको अवस्थामा सरकारले ईजिप्ट र चीनको मोडलमा मेडिकल कलेज संचालन गरेर स्वदेशमा अवसर र पुँजी पलायन रोक्न सक्नु पर्ने रेग्मी बताउँछन् । उनले भने 'शिक्षाको अवसरका लागि स्वदेशको पुँजी पलायन हुनु दुःखद् हो ।'

यस बारेमा नयाँ शिक्षा नीति बनाउने तर्खरमा रहेको सरकारले ध्यान पु¥याउन आवश्यक छ ।

त्रिभुवन विश्वविद्यालयका उप कुलपति प्रा.डा.तीर्थ खनियाले नेपालको विद्यमान शिक्षा नीतिले गर्दा मेडिकल अध्ययन गर्न विद्यार्थी बाहिरिनु पर्ने अवस्था रहेको बताए । उनले भने 'यहाँ राजधानी केन्द्र्रित रहेर मेडिकल कलेज संचालन गर्न खोजिनु त्यसका धेरै कारण मध्यको एक हो ।' खनियाँले नेपाली परिवारमा आएको सम्पन्नताका कारण पनि विदेशको शिक्षा आर्कर्षित भएको तर्क गरे ।

मेडिकल काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारी मेडिकल अध्ययनका लागि विद्यार्थी विदेशिनबाट रोक्न स्वदेशमा क्षमता अभिबृद्धि गर्नुको विकल्प नभएको बताउँछन् । उनले भने 'राजधानी केन्द्रित नभएर मोफसलमा पनि मेडिकल कलेज खोल्न लागनीकर्ताले ध्यान दिन आवश्यक छ । त्यसका लागि सरकार उनीहरुलाई आवश्यक सहयोग गर्न तयार छ ।'

नेपालमा ३ प्रतिष्ठान सहित २० मेडिकल कलेजमा बार्षिक करिब २ हजार विद्यार्थी मेडिकल अध्ययनका लागि भर्ना हुने गरेका छन् । ती मध्ये करिब ३ सयले छात्रबृत्तिको अध्ययन अवसर पाउने गरेका छन् । मेडिकल शिक्षामा भैरहको अनावश्यक राजनीतिले स्वदेशको अध्ययन गुणस्तर समेत खस्किए पछि विद्यार्थी बाहिरिनु परेको कलेज संचालकहरुको भनाई छ ।  

प्रकाशित मिति २०७२ चैत ५ गते

प्रतिक्रिया