Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

अन्तर विद्यालय ताइक्वान्दो भक्तपुरमा हुने

विहीबार, ०४ चैत्र २०७२

काठमाडौँ, ४ चैत । इन्टरनेसनल तेक्वान्दो डि–फेडेरेसन (इटीएफ)नेपालको आयोजना तथा विद्या विकास आवासीय माध्यमिक विद्यालय भक्तपुरको संयोजनमा यही चैत ६ गतदेखि पाँचौँ अन्तर विद्यालय ताइक्वान्दो प्रतियोगिता हुने भएको छ । 

विद्या विकास विद्यालयको प्राङ्गण जगाती भक्तपुरमा सम्पन्न हुने प्रतियोगितामा पुरुष व्यक्तिगत स्पाइरीङ प्रतिस्पर्धातर्फ २०–२५ केजी, २५–३० केजी, ३५–४० केजी, ४५–५० केजी, ५०–५५ केजी र ५५–६० केजी तौल समूहका आठ वटा तौल समूहमा आठ स्वर्ण, आठ रजत र १६ वटा कास्यको लागि प्रतिस्पर्धा हुनेछ ।  त्यसैगरी महिला व्यक्तिगत स्पाइरीङतर्फ २०–२५ केजी, २५–३० केजी, ३५–४० केजी, ४५–५० केजी तौल समूह गरी चार वटा स्वर्ण, चार वटा रजत र आठ कास्यको लागि प्रतिस्पर्धा हुनेछ । 

महिला र पुरुष व्यक्तिगत प्याट्रनतर्फ छ स्वर्ण, छ रजत र १२ कास्यको लागि प्रतिस्पर्धा हुनेछ भने महिला तथा पुरुष कलर बेल्ट खुल्ला स्पेसल टेक्निकमा दुई स्वर्ण, दुई रजत र दुई कास्यको लागि प्रतिस्पर्धा हुनेछ ।   कुल २० वटा स्वर्ण, २० रजत तथा ३८ कास्यको लागि प्रतिस्पर्धा हुने प्रतियोगितामा उपत्यका तथा काभ्रेका गरी आठ वटा विद्यालयका महिला २१ जना र पुरुष ८६ जना गरी कुल १०७ जना विद्यार्थीले सहभागिता जनाउने छन् ।  

उक्त प्रतियोगितामा पुरुष उत्कृष्ट तथा महिला उत्कृष्ट खेलाडी तथा टिमलाई प्रथम, द्वितीय र तृतीय ट्रफी प्रदान गरिने छ ।  उक्त प्रतियोगिताको सम्पूर्ण तयारी भइसकेको विद्या विकास आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल सुरेश अग्रवाल तथा ताइक्वान्दो आइटीएफ नेपालका अध्यक्ष लक्ष्मण बस्नेतले जानकारी दिए ।

रासस 

 

प्रतिक्रिया