Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

शिक्षा ऐन संशोधन विधेयकमाथि दफावार छलफल सुरू

शुक्रबार, ०५ चैत्र २०७२

काठमाडौँ, ५ चैत । शिक्षा ऐन, २०२८ लाई संशोधन गर्न बनेको विधेयक, २०७२ माथि महिला, बालबालिका ज्येष्ठ नागरिक र समाज कल्याण समितिमा बिहीबारदेखि दफावार छलफल सुरू भएको छ । समितिको बैठकमा दफा १ देखि ३ सम्म संशोधन प्रस्ताव राखेका  सांसदले विधेयकमाथि आ–आफ्नो धारणा राखे । 

नेकपा (एमाले) का सांसद रामहरि सुवेदीले स्थायी शिक्षकले पाएसरह औषधि उपचार सुविधा पाउने व्यवस्था थप गर्नुपर्ने र जति वर्ष सेवा अवधि व्यतीत भएको छ सबै वर्ष गणना गर्नुपर्ने प्रस्ताव राखेका थिए ।  त्यसैगरी, नेपाली काँग्रेसका सांसद महालक्ष्मी उपाध्याय डिनाले अबको शिक्षा ऐन कसरी शिक्षालाई गुणस्तरीय बनाउन सकिन्छ भन्नेतर्फ केन्द्रित हुनुपर्ने धारणा राखेका थिए । 

एकीकृत नेकपा (माओवादी) का सांसद धनीराम पौडेलले विधेयकको दफा ३ रहेको ‘कक्षा १ देखि ८ सम्मको’ व्यवस्थाको सट्टा ‘कक्षा ८ सम्म’ बनाउनुपर्ने सुझाव दिए ।  शिक्षामन्त्री गिरिराजमणि पोखरेलले धेरै लामो छलफलपछि शिक्षा ऐन २०२८ माथि संशोधन हुन लागेकाले त्यसलाई अड्काउनेतिर भन्दा पनि अगाडि बढाउनेतिर सहयोग गर्न आग्रह गरेका छन् । 

नयाँ शैक्षिक सत्र सुरू हुनुभन्दा अगाडि चैत महिनाभित्र नै संशोधन गर्ने गरी तयारी भइरहेको उनको भनाइ थियो ।  समिति सभापति रञ्जुकुमारी झाले विधेयक महत्वपूर्ण र जरुरी भएका कारण पनि तीव्रताका साथ छलफल गरी अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए । 

रासस 

 

प्रतिक्रिया