Edukhabar
बुधबार, ०९ असोज २०८१
विचार / विमर्श

परीक्षामा हुने गल्ती : शिक्षकले पढाएकै छैनन्, विद्यार्थीले कसरी जानुन् !

सोमबार, ०१ चैत्र २०७२

- इन्द्र लाल शर्मा / शिक्षाको गुणस्तर खस्किनुमा परीक्षा प्रणाली भन्दा बढी परीक्षा दिने शैलीबारे विद्यार्थीलाई पर्याप्त रुपमा न सिकाउनु नै हो । कतिपय विद्यार्थीले परीक्षामा जानेको उत्तर पनि सही रुपमा लेख्न नसक्दा उतीर्ण हुन सकेका छैनन् । बर्षभरी पढाएको कुरा ३ घण्टाभित्र लेख्नु एउटा चुनौति त छँदैछ, अर्को चुनौति भनेको त्यसलाई सही रुपमा लेख्नु नसक्नु हो ।

कक्षा कोठामा सैद्धान्तिक या पाठ रटाएर पढाउनु मात्रै शिक्षाको गुणस्तर मानिदैंन । तर यसैलाई निरन्तरता दिइरहेका अहिलेका प्रध्यापक र शैक्षिक संस्थाले ध्यान पुर्याउनु पर्ने भए पनि गएको देखिदैंन । जसले अहिलको पुस्तालाई बेरोजगार मात्र बनाएको छैन भएको उसभित्रको क्षमता समेत गुमराहमा राखिएको छ । यसरी हेर्दा अबको केही बर्ष भित्रमा नेपालको उच्च शिक्षा आर्जन गर्ने विद्यार्थी निकै कम हुन सक्ने खतरा छ ।

परीक्षाका लागी मात्रै पढ्ने पद्धति

अहिले पनि सयमा झण्डै ९८ विद्यार्थी परीक्षाका लागी मात्र पढ्छन् । कक्षा १ देखि १० सम्म पढ्ने विषयहरुले तत्कालै काम र रोजगार नदिने भए पछि यी कक्षाहरुमा रटाउनु र परीक्षामा पास हुनु बाहेक अर्को उपलब्धी छैन । शिक्षक र विद्यार्थीले नै पढेर, बुझेर, जानेर या नजानेर अझ सकिन्छ भने चिट नै चोरेर पनि परीक्षामा पास हुनुपर्छ भन्ने गलत धारणा छ । यसैले गर्दा विद्यार्थी आफ्नो शिक्षा प्राप्ती प्रति जिम्मेवार छैनन् ।

यसका पछाडी शिक्षकहरुकै दोष छ । कारण हाम्रो दैनिकीसंग जोडेर शिक्षालाई कहिल्यै पढाइएन । पढाइए पनि निकै कम शिक्षकले यस्तो अभ्यास गरेका छन् । जसले गरेका छन् ती विद्यार्थी र उच्च शिक्षा लिएर राम्रै जनशक्तिका रुपमा स्थापित पनि छन् ।

तर हाम्रो समस्या विद्यार्थीले आफु र आफ्नो भविष्य अनि काम भन्दा अरुका लागि पढ्ने शैलीको विकास भयो । कसैले अभिभावकका लागी, कसैले परीक्षामा पास हुनका लागि । नैतिक शिक्षा र त्यस अनुसारको काम नहुँदा शिक्षा अहिले बेरोजगार युवा उत्पादन गर्ने खानीका रुपमा विकास भइरहेको छ । सीप र ज्ञानका लागि शिक्षा भईरहेको छैन ।

शिक्षा मेरो भविष्य र कामका लागि अनि त्यही कामले मेरो जीवनको आगामी कार्यदिशा निर्धारण हुन्छ भन्ने भावना कम भएकै कारण आज अधिकाँश विद्यार्थी पढाईमा दत्त चित्त भेटिदैनन् । पढ्न छाडेर विदेसिने, अरु काम गर्ने, कलेज कहिलेकाही झुल्किने जस्ता क्रियाकलाप भइरहेका छन् । यसका बारेमा अहिलेसम्म कुनै पनि निकाय दिगो सोच र चासोका साथ अगाडी बढेको छैन ।

मुख्य समस्या भनेको विद्यार्थीले बर्ष भरी पढेको कुराको मूल्याँकन ३ घण्टाको परीक्षाबाट हुनु नै हो  । हाम्रो पहिलो गल्ती भनेकै यही हो । अर्को परीक्षा त दिने तर कसरी ? परिक्षा दिनुभन्दा पहिले व्यावहारिक रुपमा हामीले कति तयारी गरेका छौँ ? भन्नेतिर न शिक्षकको ध्यान गएको छ न त विद्यार्थीको नै । खासगरी एसएलसी सकेपछि परीक्षामा पास हुनैपर्छ भन्ने धारणा नभएकाले धेरैजसो विद्यार्थी उच्च मावि तहमा दुई तीन बर्ष एउटै विषयमा अनुर्तीर्ण भइरहेको पाईन्छ । 

पढ्न पाइहालिन्छ, पास नभए पनि के भो त ? जाबो त्यही ३ घण्टा त हो नि लेख्ने किन सधै कलेज जानुपर्यो ? भन्ने जस्ता निराशाजनक र कुनै अनुगमन विनाको अहिलेको शिक्षा र लगानी मुलुकका लागी बालुवामा पानी हाले सरह भइरहको छ ।

परीक्षा त दिने तर कसरी ?

२०३३ सालदेखि २०७० सालसम्म त्रिभुवन विश्वविद्यालय र मातहतहका आंगिक क्याम्पसमा पढाएको अनुभवले म विद्यार्थीलाई परीक्षामा कसरी लेख्ने ? भन्ने नै नसिकाएको निष्कर्षमा पुगेको छु । पहिलो कुरा ४५ मिनेटको पिरियडमा पाठ मात्रै पढाइन्छ । त्यसको व्यावहारिकता, हाम्रो आवश्यकता र उपलब्धताका बारेमा कुनै विशेष बुझाई र पढाई हुदैन । दोश्रो किताबमा भएको कुरालाई मौलिक शैलीमा कसरी लेख्ने ? विद्यार्थीलाई पटक्कै ज्ञान छैन । कारण शिक्षकले पढाएकै छैनन् त विद्यार्थीले कसरी जानुन् । अर्को भनेको शिक्षकले किताबमा भएका मुख्य मुख्य बुदाँ लेखाएर या घोकाएर पढाइन्छ, लेखाइन्छ अझ भनौँ सार्न लगाइन्छ । मुख्य प्रश्न यहीं  छ ।

यसरी पढेको शिक्षाले नै नेपाली युवालाई विचैमा पढाई छाड्न बाध्य बनाएको छ । कारण उनीहरुले घोके मात्रै पढेनन् र सिकेनन् । यसले उनीहरुलाई गरिखाने शिक्षा दिएन । धेरैजसो विद्यार्थी परीक्षामा उतीर्ण नहुनुको कारण उनीहरुले पढेको कुरालाई लेख्न नजानेर हो । पढ्न त १०० देखि १५० विद्यार्थीले एउटै कक्षामा पढेका हुन्छन् । तर पास मुश्किलले १० देखि १५ जना मात्रै हुन्छन् । यो हुनु भनेको विद्यार्थीलाई घोकाइयो र पढाइयो अनि सार्न लगाइयो । आफ्नै मौलिकतामा लेख्न लगाइएको छैन । यदि आफ्नै मौलिकतामा विद्यार्थीलाई लेख्न सिकाउने हो भने कोही विद्यार्थी पनि परीक्षामा फेल हुनुपर्ने छैन ।

परीक्षामा विद्यार्थीले गर्ने मुख्य गल्तीहरु

परीक्षार्थीले परीक्षा दिन्छ । तर पास हुदैन । कोही पास हुन्छु भनेकाहरु फेल हुन्छन् कोही फेल भइन्छ भनेकाहरु पास हुन्छन् । यसो हुनुको पछाडी विद्यार्थी स्वंयम आफुले पढेको कुरामा निश्चिन्त छैन र पढेको लेख्न सक्छु भन्नेमा पनि विश्वस्त छैन । शिक्षकले कक्षाकोठामा पढाएको पाठ बेलुका घरमा गएर केही विद्यार्थीले पढे पनि त्यो आफ्नै परिवेशको बुझाई र सिकाईमा छैन । किताबमा भएको कुरा घोक्ने मात्र छ । अनि त्यही हुबहु परीक्षामा लेखियो भने पास, नभए फेल ! यो मानसिकता नै हाम्रा लागी घातक छ ।

परीक्षामा विद्यार्थीले गर्ने केही गल्तीहरु :
- परीक्षामा सोधिएको प्रश्नलाई बुझ्न नसक्नु र त्यसलाई मौलिक तरिकाले लेख्न नसक्नु ।

- परीक्षा भनेको ३ घण्टाको जेल जस्तै सोच्नु ।

- जति सकिन्छ लेख्नु । तर कसरी लेख्ने ? कति सम्म लेख्ने ? लेख्न कसरी शुरु गर्ने ? कहाँ गएर अन्त्य गर्ने ? बुझ्न सक्ने गरी कसरी लेख्ने ? लेख्ने शैलीबारे अलमल हुनु ।

- धेरैजसो विद्यार्थीले भाषा शुद्धसंग नलेख्नु । लेखिहाले पनि केरकार धेरै गर्नु । मौलिक र तथ्य भन्दा राजनीतिक भाषणजस्तो लामो पारेर लेख्नु ।

- परीक्षामा आफ्नो रोल नं., सिम्बोल नं. उत्तर लेख्ने प्रश्न नं. आदीलाई ख्याल नगर्नु ?

- एकचोटी लेखेर फेरी मेट्नु र त्यसैमा लेख्नु ।

- एउटै भाषाको प्रयोग नगरी दुई तिन ओटा भाषामा उत्तर लेख्न खोज्नु (अंकमा)

मुख्यतया विद्यार्थीले यी कुरामा ध्यान दिन नसक्दा परीक्षाको नतिजा सार्वजनिक गर्ने प्रकृयामै समस्या हुनु, नतिजा सार्वजनिक भै हाले पनि पास नहुनु जस्ता थुप्रै समस्या विद्यार्थीले भोग्नुपरेको छ । खासगरी यी सामान्य ढंगले गरेका गल्ती सच्याउन विद्यार्थीलाई बर्षौं  त लाग्छ नै यसबाट विद्यार्थीको शैक्षिक बर्षको घाटा र मानसिक तनाव पनि थपिन्छ ।

समाधान कसरी त ? 

मैले थुप्रै उत्तरप पुस्तिका जाचँ गर्दा यस्ता त्रुटिहरु भेटेको छु । खासगरी प्लस दु देखि डिग्रीसम्मका विद्यार्थीले पढ्न भन्दा पनि लेख्न नसकेकाले अनुतीर्ण हुनु परेको छ । यसका लागी दुईओटा कुरामा ध्यान दिनुपर्छ ।
पहिलो कुरा विद्यार्थीलाई लेख्न सिकाउने लेखिदिने होइन । विद्यार्थीलाई पढाइसके पछि त्यसको उत्तर कसरी लेख्ने भनेर नमुना सिकाई दिनुपर्छ । अनि त्यसका लागी दैनिक पिरियडहरुमा छलफल गराउनुपर्छ । शिक्षकले ४५ मिनेट पढाउँछ भने ५ देखि १० मिनेट लेख्न मात्र सिकाउनु पर्छ । किनकी विद्यार्थीले पढेको कुरा नलेखे सम्म पास हुदैन भन्ने पहिलो कुरा शिक्षकले नै बुझ्न जरुरी छ । यहाँ मुख्य कुरा शिक्षकले ह्वाइटबोर्डमा नोट लेखिदिने समस्या मुख्य देखिन्छ । नोट पूर्ण रुपमा बन्द गर्नुपर्छ । र विद्यार्थीलाई व्यवहारिक रुपमा पढाएर उनीहरुलाई लेख्न दिनुपर्छ । र लेखेको कुरा सच्याईदिने शिक्षकले हो ।

अर्को कुरा भनेको विद्यार्थीलाई प्राविधिक ज्ञान पटक्कै छैन । अहिले पनि स्नातक र स्नातकोत्तर पढ्ने विद्यार्थी र उसले दिने परीक्षाको उत्तरपुस्तिका हेर्न लायक छैन । सिम्बोल नं. लेख्नै जानेको छैन, उत्तर लेख्दा कसरी शुरु गर्ने, कतिसम्म लेख्ने, कुन कुरा लेख्ने भनेर पनि सिकाइएको छैन । यो शिक्षाको दुर्दशा हो । त्यसैले विद्यार्थीले पढेको कुरा र पढाइएको कुरा स्पष्टसंग लेख्ने गरी हरेक स्कुल र क्याम्पसले एउटा छुट्टै लेखन सम्बन्धिका कक्षाहरु सञ्चालन गर्न जरुरी छ ।

उत्कृष्ट लेखाईसंगै शिक्षाको गुणस्तर कसरी बढाउने ?

अहिले पनि हाम्रो शिक्षा एकादेशको कथाजस्तै छ । यो गुणस्तरीय र सीपयुक्त छदै छैन । चासो पनि कसैले दिएको छैन । मुख्यतः विद्यार्थीको लेखन शैली र त्यसको व्यवहारिक प्रयोग गरेमा शिक्षामा हामी धेरै फड्को मार्न सक्छौँ । पहिलो कुरा विद्यार्थीलाई पढ्न र पढाउन बोझ नभई खेल खेलेजस्तो गर्नुपर्छ । उनीहरुका धेरै प्रश्नका उत्तरहरु कपषा कोठामा दिएपछि उनीहरु खेल खेले जसरी पढ्छन् र पास पनि हुन्छन् । त्यसैले पहिलो कुरा शिक्षकलाई रचनात्मक ढंगले पढाउन लगाउनुपर्छ । यसका लागी उनीहरुलाई विभिन्न, छलफल, तालिम र गोष्ठीमा सहभागी गराउनुपर्छ ।

दोश्रो कुरा विद्यार्थी अनि शिक्षकको काम लेख्ने र पढ्ने मात्र होइन । समसामयिक विषय र समस्याको समाधानका बारेमा पनि कक्षाकोठामा छलफल हुन जरुरी  छ । यसले रचनात्मक विकासमा सघाउ पुर्याउँछ । यसबाट विद्यार्थी र शिक्षकले कुनै समस्याको समाधान कसरी गर्ने बारेमा आफैँबाट समाधान निकाल्न सक्छन् । यसका लागी हाम्रो कपषा कोठाहरुमा प्राविधिक र व्यावहारिक ज्ञान दिन जरुरी  छ । त्यो लेख्न र कसरी पढ्ने भन्नेबारेमा ।

शिक्षा राजनीति कम र सामाजिक तथा आर्थिक मुद्धा ज्यादा हो । शिक्षालाई राजनीतिक रुपमा नजोडौँ । शिक्षालाई विशुद्ध एउटा दक्ष जनशक्ति उत्पादन गर्ने मेशिनका रुपमा लिन सिकौँ । मेशिनको एउटा सानो किला उक्यो भने पनि चल्दैन । त्यसैले शिक्षालाई सबैले पुरा गरौँ । भाग बण्डाको राजनीतिक थलोका रुपमा नलिऔँ । यति गरेपछि हाम्रो शिक्षालाई व्यवहारिक, वास्तविक र दैनिकीसंग जोड्न मिल्नेगरी बनाउन सक्छौँ ।

(शर्मा त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकायका पूर्व सह प्राध्यापक हुन् । २ बर्ष अघि सेवानिवृत्त भएपनि उनले विद्यार्थीको सिकाइ र शिक्षकले गर्नु पर्ने सुधारबारे ब्यक्तिगत रुपमा विभिन्न कलेजहरुमै पुगेर प्रशिक्षण दिदैं आएका छन् । अहिले सम्म १५ जिल्लाका ४२ क्याम्पसमा प्रशिक्षण दिएका शर्मासँग गरिएको कुराकानीमा आधारित ।)

प्रकाशित मिति २०७२ चैत १ गते

प्रतिक्रिया