Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

दृष्टिविहीन विद्यार्थीलाई घडी वितरण !

मंगलबार, ०२ चैत्र २०७२

काठमाडौँ, २ चैत । सुन्दै अचम्म लाग्ने १ दृष्टिविहीनलाई घडी १ मनमा जिज्ञासा पनि उठ्न सक्छ दृष्टिविहीनले घडीबाट कसरी समय थाहा पाउँछन् ? तर यहाँको एक विद्यालयमा अध्ययनरत विद्यार्थी र अध्यापनरत शिक्षकलाई आवाजमार्फत समय दिने घडी वितरण गरिएको छ । दृष्टिविहीनलाई पनि समयको जानकारी गराउने उद्देश्यले घडी वितरण गरिएको हो ।

सामाजिक क्षेत्रमा क्रियाशील रोट्याक्ट क्लब अफ पर्वतले रोट्याक्ट सप्ताह वर्ष २०१६ को अवसरमा दृष्टिविहीनमैत्री हाते घडी वितरण गरेको हो ।  बागलुङको नारायणस्थानमा सञ्चालित जनता धनु उच्च माविको दृष्टिविहीन स्रोत कक्षामा २३ जना दृष्टिविहीन विद्यार्थी र तीन जना शिक्षक शिक्षिकासहित २६ जनालाई दृष्टिविहीनमैत्री घडी प्रदान गरेको जनाएको छ ।

दृष्टिविहीनलाई हस्तान्तरण गरिएको घडीले बटन दबाएमा आवाजमार्फत समय बताउने गर्दछ । दृष्टिविहीनलाई २४सैँ घन्टाको समयबारे जानकारी दिनका लागि घडी वितरण गरिएको क्लबका अध्यक्ष सन्तोषराज पौडेलले बताए । दृष्टिविहीन पनि समयानुसार चल्न सकून् र आफूलाई परिवर्तन गर्न सकून् भन्ने उद्देश्यले घडी प्रदान गरिएको उनले बताए ।

घडी पाएपछि खुसी भएका कक्षा ९ का दृष्टिविहीन छात्र दीपक अधिकारीले क्लबले दृष्टिविहीनलाई पनि घन्टैपिच्छे समयको अवगत गराउने सामग्री उपलब्ध गराएकोमा खुशी व्यक्त गरे । त्यस्तै सबै विद्यार्थी र शिक्षकले पनि घडीले जीवनमा परिवर्तन ल्याउने विश्वास बढेको भन्दै खुसी व्यक्त गरेका छन् ।

विद्यालयमा आँखा नदेख्ने विद्यार्थीलाई सुरुमा दृष्टिविहीन शिक्षकले छ महिनादेखि एक वर्षसम्म ब्रेललिपी पढ्न र लेख्न सिकाउँछन् । ब्रेललिपी सिकेपछि दृष्टिविहीनलाई अन्य विद्यार्थीसँगै राखेर पढ्ने व्यवस्था विद्यालयले मिलाएको छ ।

सोही अवसरमा विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार पाँच जना विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत वितरण गरिएको थियो । कार्यक्रमका अवसरमा स्थानीय कृषक आमा समूहलाई सहयोग स्वरुप एक थान स्टे«चरसमेत प्रदान गरिएको थियो ।

(गोरखापत्र दैनिकमा प्रकाशित)

प्रतिक्रिया