Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

पानी बोक्नमै समय खर्चिन्छन् विद्यार्थी

शुक्रबार, ०५ चैत्र २०७२

काठमाडौँ, ५ चैत । गुल्मी दौघा गाविस–८ निवासी भावना थापाले कक्षा १ बाटै पानी बोक्न थालेकी हुन् । उनलाई अहिले झोलाको किताब कापीसँग भन्दा पनि डोको र गाग्रीसँग दिनहुँ अभ्यस्त हुनुपर्छ । 

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत भावनाको बिहान ४ बजे उठ्ने र भाइबहिनीलाई सँगै लिएर पानी बोक्नुपर्ने दैनिकी नै बनेको छ । एक गाग्री पानी लिन उनलाई दीपपानी जान साढे एक घन्टा र धारापानी पुग्न दुई घन्टा लाग्छ ।  छजनाको परिवारमा पानी धेरै लाग्ने भएकाले भावना र दुई भाइबहिनीले बिहान एक खेप र साँझ एक खेप पानी ल्याउनै पर्दछ । कुवा तथा पँधेरामा पुगेर फर्कन सरदरमा तीन घन्टा लाग्छ । 

भावनाले बिहानमा धेरैजसो दुई खेप पानी ल्याउनुपर्ने भएकाले ट्युसन ९अतिरिक्त कक्षा० पढ्न नसकेको गुनासो गरिन् । उनले बिहान पालो कुर्दा कैयौँ पटक विद्यालय छुटेको तथा बेलुका नौ–दश बजेसम्म पनि पँधेराबाट घर नआएको आफ्नो पीडा सुनाइन् । 

भावना त दौघा गाविसको प्रतिनिधि पात्र मात्र हुन् । खानेपानीबाट अति प्रभावित यो गाविसका नेपाल राष्ट्रिय मावि, काउले प्रावि, आलम प्रावि र कालिका प्राविका ९५ प्रतिशत विद्यार्थीको स्थिति भावनाको भन्दा कम छैन । नेपाल राष्ट्रिय माविका शिक्षक बालकुमार अर्यालका अनुसार पानीकै कारण विद्यार्थी विद्यालय छुटाउने र ढिला विद्यालय आउने गर्दछन् । साथै समयै विद्यालय पुग्न शिक्षकलाई पनि समस्या पर्ने गरेको छ । 

सोही माविका पूर्व प्रधानाध्यापक स्थानीय लेखनाथ ज्ञवालीले विद्यार्थीको गृहकार्य नै बिहान बेलुका पानी बोक्ने भएकाले पढाइमा समस्या भएको बताउनुभयो । उहाँका अनुसार प्रवेशिका परीक्षा नजिकै आइरहेका अवस्थामा परीक्षाको तयारीमा लाग्नुपर्ने कक्षा दशका थुपै्र विद्यार्थी यतिबेला कुँवा पँधेरामा पानीको पालो कुरेर बसेका देखिन्छन् । 

दौघा गाविसका पूर्वगाविस सचिव जुद्ध पछाइका अनुसार ७०० घरधुरीमध्ये ५०० भन्दा बढी घरपरिवारका दुई हजार ८०० उपभोक्ता वर्षौंदेखि खानेपानीको समस्याबाट आक्रान्त छन् । यही समस्याका कारण प्रत्येक वर्ष १५÷२० घर बसाइँसराइ गरी जिल्लाबाहिर जान यहाँका मानिस बाध्य बनेको बताइएको छ । 

रासस 

 

प्रतिक्रिया