Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

विद्यालय सुधार्न कस्सिए अभिभावक

शुक्रबार, ०५ चैत्र २०७२

काठमाडौं ५ चैत / सरकारी सहयोग नआउने देखेपछि पूर्वविद्यार्थी रेशमबहादुर तामाङले १० थान कम्प्युटर उपलब्घ गराए । उनको सहयोगले अरू दाता थपिए । अहिले बालबालिकाले कम्प्युटर शिक्षा पाइरहेका छन् । शिशुदेखि तीन कक्षासम्म अंग्रेजी माध्यमबाट अध्यापन गराउन थालिएको छ ।

त्यसका लागि अभिभावकको आर्थिक सहयोगमा ५ जना शिक्षकको व्यवस्था मिलाइएको छ । सावाँ खर्च गर्न नपाइने गरी अभिभावकले १० लाखको अक्षय कोष खडा गरेका छन् । थप ८ लाख विद्यालयलाई आवश्यक पर्दा सापटी खर्च गर्न पाउने गरी अर्को कोष बनाइएको छ । कोष बढाउ‘दै लैजाने उद्देश्य राखिएको छ ।

विद्यालय हातामा स्विमिङ पुल र पुस्तकालय बनिरहेको छ । प्राजेक्टरबाट भर्चुअल कक्षा सञ्चालनका लागि व्यवस्थापन सुरु गरिएको छ । कक्षा ११ र १२ का १२ जना छात्रछात्रालाई वर्षेनी स्थानीय रूपमै छात्रवृत्तिको व्यवस्था गरिएको छ । अभिभावक भन्छन्, ‘साह्रै निम्न वर्गका विद्यार्थीले आर्थिक अभावमा पढाइ छाड्न नपरोस् भन्ने हेतुले अक्षय कोष खडा गरिएको हो । सिन्धुपाल्चोकको थुम्पाखर अन्र्तगत लामोसॉघु जिरी राजमार्गको महेन्द्रोदय उच्च माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न गरिएको प्रयासका केही उदाहरण मात्र हुन् । उक्त विद्यालयमा देखिएको सुधारले अभिभावकले चासो दिए सामुदायिक शैक्षिक संस्थाहरूलाई पनि नमुनाका रूपमा विकास गर्न सकिन्छ भन्ने सन्देश दिएको छ । शैक्षिक सुधारका अभियानता पूर्वप्रधानाध्यापक चक्रबहादुर बस्नेतले अनुभव सुनाए, ‘पछिल्लो एक वर्षमै अभिभावकले १८ लाखभन्दा बढी आर्थिक सहयोग मात्र गरेर शैक्षिक सुधारमा अभूतपूर्व एकता दिएका छन्,’ उनी भन्छन्, ‘यति उत्साहित अभिभावक कमै हुने गर्छन् ।’
 

२०१८ सालमा स्थापित विद्यालय अहिले जिल्लाकै नमुना बन्न खोजिरहेको छ । यसका लागि सहयोगी हातहरू जुट्दै छन्, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण कार्की उत्साहित हु‘दै भन्छन्, ‘सामुदायिक विद्यालयमा पढेको विद्यार्थी निजीको भन्दा कमजोर नहोस् भन्ने उद्देश्य छ ।’ भौतिक सुधार र छात्रवृत्ति कोषका लागि दुई वर्ष अघि ५ लाख निजी रकम दिएर अभियान सुरु गरेका कार्की अहिले थप सहयोग जुटाउन पहल गरिरहेका छन् । उनले यस वर्ष विद्यालय जन्मोत्सवको अवसरमा १ लाख ४ हजार उपलब्ध गराएर अभियानलाई निरन्तरता दिएका छन् ।

उनको अभियानमा पूर्वविद्यार्थी रेशमले १ लाख ११ हजार थपे । विद्यालय सुधार उत्कृष्ट देखेपछि छिमेकी जिल्ला र गाउ‘का अभिभावक पनि आकर्षित भएका छन् । अभियानमा सघाउन स्थानीय विष्णुमाया भण्डारीले १ लाख १० हजार उपलब्ध गराएकी छन् । त्यसैगरी, कृष्णबहादुर कार्कीले १ लाख ११ हजार सहयोग हस्तान्तरण गरेका छन् । काभ्रेका रमेश गौतमले २ लाख तथा प्रेमा लामाले १ लाख ७ हजार उपलब्ध गराएका छन् । पूर्व प्रअ बस्नेतले ५२ हजार उपलब्ध गराए । यमुनाडॉडाका देवेन्द्र खड्काले २५ हजार हस्तान्तरण गरेका छन् । ‘स्थानीय अभिभावकको उत्साह देखेर मलाई पनि अकर्षित गर्‍यो,’ खड्काले भने, ‘शैक्षिक संस्थाको विकासमा सहयोग गर्न पाएकोमा खुसी लागेको छ ।’ ‘उपलब्ध रकम शैक्षिक विकास र खेलकुदका लागि खर्च गरिनेछ,’ प्रधानाध्यापक नीलप्रसाद सुवेदीले भने, ‘भौतिक मात्र होइन, अध्ययनमा गुणस्तरीय सुधार ल्याउने प्रयासमा छौं, तल्लो कक्षाको जग बलियो बनाउन शिशुदेखि कक्षा तीनसम्मलाई अझ बढी प्राथमिकता दिएका छौं ।’ विद्यालयले अंग्रेजी भाषाको जग बलियो बनाउन निजी विद्यालयकै नक्कल गरेर नर्सरी, एलकेजी, यूकेजीपछि मात्र १ कक्षमा भर्ना गर्ने नीति बनाएको छ । ‘४ सय ७७ विद्यार्थी रहेको उक्त विद्यालयबाट उत्पादित छात्रछात्रा सबै क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने अभियानमा छौं,’ स्थानीय राजनीतिक कार्यकर्ता रामकुमार थापा भन्छन्, ‘यसका लागि सरकारी सहयोगको पनि जरुरी छ ।’ भूकम्पपछि विद्यालयको भौतिक सुधारका लागि सोही क्षेत्रका सांसद मोहनबहादुर बस्नेतको पहलमा सरकारी सहयोग प्राप्त भएको अभिभावक बताउ‘छन् ।

सरकारी सहयोगले मात्र भौतिक र शैक्षिक सुधार नहुने देखेपछि अहिले थुम्पारवासी आफ्नो शैक्षिक संस्था आफैं सुधारौं भन्ने अभियानमा लागेका छन् । १४ औं अभिभावक भेलामा उपस्थित स्थानीयले आफूहरू विद्यालय सुधारका लागि थप सहयोग गर्न प्रतिबद्ध रहेको जनाएका थिए । सम्मेलनमा सभामुख ओनसारी घर्तीले दाताहरूलाई सम्मान गरेर हौसला प्रदान गरेकी थिइन् । सहायक जिल्ला शिक्षा अधिकारी कृष्ण सुवेदीले विद्यालय जिल्लाभरमै नमुना बन्दै गएको बताए ।

ऋषिराम पौड्यालले कान्तिपुरमा लेखेका छन् ।

प्रतिक्रिया