Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

शिक्षा क्षेत्रमा राजनीतिक ‘खेल’: शिक्षककै निउँमा लफडा

शुक्रबार, ०५ चैत्र २०७२

काठमाडौं ५ चैत - जिल्ला शिक्षा कार्यालय सर्लाहीले वागमती मावि सिसौटमा शिक्षक सरुवा गरी पठाएको विरोधमा स्थानीयवासीले कार्यालय घेराउ गरे । त्यस्तै नोकेल्वाबासिले पनि शिक्षक नआउँदा बालबालिका पढाइबाट वञ्चित भएको भन्दै मलंगवामा विरोध प्रदर्शन गरे । सातामा शिक्षासँग जोडिएका दुइटा प्रदर्शन भएका हुन् ।

सिसौटबाट आएका प्रतिनिधिले सहमतिबिना सरुवा गरेको भन्दै कुनै हालतमा हाजिर हुन नदिने बताए । शिक्षक सरुवा अहिले कार्यान्वयन हुन सकेको छैन । राजनीतिक थलो बन्दै गएको शिक्षा क्षेत्रमा सहमतिभन्दा विवाद धेरै छ । अधिकांश विद्यालयमा व्यवस्थापन समिति गठन हुन सकेका छैनन् । सुरक्षा चुनौतीका कारण समिति गठन हुन नसकेको हो । हेमपुरस्थित विद्यालयमा छत ढलान गर्न कडा सुरक्षा राख्नुपर्‍यो । ढलान हुन दिने र नदिनेमा गाउँ विभाजित भएपछि प्रहरी सुरक्षामा काम गर्नुपर्‍यो ।

व्यवस्थापन समिति चुनावबाट विवाद चर्किने गरेको छ । पार्टीका उम्मेदवार समितिमा उठ्ने गरेकाले अनेकौं गुट हुने गर्छन् । समितिको चुनाव हुन नसक्नुको कारणमध्येमा पार्टीको हस्तक्षेप प्रमुख कारण हो । सहयोग जुटाएर विद्यालय सञ्चालन गरिने परम्परा अहिले उल्टिएको छ । विद्यालयलाई कमाउने भाँडो र राजनीति विस्तार थलो बनाइएको छ । सिसौटका विजय ठाकुरले पहिले विद्यालयलाई जमिन दान गर्ने र सघाउने परम्परा रहेको तर अहिले विद्याका मन्दिरलाई कमाउने स्थानमा परिणत गरिएको बताए ।

‘जमिन मिच्ने र विद्यालयलाई कमजोर बनाउने प्रवृत्ति बढेको छ,’ उनले भने, ‘पवित्र र आकर्षणको थलो मानिने शिक्षा क्षेत्रलाई अहिले घृणित बनाउने काम भएको छ ।’ व्यवस्थापन समितिले शिक्षक भर्ना, जमिनको भाडा, सरुवा सहमति जस्ता काम गर्दा ठूलो आर्थिक चलखेल हुने गरेको उनले बताए । अनियमितता बढेकाले अहिले पनि अख्तियारमा २ सय ४ उजुरी छानबिन क्रममा छन् । झोले प्रकृतिका विद्यालय चलाएर अनुदान लिएकामध्ये धेरैले रकम फिर्ता गरे । १ सय १ विद्यालयले विभिन्न शीर्षकमा निकासा लिएको अनुदान बापतको १ करोड ७४ लाख १७ हजार २ सय ७० रुपैयाँ सरकारी राजस्वमा दाखिला भएको थियो । अख्तियारले छानबिन थालेपछि मुद्दा लाग्ने डरले उक्त रकम फिर्ता भएको थियो ।

जिल्ला शिक्षा अधिकारी बद्रीनारायण शर्माले शिक्षा क्षेत्रमा राजनीति छिरेकाले विद्यालय साझा क्षेत्र बन्न नसकेको उल्लेख गरे । ‘व्यवस्थापन समिति नहुँदा शिक्षक नियुक्ति हुन सकेको छैन,’ उनले भने, ‘समिति गठन गर्ने सहमति नै जुटाउन कठिन छ । शिक्षकमा पनि पेसागत प्रतिबद्धता अभाव देखिन्छ । काठमाडौंपछि सबैभन्दा बढी दल र दल आबद्ध शिक्षक संगठन यहीं छ ।’

कान्तिपुरमा अमन कोइरालाले लेखेका छन् ।

प्रतिक्रिया