Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

पाठ्यपुस्तक बिना नै परीक्षा दिदैँ विद्यार्थी

सोमबार, ०१ चैत्र २०७२

काठमाडौँ, १ चैत्र । बाजुराका विद्यार्थीले पुस्तक नपाएरै परीक्षा दिनुपर्ने भएको छ । यस वर्ष जनक शिक्षा सामग्री केन्द्रले बाजुराको सदरमुकामबाट ढुवानीका लागि रकम नदिँदा दुर्गमका विद्यार्र्थीले वार्षिक परीक्षा दिने समयसम्म पाठ्यपुस्तक नपाएका हुन् । 

नयाँ मूल्याङ्कन प्रणालीअनुसार अनुत्तीर्ण नलेखिने बुझाइका कारण जिल्लाका परीक्षार्थीमा पहिलेजस्तो खटन–पठन देखिँदैनन् । यस वर्षको एसएलसी परीक्षादेखि उत्तीर्ण या अनुत्तीर्ण उल्लेख नहुने भएपछि यहाँका विद्यार्र्थी नलेखेरै परीक्षार्थीमा उत्तीर्ण हुने भइयो भन्ने भ्रम सिर्जना भएको छ । यस आर्थिक वर्षमा कक्षा ८ को पाठ्यपुस्तक परिवर्तन भएका कारणसमेत जिल्लामा पाठ्यपुस्तक नपाएरै परीक्षामा विद्यार्र्थी सहभागी हुनुपरेको हो । 

जिल्ला शिक्षा कार्यालयबाट रकम निकासा भएर विद्यालयले समेत ढुवानीकर्तालाई रकम बुझाएको भएपनि कक्षा ६ को एक सेट पनि किताब उपलब्ध हुनसकेन । अर्को वर्षका लागि अहिलेदेखि नै तात्नुपर्ने भएको कुरा खोलिकोेट निमाविका प्रधानाध्यापक मनबहादुर रोकायाले बताए । 

यस वर्षदेखि एसएलसी नतिजा अक्षराङ्कनका आधारमा हुने भएकाले उत्तीर्ण वा अनुत्तीर्ण उल्लेख नहुने भएको छ । त्यसलाई विद्यार्थीले अनुत्तीर्ण नहुने भन्ने ढङ्गले बुझेका छन् ।  प्रस्ट बुझाइ र महत्व थाहा नभएर अधिकांश विद्यार्थी र अभिभावकमा परीक्षाप्रति लापर्वाही देखिएको शिक्षक महासङ्घका अध्यक्ष जनकबहादुर शाहीले बताए । “मेरै विद्यालयका परीक्षार्थीमा पनि यो समस्या देखिएको छ,” उनले भने । नतिजाका बारेमा विद्यार्थी र अभिभावक प्रस्ट नभएका कारण पहिलो वर्ष यस्तो बुझाइ भएको तर गएका वर्षमा भन्दा यस वर्षको परीक्षाको नतिजा झन् कडा हुने शम्भु सुनन्दा उमाविका प्राचार्य गोविन्दबहादुर शाहले बताएका छन् । “हामीले विद्यार्र्थीलाई समेत यही भनेका छौँ,” – उनले भने । 

परीक्षामा सहभागी कसैलाई पनि अनुत्तीर्ण नभन्ने प्रणालीले दुर्गमका परीक्षार्थीमा तयारी नगरे पनि हुने मनोविज्ञान विकास भएको भवानी माविका शिक्षक पदम रावतले बताए । नयाँ प्रणाली लागू हुने भएपछि यसअघि नतिजा शून्य भएर हेपाइमा परेका विद्यालय भने खुसी देखिएका छन् ।
नब्बे प्रतिशतभन्दा माथि अङ्क ल्याउनेलाई सर्वोत्कृष्ट (ए प्लस), ८०–८९ लाई उत्कृष्ट (ए), ६०–७९ लाई धेरै राम्रो (बी), ४५–५९ लाई राम्रो (सी), २५–३९ लाई कमजोर (डी) र २४ प्रतिशतभन्दा कम ल्याउनेलाई धेरै कमजोर (ई) ग्रेड दिइने व्यवस्था रहेको जिल्ला शिक्षा अधिकारी नागेन्द्रप्रसाद रेग्मीले बताए । 

“विगत जस्तो अनुत्तीर्ण भनेर उल्लेख नहुने भए पनि हेलचेत्रक्र्याइँ गर्नु परीक्षार्थीका लागि दुर्भाग्य हुनेछ,” जिशिअ रेग्मीले भने – “सी भन्दा न्यून ल्याउने अनुत्तीर्णजस्तै हो । यसपटकको लब्धाङ्कपत्रको पछाडि ल्याएको ग्रेडको निर्देशिकासमेत हुनेछ ।” लागू भएको मूल्याङ्कन प्रणालीले चिट चोराउने प्रवृत्तिमा समेत कमी आउने शिक्षकहरू बताउँछन् । 

विगतमा कतिपय विद्यालयका विषय शिक्षक अधिकतम परीक्षार्थीलाई उत्तीर्ण गराउने ध्येयले स्वयम् चिट चोराउन परीक्षा केन्द्रमा खटिने गर्थे । प्रधानाध्यापक र अभिभावकले समेत उनीहरूलाई चिट चोराउन प्रोत्साहन गर्ने प्रवृत्ति थियो । “यसपालि त्यस्तो प्रवृत्तिमा कमी आउन सक्छ”, राघुमाता मावि साप्पाटाका शिक्षक प्रकाश बमले भने ।  

करिब एक सातापछि सुरु हुने एसएलसीको तयारी अन्तिम चरणमा पुगेको जिशिअ रेग्मीले बताए । बाजुराबाट ६२ विद्यालयका नियमित र आंशिक गरी चार हजार ८५० परीक्षार्थी सहभागी हुँदैछन् । परीक्षा सञ्चालनका लागि १४ केन्द्र स्थापना गरिएको छ । आउँदो वर्षका लागि छिट्टै नै पाठ्यपुस्तकको तयारी गरिदिन र ढुवानीका लागि समेत व्यवस्था गरिदिन प्रधानाध्यापक रोकाले जनक शिक्षा सामग्री केन्द्रसँग आग्रह गरेका छन् । 

रासस 

प्रतिक्रिया