Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

राष्ट्रकवि घिमिरेलाई महाविद्यावारिधि प्रदान

मंगलबार, ०२ चैत्र २०७२

काठमाडौँ, २ चैत्र । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले राष्ट्रकवि माधव घिमिरे र साहित्यकार इन्द्रबहादुर राईलाई मानार्थ महाविद्यावारिधि प्रदान गरेको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीमा आयोजित विशेष दीक्षान्त समारोहमा सोमबार उक्त उपाधि प्रदान गरेका हुन् ।

त्रिवि स्थापनाको ५६ वर्षमा यसअघि ११ जना स्वदेशी तथा विदेशी विद्वानलाई मानार्थ महाविद्यावारिधि प्रदान गरेको उपकुलपति प्राध्यापक तीर्थराज खनियाले जनाए ।  यसअघि उपाधिप्राप्त गर्नेहरुमा सर्वपल्ली राधाकृष्णण, पारसमणि प्रधान, लिलि टर्नर, डा। रोबर्ट एल, धरणिधर कोइराला, अमादु माथर, दाइसाकु इकेदा, यदुनाथ खनाल, केआर नारायण, नयराज पन्त र नाफिस फदिक छन् ।

उपाधिप्राप्त राष्ट्रकवि घिमिरे १९७६ असोज ७ गते लमजुङको पुस्तुन गाउँमा जन्मिएर नेपाली साहित्यमा उच्च साधना गरेका छन् । उनको १९९४ मा पहिलो कविता कृति ‘नवमञ्जरी’ प्रकाशित भएको थियो । त्यसयता चार कवितासंग्रह, एक गीतिसंग्रह, चार बालकविता संग्रह, आठ खण्डकाव्य, सात गीति नाटक, एक कथा संग्रह, दुई निबन्ध संग्रह कृति प्रकाशित छन् ।

उनको ‘गौरी’ खण्डकाव्य, ‘मालती मंगले’ नाटकलगायत सर्वाधिक लोकप्रिक कृति हुन् । ‘पूर्ववर्ती कविहरुको कविता पढेर आफ्नै भावशैलीमा रचना गर्न सिक्दै रहें,’ उपाधि ग्रहण गर्दै राष्ट्रकवि घिमिरेले भने, ‘कविता भन्नु जगतलाई सुन्दर बनाउने रचना हो । अहिले पनि महाकाव्य रचना गर्दैछु ।

राज्यले यसरी नै लोककल्याणकारी साहित्य सिर्जन गर्ने वातावरण प्रदान गर्नेमा विश्वस्त छु ।’ नेपाली साहित्य संमृद्धि जरुरी रहेको र त्यसनिम्ति विज्ञान र प्रविधिको विकाससित जोड्न आजको चुनौत िरहेको नेपालमा रहेर विश्वभावनाबाट ओतप्रोत साहित्य सिर्जनाको खाँचो रहेको घिमिरेले उल्लेख गरे ।

त्यसैगरी १९८४ माघ १७ मा खरसाङको बालासन खोला बगरमा जन्मिएका इन्द्रबहादुर राई भारतको संविधानको नेपाली भाषालाई सूचिकृत गराउने एक अभियनता तथा चर्चित साहित्यकार हुन् । उनी नेपाली साहित्यको तेस्रो आयाम र लीलालेखनका प्रवर्तकमध्येका अगुवा हुन् । उनका ‘विपना कतिपय’ कथासंग्रह, ‘आज रमिता छ’ उपन्यास, ‘कठपुतीको मन’लगायत दर्जनभन्दा बढी सिर्जना कृति प्रकाशित छन् ।

उनले ‘नेपाली उपन्यासका आधारहरू’ कृतिमार्फत साहित्य समालोचनामा अस्तित्व कायम गराएका छन् । राईकी पत्नी मायादेवीको शारीरिक अस्वस्थताका कारण उपाधि ग्रहण गर्न उपस्थित हुन नसकेको र निकट समयमा उपाधि थमाउने उपकुलपति खनियाँले जनाएका छन् ।

उपाधि प्रदान गर्दै राष्ट्रपति भण्डारीले स्रष्टा विशेषलाई सम्मान गर्नु राष्ट्रको सम्मान भएको बताइन् । ‘स्रष्टाविशेषलाई सम्मानित गर्नु केवल व्यक्तिविशेषको सम्मान मात्र होइन, यसले एकातिर राष्ट्रलाई पनि सम्मानित गर्दछ,’ उनले भनिन्, ‘अर्कोतिर भावी पुस्तालाई पनि गहिरोउत्प्रेरणा र मार्गदर्शन प्रदान गर्दछ ।’

त्यसैगरी विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री ओलीले ढिलै भएपनि उचित र महत्वपूर्ण व्यक्तित्वलाई सम्मान गरिएको बताए । ‘राष्ट्रलाई उचित योगदान गर्ने व्यक्तिलाई विश्वविद्यालयले सम्मान दिनुपर्छ,’ सम्मान हल्का बनाउन नहुने उल्लेख गर्दै ओलीले भने, ‘सम्मान दुर्लभ र अप्राप्य पनि बनाइनु हुन्न ।

राष्ट्रकवि घिमिरे र साहित्यकार राई नेपाली वाङ्मयमा महत्वपूर्ण, उचित व्यक्ति हुनुहुन्छ ।’ विश्वविद्यालयले राष्ट्रको विकासमा ज्ञान, विज्ञान र प्रविधिको अधिकतम उपयोगबाट अघि बढनु पर्नेमा जोडदिए ।

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया