Edukhabar
बुधबार, ०९ असोज २०८१
विदेशमा शिक्षा

समिति ९ सदस्यीय, शिक्षा मन्त्रालय ताक्छ १५ जना !

सोमबार, ०१ चैत्र २०७२

काठमाडौं - विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई परामर्श दिने कन्सल्टेन्सीहरुको अनुगमन तथा नियमन गर्न शिक्षा मन्त्रालयले गठन गर्ने शैक्षिक परामर्श समन्वय समितिको आकारका बारेमा अन्यौल देखिएको छ । म्याद सकिएको ५ महिना पछि बल्ल शिक्षा मन्त्रालयले शुरु गरेको ९ सदस्यीय उक्त समिति गठन प्रकृयामा कन्सल्टेन्सी आवद्ध तीन वटै संस्थाका तर्फबाट ३ ३ जना सदस्यको नाम सिफारिस गर्न भनेपछि अन्यौल देखिएको हो । शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धि निर्देशिका २०६८ मा उक्त समिति ९ सदस्यीय हुने उल्लेख छ । तर, मन्त्रालयले गरेको यो पत्राचारका अधारमा अव १५ सदस्यीय हुने भएको छ ।

'समितिमा सदस्य थप्ने बारे यस अघि कुनै निर्णय भएको छैन, कानूनी प्रकृया समेत नपुर्याई, विद्यमान नजिरको बर्खिलाप हुने गरी शिक्षा मन्त्रालयले सदस्य थप्न पाउँदैन' उक्त समितिमा सदस्य रही सकेका ईक्यानका निवर्तमान अध्यक्ष राजेन्द्र बरालले भने, 'मन्त्रालयका सिमित ब्यक्तिको स्वार्थले गर्दा यस्तो भएको हो, यो तुरुन्त सच्याउनु पर्छ ।'

यति लामो समय सम्म समिति गठन नगर्नु आफैंमा नियोजित भएको भन्दै उनले पहिलाकै नजिरका आधारमा समिति गठन गरेर त्यो समितिको निर्णयका आधारमा बल्ल सदस्य थप गर्न सकिने बताए ।

'निर्देशिका बनाएर यो क्षेत्र ब्यवस्थित गर्नु पर्छ भनेर २०६२ साल देखि गरिएको लविङ्ले बल्ल तल्ल ०६८ सालमा निर्देशिका बनाउन सकियो' उनले भने, 'त्यो निर्देशिका पालना नगराउन समेत धेरै खाले चलखेल भए, विस्तारै ती समस्या समाधान गर्दै अघि बढेको यो क्षेत्रलाई बदनाम गराउन फेरी नीति नियम विपरित हुने गरी काम भएको महसुस भएको छ ।'

निर्देशिकामा शिक्षा मन्त्रालय शैक्षिक ब्यवस्थापन महाशाखाका प्रमुख समेत रहेका शिक्षा मन्त्रालयका सहसचिवको अध्यक्षतामा समिति गठन हुने प्रावधान छ । परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय र राष्ट्रबैंकका उप सचिव तहका प्रतिनिधि, शिक्षा मन्त्रालयको कानून शाखाका उपसचिव तथा शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाका प्रमुख सदस्य सचिव तथा कन्सल्टेन्सी आवद्ध संस्थाहरुका तर्फबाट १ महिला सहित ३ सदस्य गरी ९ जना रहने ब्यवस्था छ ।

उक्त ब्यवस्था अनुसार यस अघि गठन भएको समितिमा ईक्यानका तत्कालिन अध्यक्ष बराल, महासिचव महेशबाबु तिमिल्सिना र सह कोषाध्यक्ष यसोदा भट्टराई सहभागि थिए ।

समितिको म्याद गत असोज १६ गते सकिएको थियो । यतिका समय पछि शुरु भएको समिति गठनको प्रकृयाले कन्सल्टेन्सी आवद्ध तीन संस्था विचको विवाद झन् बढ्ने देखिन्छ ।

समितिमा रहने सदस्यहरुको नाम सिफारिस गर्न मन्त्रालयले कन्सल्टेन्सी आवद्ध तीन वटै संस्था नेपाल शैक्षिक परामर्श संघ ईक्यान, इन्टरनेशनल एजुकेशन रिप्रेजेन्टेटिभस् इनिसियटिभ अफ नेपाल– आइरिन र स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल फेकनलाई हरेक संस्थाबाट १ महिला सहित ३ सदस्यको नाम सोमबार सम्म सिफारिस गर्न भन्दै ३ दिन अघि पत्राचार गरेको थियो ।

यस अघि समितिमा आफ्नो संस्थाको मात्रै प्रतिनिधित्व रहेकोमा मन्त्रालयले यस पटक अरु दुई वटा संस्थाको समेत प्रतिनिधित्व गराउन खोजे पछि ईक्यान भित्र मन्त्रालयलाई हेर्ने दृष्टिकोणका बारेमा सोच्नु पर्ने आवाज उठेको श्रोतले जनाएको छ ।

तर, मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाका अधिकृत तारा निरौला कन्सल्टेन्सीबाट प्राप्त नामहरु मध्ये को को राख्ने भन्ने निर्णय मन्त्रालयले गर्ने बताउँछन् । 'निर्देशिकामा कन्सल्टेन्सीका तर्फबाट एक महिला सहित ३ जना सदस्य रहने उल्लेख छ त्यहि आधारमा रहन्छ' उनले भने, 'पहिला ईक्यान मात्रै थियो र उसको मात्रै प्रतिनिधित्व रह्यो अब अरु संस्थालाई पनि सहभागि गराउन पत्राचार गरिएको हो, प्राप्त नाम मध्ये को को लाई राख्ने भन्ने मन्त्रालयको 'बडी'ले फाईनल गर्छ ।'

तर, यस अघि पनि अरु संस्था रहेको तर निर्देशिका निर्माण लगायतका काममा ईक्यानको सहभागिता धेरै भएकोले समितिमा ईक्यानको मात्रै प्रतिनिधित्व हुनु पर्ने ईक्यान भित्र आवाज उठेको छ । विगतको सहभागितालाई नजिर मान्दै ईक्यानका केही सदस्यहरुले अरु संस्थाहरुको समेत सहभागिता गर्ने गरी मन्त्रालयले गरेको पत्राचारले मन्त्रालयले 'आफूहरुलाई हेपेको' रुपमा ब्याख्या गर्नु पर्ने बताएका छन् ।

'यस अघिको प्राक्टिस र सबै भन्दा धेरै सदस्य भएको संस्थाका नाताले हाम्रो सहभागिता महत्वपूर्ण हो' ईक्यानका एक जना पूर्व पदाधिकारीले भने, 'तर मन्त्रालयले २ ४ जना सदस्य भएको संस्थालाई र हामीलाई एउटै ब्यवहार गर्नुले  हामीलाई हेपेको भान भईरहेको छ ।' 

ईक्यानमा ३ सय २९ सदस्य छन् भने आईरिनमा २१ र फेकनमा ४० सदस्य छन् ।

यसैविच ईक्यानले सोमबार अध्यक्ष प्रकाश पाण्डे, महासचिव सन्तोष प्याकुरेल र कार्य समिति सदस्य कमला बस्नेतको नाम मन्त्रालयमा बुझाएको छ ।

निकै पहिला नै समिति गठन भईसक्नु पर्नेमा मन्त्रालयकै आलटालले गर्दा ढिलाई भएको अध्यक्ष पाण्डेले बताए । समितिमा हुने प्रतिनिधित्वका बारेमा ईक्यानमा कुनै विवाद नभएको उनको दावी छ । 'समिति गठनका लागि मन्त्रालयले गरेको पत्राचार अनुसार हामीले कार्य समिति बैठकबाट निर्णय गराएर नाम सिफारिस गरेका छौं' उनले भने, 'विगतको समितिमा ईक्यानको मात्रै प्रतिनिधित्व थियो, सोही आधारमा हामीले नाम सिफारिस गरेका हौं ।'

यसैविच फेकनले अध्यक्ष युवराज कटुवाल, महासचिव पितम खड्का र सदस्य गीता रिजालको नाम बुझाएको मन्त्रालयले जनाएको छ । आईरीनले भने नाम बुझाएको छैन । आफूहरु शैक्षिक मेलामा ब्यस्त भएकोले नभ्याएको र मंगलबार विहान १० बजे पछि बुझाउने गरी शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखासंग समय मागेको अध्यक्ष प्रेम पाण्डेले बताए ।

सम्बन्धित खबर पढ्नुहोस् :

कन्सल्टेन्सीको अनुगमन र नियमनको काम अलपत्र, विद्यार्थी ठगी बढ्दो

राजश्वको छापा प्रति ईक्यानको आपत्ति

प्रकाशित मिति २०७२ चैत १ गते

प्रतिक्रिया